मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

भ्रमण वर्षमा पनि सौराहाका होटल सुनसान, व्यवसायी पलायन हुने अवस्थामा

भ्रमण वर्षमा पनि सौराहाका होटल सुनसान, व्यवसायी पलायन हुने अवस्थामा


चितवन । पर्यटकीय नगरी सौराहामा पछिल्लो समय पर्यटकको संख्या घट्दै गएपछि व्यवसायीहरु चिन्तित बन्न थालेका छन् ।

सौराहाले नयाँ कार्यक्रम दिन नसक्दा आन्तरिक तथा बाह्य पर्यटक घट्न थालेको उद्यमीले जनाएका छन् । जङ्गल सफारीका लागि यहाँ आउने पर्यटकले सधैँ एउटै पन पाउने हुँदा दोहोर्‍याएर आउन छाडेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज र स्थानीय सामुदायिक वनमा हुने एउटै गतिविधिमात्र हुने भएपछि यहाँ आउने पर्यटकको संख्या विगतका वर्षको संख्यामा हुन नसकेको बताइएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा बजारिकरण र प्रचारप्रसार हुन नसक्दा नयाँ पर्यटक थपिने क्रम पनि घटेको छ ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले नयाँ कार्यक्रम दिन नसक्दा पर्यटक घट्दै गएको जानकारी दिए । उनले भो, “वर्षौंदेखि एउटै गतिविधिमात्र भएकाले पर्यटकको संख्या बढ्न सकेन ।”

निकुञ्जभित्र हरेक दिन प्रवेश शुल्क लाग्ने, हात्ती प्रवेश गराउन नपाइने, नयाँ गतिविधि गर्न नसकिने हुँदा समस्या उत्पन्न भएको उनले गुनासो गरे ।

निकुञ्जलाई पर्यटकले शुल्क बुझाएर पनि हात्ती चढेर सामुदायिक वनमात्र घुम्नुपर्ने बाध्यता छ । जीप सफारी, जङ्गलमा पैदलयात्रा, डुङ्गा सयर,

हात्ती र गोही प्रजनन केन्द्रको अवलोकन, थारु सङ्ग्रहालय, थारु संस्कृति अवलोकनमा यहाँका पर्यटक आकर्षण गर्ने क्षेत्र हुन् ।
पहिलोपटक आउने पर्यटकलाई यी गतिविधि आफैँमा रमाइलो हुने भए पनि पुनः आउँदा नयाँ कार्यक्रम दिन नसकिएको निरीहता व्यवसायीले पोख्दै आएका छन् ।

बर्सेनि निकुञ्ज प्रवेशको राजश्व बढ्दै जाँदा पर्यटकको खर्च पनि बढ्दै जाने गरेको छ । खर्च धेरै हुने र नयाँ पन पाउन नसक्ने भए पछि दोहो¥याएर पर्यटक आउने क्रम घटेको छ ।

अध्यक्ष भट्टराईले निकुञ्ज बाहिर रात्रिकालीन जीप सफारी, धार्मिक पर्यटकीयस्थलको भ्रमण गराउनेजस्ता नयाँ कार्यक्रम गर्न लागेको बताउँछन् । क्षेत्रीय होटल संघका वरिष्ठ उपाध्यक्ष राममणि खनाल होटलको संख्या बढ्दै जाने तर पर्यटकको संख्या बढ्न नसकेपछि व्यवसायी धराशायी बन्दै गएको गुनासो गर्छन् ।

व्यापार नभएपछि बैंकको ब्याज र किस्ता तिर्न नसक्दा कतिपय व्यवसायी पलायन हुने अवस्थामा पुगेको उनले गुनसो छ ।

नयाँ कार्यक्रम दिएर प्रचारप्रसार गर्न नसकिए यहाँको पर्यटन व्यवसाय टिक्न नसक्ने खनाल बताउँछन् । सौराहा क्षेत्रबाहेक अन्यत्र जहाँतहीँ सामुदायिक वनमा पर्यटक छिर्दा निकुञ्ज प्रवेश शुल्क नलाग्ने भए पनि यहाँ सामुदायिक वनमा हात्ती चढ्ने पर्यटकले निकुञ्जलाई राजश्व बुझाउनुपर्ने बाध्यताले खर्चिलो बनेको छ ।

सौराहा क्षेत्रमा ११५ होटल रहेका छन् । जसमा रु १० अर्बभन्दा बढी लगानी भएको अनुमान छ । यसमध्ये ६० प्रतिशतभन्दा बढी बैंकको लगानी रहेको छ ।

क्षेत्रीय होटल संघ सौराहाका निर्वतमान अध्यक्ष सुमन घिमिरे पर्यटक आइदिए हुन्थ्यो भन्नेमात्र चाहना व्यवसायीमा हुँदा संख्या बढ्न नसकेको बताउँछन् ।

नयाँ कार्यक्रम दिएर राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा बजारीकरण एवं प्रचारप्रसार हुन नसकेमा यस क्षेत्रको पर्यटन व्यवसाय धराशायी हुने उनको चिन्ता छ । उनी भन्छन्, “यही हिसाबले अघि बढ्यो भने यहाँको पर्यटन व्यवसाय विस्थापित हुन सक्छ ।”

पर्यटकीय क्षेत्रका सडक, विद्युत्जस्ता पूर्वाधारमा सरकारको मुख ताके पनि अन्य गतिविधिमा व्यवसायी आफैँ अघि बढ्नुपर्ने र नयाँ प्याकेज उत्पादन गरी बजारीकरण अहिलेको अपरिहार्यता रहेको निवर्तमान अध्यक्ष घिमिरेले जनाए ।

पहिले पहिले वर्षातको समयमा होटलका कर्मचारीलाई व्यापार नभएपछि बिदा दिने गरिन्थ्यो । झण्डै १० वर्षयता वर्षातमा समेत पर्यटक आउन थालेपछि बिदा दिन रोकिएकोमा पछिल्ला वर्षमा वर्षातको समयमा पर्यटक निकै कममात्र आउन थालेको व्यवसायी बताउँछन् ।

क्रिसमस र नयाँ वर्षपछि यतिबेला गत वर्षहरुमा पर्यटकको आगमन बढ्न सुरु हुन्थ्यो । क्षेत्रीय होटल संघका अध्यक्ष भट्टराई यस वर्ष भ्रमण वर्षका अवसरमा छूटका प्याकेज दिइए भए पनि पर्यटक आगमनमा निकै कमी रहेको बताए । अहिले दैनिक २५० हाराहारी पर्यटक सौराहा आउने गरेको उनले बताए ।

विगतका वर्षहरुमा यतिबेला दैनिक एक हजार हाराहारी पर्यटक आउने गर्दथे । अहिले आएका चिनियाँ पर्यटक केही सीमित होटलमा आउने भएकाले अन्य होटल सुनसान रहेका छन् । यहाँबाट दैनिक आठ वटा बस काठमाडौँ र चार वटा बस पोखरा चल्ने गर्दछन् । ती बसमा न्यून पर्यटकमात्र हुने गरेका छन् ।