काठमाडौँ । नेपाल राष्ट्र बैंकले नेपालमा भुक्तानी प्रणाली सञ्चालकको काम गर्नका लागि नेपाल पेमेन्ट सोलुसन प्रालिलाई अनुमति पत्र (लाइसेन्स) प्रदान गरेको छ ।
नेपाल पेमेन्ट गैर आवासीय नेपालीको लगानी भएको कम्पनी हो । यो कम्पनीले नेपालमा अनलाइनमार्फत लेनदेनलाई सहजीकरण गर्ने छ ।
राष्ट्र बैंकले दिएको लाइसेन्समा भुक्तानीसम्बन्धी क्लियरिङ, सानो मूल्यको भुक्तानी र भुक्तानी स्वीजको काम गर्न स्वीकृत दिइएको उल्लेख छ । करिब ३० करोड रुपैयाँ लगानी हुने यस कम्पनीमा अमेरिकामा व्यवसाय गर्ने गौरीराज जोशीको मुख्य लगानी छ । जोशी गैरआवासीय नेपाली संघका सचिव पनि हुन् ।
यसबाहेक डेनमार्कका गैरआवासीय नेपाली लोकराज शर्मा पनि मुख्य लगानीकर्ता हुन् । एनआरएनएका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष डा बद्री केसीलगायतको यो कम्पनीमा लगानी छ । अमेरिकाबाट पनि अन्य थुप्रै लगानीकर्ताले कम्पनीमा संस्थापक शेयर हालेका छन् ।
यो कम्पनीले नेपालमा अनलाइन भुक्तानी प्रणालीलाई सहजीकरण गर्न मुख्य भूमिका खेल्ने उद्देश्य राखेको छ । त्यसबाहेक सस्तोमा रेमिट्यान्स कारोबारलगायतका विभिन्न सेवा दिने उद्देश्य पनि कम्पनीको छ । हाल कम्पनी मुख्य कार्यालय काठमाडौँ सुनधारामा रहेको छ ।
कम्पनीलाई चाहिने अधिकांश पूर्वाधार बनिसकेकाले छिट्टै कम्पनीले औपचारिकरुपमा काम थाल्ने बताइएको छ ।
कम्पनीले नियमअनुसार सर्वसाधारणका लागि पनि साधारण शेयरसमेत निष्कासन गर्ने जनाएको छ ।
प्रतिक्रिया