मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

मलाई अमेरिकामा सबैभन्दा दुख अंग्रेजीकै छ

मलाई अमेरिकामा सबैभन्दा दुख अंग्रेजीकै छ


अम्रिकामा सबैभन्दा दुख मलाई अंग्रेजीको छ । छन त यो दुख मातृका यादबहरुलाई पनि छ । तर मेरो दुख बढी दुःखद् छ । मातृका यादबले त चाहेका भए दोभाषे पाउँथे । तर म माथि त अंग्रेजी घ्याप्पसंग घोडा चडी नै सकेको छ र मलाई दोभासेको बिकल्प पनि उपलब्ध छैन । मेरो लगाम अंग्रेजीको हातमा छ , उसको चाक मेरो पिठ्युँमा छ । उ हट् घोडा हट् गर्छ, चाबुक लगाउॅछ, दौडाउन खोज्छ तर मेरो खुट्टो राम्रोसँग उचालिन मान्दैन । म कनिकुथी सरकारी स्कूलमा गोबिन्द सरले सिकाएको अंग्रेजी सकेसम्म पर पुगोस् भनेर कनेर प्रक्षेपण गर्ने कोसिस गर्छु । तर प्रत्येक पल्ट मेरो प्रक्षेपणको प्रयास असफल हुन्छ र मेरो निष्प्राण अंग्रेजी फ्यात्त भुँईमा झर्छ । म हैरान हुन्छु । म भन्दा बढी हैरान अगाडिको श्रोता हुन्छ । यो दोहोरो हैरानीले म भित्र अथाह दुखको सागर निर्माण भएको छ ।
 
अब तपाईंलाई सन्तेलाई त अंग्रेजी आउदै आउँदो रहेनछ भन्ने लाग्न सक्छ । तर कुरो त्यसो होईन । मलाई अंग्रेजी आउँछ । अंग्रेजी कम टु मी । खाडीमा बस्दा मैले मिश्र देशका मिश्री भनिने नागरिकलाई कयौंपटक अंग्रेजी सिकाएको छु । जस्तो सुकुल फिलेल भनेको नाईट ड्युटी , सुभा भनेको मर्निङ, मासलामा भनेको बाईबाई , फुलुस भनेको मनि, मिया भनेको हन्ड्रेड आदि / इत्यादी । तर अरबमा जति ज्ञान बाँडे पनि अरबको अंग्रेजीले अम्रिकामा खुट्टो उचाल्न सकेको छैन भन्न मात्रै खोजेको हो । दुखको कारण यही हो । अग्रेजी नै आउदै नआउने भन्ने चाहिँ होइन । उहीँ बाहिर उभिरहने खालको अंग्रेजी चाहिँ आउदैन । आईमिन आउटस्ट्यान्डिङ इङ्लिस नट कमिङ ।
 
भगवान गौतम बुद्धले संसार दुख हो भन्नु भएको छ र दुखको कारण छ भन्नु भएको छ । अब अग्रेजी आइ आइ पनि यो अवस्था आइ पर्नु भनेको दुख हो । र म, मेरा दुखको कारणबारे यहाँ चर्चा गर्न चहान्छु । म थोरै अंग्रेजी र मेरो सम्बन्धको पृष्ठभूमिमा प्रवेश गरेर तपाईंलाई मेरा दुखको कारण बताउन चहान्छु । थोरै हाम्रो सम्बन्धको बारेमा प्रकाश पार्न चाहान्छु। ताकी तपाईंलाई पनि मैले प्रक्षेपण गरेको अग्रेजी किन सफल हुँदैन भनेर जानकारी होस्।
 
हेर्नुस ! तिनताका म शिशु कक्षामा पढ्थे र पढ्थे सरकारी स्कुलमै । यता हाम्रा गोठमा गतिला गतिला गुजराती भैंसीहरु पालिएका थिए । अनि हाम्रोबाट दूध ठेक्कामा लैजाने मध्ये एकजना बोर्डिङ स्कुलका प्रिन्सिपल थिए । पिन्सिपल दुध लान्थे । मिस र हाम्रो एउटा भैंसी संजोगले संगै सुत्केरी भएका थिए ।
 
त्यसैले पिन्सिपल सर हाम्रो सुत्केरीको घ्यु, उनकी सुत्केरीलाई ख्वाउन लिएर जान्थे । कहिलेकाहीं उखर्माउलो गर्मी हुँदा दहि पनि लान्थे । मोहि हाम्रा बाले अरुलाई जस्तै प्रिन्सिपल सरलाई पनि सित्तैमा दिन्थे । दुध, दहि, घ्यु बेच्नु , महि सित्तैमा दिनु र यसो मानमनितो राखेर भेट्दा नमस्कार बजाउनु आफ्नो ठाँउमा भएपनि हाम्रा बा, अंग्रेजी पढेको मान्छे काम लाग्दैन भन्ने मान्यतामा दृड हुनुहुन्थ्यो । त्यसैले म घर नजिकैको सरकारी स्कूलमा पढ्थें । टिपिनमा भागेर घर आउथे । भैंसी चराउँथे । चराउँदै चराउँदै भैंसीलाई लिएर आहालमा जान्थें। भैंसी आहल बस्थ्यो । म पौडी खेल्थें । अनि चिसो भैंसीको डडाल्नोमा बसेर पूनः भैंसी चराउँदै चराउँदै घर फर्किन्थें। बेलुका भूँडी चर्किने गरि त्यही भैंसीको दूध हालेर भात खान्थे । बिहान त्यही भैंसीको दूध हालेर बासी भात खान्थें र कट्टु तान्दै टिपिनसम्मलाई स्कूल कुद्थें ।
 
कथा यहाँसम्म पुग्दा मेरो जिन्दगीमा अंग्रेजी प्रवेश भएको थिएन । त्यसो भए कहिले भयो त मेरो जिन्दगीमा अंग्रेजीको प्रवेश ? भयो कहिले त भन्दा प्रिन्सिपल सरले हाम्रा बालाई तिर्नुपर्ने दुध, दहि र घ्युको रकम नतिरेपछि कथाले अर्कै मोड लिन जादा अंग्रेजीले मेरो जिन्दगीमा प्रवेश पायो । महिना बित्यो । ६ महिना बित्यो । हेर्दाहेर्दै बर्ष नै बितेर गयो तर प्रिन्सिपल सरले तिर्नुपर्ने रकम तिरेनन् । बाको उठ्ती रकम उठेन । बाले सक्दो प्रयास गरे । आमाले सम्झाईन् । तर कसैगरी प्रिन्सिपल सरले पोइसो तिरेनन्। अब नभएर तिरेनन् कि, दिन मन नलागेर तिरेनन् कि अथवा मलाई बोर्डिङ स्कुल जान लेखेको रहेछ र तिरेनन् त्यो दैब जान्दछन्। म जान्दिन ।
 
म के मात्रै जान्दछु भने, हाम्रा बाको एउटा गर्बिलो इतिहास थियो र अझैसम्म पनि छँदैछ । कीर्तिमानी ऎतिहाँसिक दस्तावेजमा स्वर्ण अक्षरले के लेखिएको छ भने- हाम्रा बाको चाराना दाम आजसम्म कसैले हजम गर्न सकेको छैन र कसैले हजम गरुंला भनेर नचिताए पनि हुन्छ । बाको अटल मान्यता के छ भने, चाराना पैसो कसैको खान पनि हुँदैन र चाराना पोइसो कसैलाई छोड्न पनि हुँदैन । यो बाको अटल मान्यता हो । अब दार्जिलिङ तिरबाट आएर बोर्डिङ स्कूल खोलेका नयाँ माड्सापलाई बाको इतिहास थाहा भएन कि कुन्नी ! उनले बाको पोइसो तिरेनन्। बाको पोइसो उठने छाँट नदेखेपछि कथा अचानक रड्किएर अंग्रेजी मेरो जिबनमा प्रवेश गर्यो । अर्थात , बाको गर्बिलो इतिहास अक्षुण राख्न र ठेक्का लगाएको दुधको बक्यौता रकम असुल गर्न/ गराउन भनी म लिटिल एन्जल्स इङलिस मिडियम बोर्डिङ स्कूल भर्ना भए ।
 
जिन्दगीमा पहिलोपटक त्यहीँ मेरो अंग्रेजी भाषासंग साक्षत्कार भएको थियो । त्यहीं मैले जीबनमा दोस्रो भाषा पहिलोपटक सिकेको थिएँ । सिकेको नि के भन्नू ,सुँगाले गोपिकृष्ण रटेजस्तो रटेको थिएँ र ति गोपिकृष्ण यस प्रकारका थिए जसको साहराले म अरबमा अग्रेजी ज्ञान बाड्ने गर्थे ।
 
गुड मर्लिङ सर।
 
गुड आफ्टर्नुन् सर ।
 
माई नेम इज सन्तोष चिमरिया ।
 
आई रिड इन किलास वान ।
 
अनि लास्टको गोपीकृष्ण चाहिँ ,आएम फाइन थ्याक्यु सर थियो ।
 
हेर्नुस ! म घाँटीमा दाम्लो नबाँधी, खाँदै ,खेल्दै र थोरै पढ्दै स्वन्छ्न्दतापूर्बक हुर्किरहेको बालक थिएँ। मन लागे स्कूल जान्थे मन नलागे भुँडी दुखेको छ भनेर भन्दिन्थें । कक्षामा बस्न मन लागे बस्दिन्थें, मन नलागे रुख चडेर कलिला अम्बक सक्दिन्थे । टिफिनमा भागेर साथीसंगीसंग पौडी खेल्न जान्थें। माछा मार्थे । बगरका ढुंगा बटुलेर गट्टी खेल्थें । घर फर्केर भैंसी चराउँथें । बाख्रा चराउथे । दिनभरी खाली हिडेका फोहोरी खुट्टा लिएर खुत्रुक्क सुत्थे, निदाउँथें । भोलिपल्ट ब्युझिँदा उज्यालो भैहाल्थ्यो । अर्थात , जीवन र प्रकृतिसंग नजिक रहेर बालापनको जुन नैसर्गिक आनन्द हुन्थ्यो , त्यो म मजाले लिईरहेको थिएँ। तर मेरो नैसर्गिक आनन्द र स्वछ्न्दतालाई अपहरण गर्दै मेरो जीबनमा अग्रेजी एकाएक भिलेन बनेर हठात प्रबेश गर्यो । अर्थात – म दाम्लोमा बाँधिएर बोर्डिङ भन्ने स्कुल जानू पर्ने भयो । परिणामस्वरूप, म आफ्नै भाषामा कोइली जस्तो गाइरहेको र मजुर जस्तो नाँचीरहेको बालक एकाएक सुगा जस्तो रट्न र गोपीकृष्ण भन्न बाध्य बनाईए ।
 
 
Johny, Johny,
 
Yes papa?
 
Eating sugar?
 
No papa.
 
Telling lies?
 
No papa.
 
Open your mouth
 
Ha ha ha!
 
अब यो रटाईमा मैले जम्माजम्मी बुझ्ने भनेको हाहाहाहा मात्रै हुन्थ्यो । बाँकी सबै गोपीकृष्ण ! जसरी सुगालाई गोपीकृष्णको अर्थ थाहा हुँदैन तर गोपीकृष्ण कन्ठस्थ हुन्छ , त्यसरी नै मलाई पनि यो इटिङ फिटिङ थाहा हुदैन्थ्यो ।
 
मायाको पाठोको नाम चुलबुले थियो । उ सारै चकचके थियो, भनेको म सबै बुझ्थे । माया भनेको, पाठो भनेको, चुलबुले भनेको, चकचके भनेको सबै बुझ्थे । तर जोनी जोनी बुझ्दिन थिए । तर गोपीकृष्ण पार्थे । नपार्नुको विकल्प पनि थिएन । किनकि बोर्डिङ भन्ने तानाशाही साम्राज्य जुन छ, त्यो तिनवटा टाईमा टिकेको हुन्थ्यो । र अझैसम्म सम्म पनि हुँदो हो । रटाई, घोटाई र घाँटीको टाइ ।अघिल्ला दुई बर्ष म कठोर तानाशाही साम्राज्यको बन्दी बनाईए । त्यो कारागारमा रटाई , घोटाई र टाई नमिल्दा म मुर्गा बनाईए ।
 
कान समातेर घुडा टेक्न बाध्य बनाईए । नेपाली बोल्दा कलिला गालामा चड्कन खाए । हुँदा हुँदा यसो बाटो घाटोमा धुलो खेल्दा, लुकामारी खेल्दा, सुसु गरेर कस्ले टाढा पुर्याउने बाजि खेल्दा, पौडी खेल्दा र घमाईलो दिनमा उभोंतिरका कंचनजंघा हिमालय शृङ्खलाका मनै हर्ने अनुपम सौन्दर्यको आनंद लिदै ,यसो खोलाको डिलमा आची गर्न बसेकोसम्म बोर्डिङका तानाशाही सिपाहीहरुले देख्न सकेनन् ।
 
त्यो देखेर भोलिपल्ट बेन्चमाथी उभ्याउथे । धुलो खेल्छ्स ? भागेर पौडी खेल्छ्स ? बाटो मुत्छ्स ? खोला खोला हग्छ्स ? भन्दै सोड्क्याउथे । कन्सिरी तान्थे । दिनभरी घुँडा टेकाएर राख्थे । कुखुरो बनाउॅथे ।
 
तर यसरी आफ्नै दूध खाएर हुर्किएको सानो बालकमाथि अत्याचार गरेपछि, हाम्री काली भैँसीले त्यो अत्याचारी साम्राज्यको पिन्सिपल हुम भन्ने सेनापतीलाई श्राप दिई । अनि त्यही श्रापका कारण, दुई बर्ष अगाडि खाएको हाम्री काली भैंसीको दुध र घ्यू पिन्सिपल सरलाई दुई बर्ष पछाडि अचानक लाग्यो र लाग्यो मजाले । हाम्री भैंसीमाताको दूध र घ्यूको प्रतापले पिन्सिपल सरको जवानी भित्रैबाट दूध उम्लिए जसरी उम्लियो । उम्लिएपछि पोखियो । कहाँ पोखियो भन्दा, अंग्रेजी ट्युसन पढ्न आउने अचार्ज गुरुकी कलिली छोरीमाथि पोखियो । अर्थात- जनजाती दार्जिलिङवाला माड्सापले उपाद्दे बाहुनकी ,त्यो पनि पुरा गाँउले पुरेत भनेर पूजेका अचार्ज बाजेकि एसएलसी दिन आँटेकी १६ बर्षे तरुनी छोरी लिएर टाप कसे ।
 
अचार्ज बुढा झन्डै गए तर मलाई भने माल परो । किनभने त्यो बोर्डिङ भनिने तानाशाही साम्राज्य सोभियत यूनियन गर्ल्याम गुर्लुम ढले जस्तै ढल्यो । अर्थात् स्कुल बन्द भयो । म कैदमुक्त भएँ। दोस्रो बिश्व युद्दमा नाजी जर्मनी हारेर यहुदीहरु स्वतन्त्र भएजस्तै म पनि स्वतन्त्र भएँ। मेरो बालापनका नैसर्गिक अधिकारहरु पुनःस्थापित भए । म बाटामा सु गर्न डराई रहन नपर्ने भो । मैले खोलाका डिलमा आची गर्दा तर्सनु नपर्ने भो । धुलोमाटो जति खेले पनि हुने भो । अनि सबभन्दा ठूलो म रटाई, घोटाई र टाईबाट मुक्त भए । अनि म त्यो बाख्राको कान जस्तो टाई फ्याकेर ,कट्टु तान्दै नजिकैको श्री सरस्वती प्राथमिक बिधालयमा फेरि भर्ना भएँ।
 
क्रमशः
 
(चिमरिया तथ्यमा आधारित विषयहरुलाई व्यंग मिसाएर सटिक ढंगबाट लेख्ने क्षमताका प्रतिभावान लेखक हुन्! )