जनस्तरमा रहेको सम्बन्ध, लगानी तथा व्यापार, आपसी सहयोगलगायतका पक्षहरुबाट दुई देशबीचको कूटनीतिक सम्बन्धका आधार तयार गरिन्छ । यस आधारमा हेर्दा नेपालले अमेरिकासँग अति राम्रो कूटनीतिक सम्बन्ध बनाइराख्न प्राथमिकता दिनुपर्ने हो । यसमा केही तथ्यहरु मनन गरी अमेरिका भारतबाहेक सबैभन्दा बढी नेपाली समुदाय स्थायी रुपमा बसोवास गरेको देश हो । अमेरिकाबाट नेपालले सवैभन्दा धेरै रेमिट्यान्स प्राप्त गर्छ । राष्ट्र बैंकका अनुसार अमेरिकाबाट वार्षिक १७० अर्ब रुपैयाँभन्दा बढी नेपालले रेमिट्यान्स भित्राएको छ । व्यापार, पर्यटक आगमन, आर्थिक सहयोग दृष्टिले पनि अमेरिका नेपालका लागि महत्वपूर्ण छ । नेपाली विद्यार्थीले आफ्नो कलेजलाई निरन्तरता दिन सबैभन्दा रुचाइएको देश पनि अमेरिका हो । नेपाली समुदायले अमेरिकामा झण्डै २०० अर्ब रुपैयाँ लगानी गरेका छन् । यो नेपालबाट ल्याएर होइन यही आर्जन गरेर धनी भएका हुन् ।
यो यथार्थलाई जिम्मेवार राजनीतिक नेतृत्वले पनि राम्रोसँग बुझ्नुपर्ने थियो । तर, यसलाई भुलेर अमेरिकासँग व्यवहार गर्दा नेपालका कतिपय जिम्मेवार व्यक्तिहरुले सस्तो लोकप्रियताका आधारमा धारणा बनाउने र सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् । अमेरिका समाज्यवादी देश हो, विश्वभर यसको दादागिरी छ, भन्ने गलत मानसिकताले नेपालका कतिपय व्यक्तिहरु ग्रसित छन् । अमेरिका विश्वकै शक्तिशाली देश हो, विश्वका प्रत्येक मुद्दामा अमेरिका संलग्न हुन्छ । यसले नेपाललाई के फरक पारेको छ र ? अमेरिकाले नेपालको सिमाना मिचेको छैन । नेपालीलाई दुःख दिएको छैन । बरु समस्या परेका नेपाललाई चाहिएको सहयोग गरेकै छ । अमेरिका आउने नेपालीले आफ्नो योग्यताअनुसार काम गरेर बसेका छन् । कैयौंले लगानी गरेर कमाएका छन् ।
अमेरिकासँग सम्बन्ध राख्दा चीन रिसाउँछ, वा भारतले आपत्ति जनाउँछ भन्ने आधारमा हेरिनु हुन्न । छिमेकी देश चीन र भारत नेपालका लागि जति महत्वपूर्ण छन्, अमेरिका पनि नेपालका लागि त्योभन्दा कम महत्वपूर्ण छैन । बरु चीन र भारतले आफना स्वार्थका आधारमा नेपालसँग सम्बन्ध राखेका छन् । कालापानीमा भारतीय सैनिकले राज गरेका छन् । चीनले दलाई लामालाई समेत नेपाल आउन दिइरहेको छैन । दुवैको नेपालसँग सुरक्षा चासो छ । यो स्वतन्त्र राष्ट्रमाथि हस्तक्षेप होइन, बरु चीन र भारतले हामीलाई दुःख दिँदा अमेरिका सहयोगी बन्न सक्छ ।
के नेपाल अमेरिकाबीचको सम्बन्ध यसअनुसार छ त ? कूटनीतिक भाषामा नेपाल अमेरिका राम्रो सम्बन्ध छ भनिए पनि यर्थाथ यस्तो छैन । जनस्तरमा र सेनाबीच दुई देशको सम्बन्धमा कुनै समस्या छैन । तर, सरकारले यसअनुसार अमेरिकासँग सम्बन्ध राख्न सकेको छैन । नेपालका केही राजनीतिक नेताहरुले त सस्तो लोकप्रियता र चीन र भारतको प्रभावमा परेर अमेरिकाको विरोध गरेका छन् । नेपालको स्वतन्त्र अस्तित्व र राष्ट्रियताको हुर्मत लिएका छन् । हाल सरकारी तहमा दुई देशबीचको सम्बन्ध चिसो छ । पछिल्लोपटक मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मार्फत् नेपाललाई प्राप्त भएको करिब ५५ अर्ब रुपैयाँ बराबरको अनुदान सहयोगमा लफडा गरिएको छ । एमसीसीमा लफडा गर्नेहरु नेपालीलाई सधैँ गरिब बनाउने मानसिकताबाट प्रभावित भएका हुन् । विकासविरोधी हुन् । एमसीसीमा लफडा भइरहँदा अमेरिकाबाट सहयोगस्वरुप नेपाली सेनाले दुई स्काई ट्रक जहाज प्राप्त गर्यो । अमेरिका र नेपाली राजदूत र सैनिक अधिकारीले उक्त जहाजमा बसेर फोटो खिचे । सेना स्तरमा नेपाल र अमेरिकाबीच राम्रो सम्बन्ध छ । दुई देशका बीचका सेनाको जावतजावत बाक्लो छ । यहाँ कुनै विरोध छैन । तर, विकासका लागि आएको सहयोगमा किन विरोध ? अहिले विकास कार्यका लागि आएको सहयोगमा अनावश्यक कुतर्क गरिएको छ ।
विसं २००७ सालदेखि नै अमेरिकाले नेपाललाई सहयोग गर्न थालेको हो । तराईमा मलेरिया नियन्त्रण अमेरिकी सहयोगकै देन हो । नेपालको कृषि आधुनिकीकरणमा अमेरिकी सहयोगको देन छ । शिक्षा, पूर्वाधार निर्माणदेखि स्वास्थ्य क्षेत्रमा अमेरिकाले निरन्तर सहयोग गर्दै आएको छ । यो यथार्थ हुँदाहुँदै एमसीसीमा के को कोलोहालो ? एमसीसीमा यस्ता शर्त छन्, जसले गर्दा यो पैसामा अनियमितता गर्ने ठाउँहरु निकै कम छन् । यो सहयोगबाट निजी फाइदा लिन सकिँदैन । तर, देशमा राम्रो पूर्वाधार बन्छ । यसले गर्दा पनि कतिपयले यो सहयोगको विरोध गरेको हुनसक्छ । एमसीसीलाई कतिपयले इन्डो प्यासेफिक रणनीतिकअन्तर्गत आएको सहयोग हो भन्दै विरोध गरेका छन् । अमेरिका अधिकारीका अनुसार यो सहयोग इन्डो प्यासेफिक रणनीतिकअन्तर्गत नै हो । यसमा नेपाललाई के समस्यो भयो त ? नेपाल चीनको बीआरआईमा जान हुने, काम न काजको सार्क, बिमिस्टेकमा बस्न हुने, अमेरिकाको इन्डो प्यासेफिक रणनीतिक स्वीकार्न किन नहुने ? यसले नेपालको राष्ट्रियता कहाँ संकटमा पर्छ ? चीनले सगरमाथा हाम्रो होभन्दा राष्ट्रियता संकटमा परेन, भारतले नेपाली भूमिमा सेनाको व्यारेक राख्दा राष्ट्रियता संकटमा परेन । तर, इन्डो–प्यासेफिक रणनीति स्वीकार्दा राष्ट्रियता संकटमा पर्छ भन्नु आफैँमा हाँस्यास्पद कुरा हो ।
कुतर्क गरेर आमनेपालीलाई चीन र भारतको स्वार्थमा प्रयोग गर्न खोजिएकोमात्र हो । चीन र भारतवाट निजी स्वार्थ पाइरहेकाले यस्ता तर्क गरेका हुन् । हुन त बेला बेलामा चीन र भारतको सित्तैमा भ्रमण, आफ्ना छोराछोरी, नातेदार र आसेपासेलाई निःशुल्क छात्रवृत्ति पाउनेलगायत निजी फाइदा लिएकाले विरोध गर्नु स्वाभाविक हो । अमेरिकाको विरोध गर्दा खाएको नुनको सोझो होला । चीन र भारतबाट कुन नेताले कसरी निजी फाइदा लिए, लिएका छन् । राष्ट्रपतिदेखि तलसम्म अध्ययन गरौँ, जनतासमक्ष सार्वजनिक गरौँ अनि खुलस्त हुन्छ । अहिले एमसीसी विरोध गर्नेबाट सचेत हुनैपर्छ । उनीहरु राष्ट्रघाती हुन् । तस्बिर : सामाजिक सञ्जाल
प्रतिक्रिया