मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भीमफेदी कारागारबाट कैदी फरार, गृहले बनायो छानबिन समिति

भीमफेदी कारागारबाट कैदी फरार, गृहले बनायो छानबिन समिति


हेटौँडा । मकवानपुरको भीमफेदी कारागारबाट कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटी रहेका एक कैदी फरार भएका छन् । 
 
कर्तव्य ज्यान मुद्दामा अदालतद्वारा दोषी ठहर भई जन्म कैदको सजाय काटी रहेका र पाँच वर्षसम्म जेल जीवन बिताइसकेका चितवन घर भएका ३० वर्षीय कुलदीपराज धामी फरार भएको कारागारका प्रमुख प्रकाश खनालले जानकारी दिए । 
 
कारागारलाई सुरक्षित राख्न र कैदीबन्दी नभागुन भन्नका लागि १२ फिटभन्दा अग्लो पर्खाल लगाएर काँडे तारसमेत कसेर मजबुद बनाइएको कारागार परिसरबाट बन्दी कसरी भागे भन्ने अनुसन्धान भइरहेको कार्यालय प्रमुख खनालले जानकारी दिए ।  
 
पर्खालको केही सानो भागमा तारहरु लत्रिएको देखिएकाले बन्दी धामी त्यहीँबाट भागेको हुन सक्ने अनुमान गरिएको छ । फरार धामीको व्यापक खोजी भइरहेको जनाइएको छ ।
 
भीमफेदी कारागारबाट शनिबार राति कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय काटिरहेका एक कैदी फरार भएपछि गृहमन्त्रालयले छानबिन समिति बनाएको छ । 
 
गृहमन्त्रालयले घटनाको छानबिन गर्न आइतबार साँझ मन्त्रालयका उपसचिव दीपक नेपालको संयोजकत्वमा छानबिन समिति गठन गरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने ‘समितिले कारागारमै पुगेर आवश्यक छानबिन गरी प्रतिवेदन गृहमा पेश गरेपछि प्रतिवेदनको आधारमा कारबाही अघि बढ्छ ।’
 
शर्माका अनुसार छानबिन समिति गठनको निर्णय भएको छ भने सोमबार बिहान समितिका संयोजक नेपाललाई चिठ्ठी दिने तयारी गरिएको छ ।