मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए काठमाडौँ विश्वसम्मेलनमा अमेरिका

एनआरएनए काठमाडौँ विश्वसम्मेलनमा अमेरिका


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को काठमाडौँ सम्मेलन एनआरएनए अमेरिकाका लागि निराशाजनक रहेन । कार्यसमितिका महत्वपूर्ण तीन पदमा अमेरिकाबाट प्रतिनिधित्व गर्नेले जीत निकाले । रवीना थापा, सोनाम लामा उपाध्यक्षमा जित्न सफल भए । सचिवमा गौरीराज जोशीले जित्ने पूर्वानुमान धेरैको थियो । उनले स्वाभाविकरुपमा जीत आफ्नो पक्षमा पारे । 
 
उपाध्यक्षमा विजयी भएका सोनाम लामाले यसपटक रणनीतिक मुभ गरेका थिए । उनको तयारी राम्रो थियो । अघिल्लोपटक हारको गल्ती यसपटक राम्रोसँग सच्याए र उनले चुनाव जिते । महिला उपाध्यक्षमा रवीना थापाको जीत अमेरिकाका लागि बोनस जस्तो भएर आयो । उनले एउटा समूह समातिन् र उक्त समूहको भोट आफ्नो पक्षमा पारिन् । त्यसबाहेक अमेरिका क्यानडाले उनलाई भोटमा सहयोग गरे । अर्की प्रतिद्वन्द्वी सपिला राजभण्डारीको चुनावी अंक गणितमा कमजोर देखिइन् । उनी एनआरएनमा लामो समयदेखि सक्रिय थिइन् । यति भएपछि चुनाव जितिहालिन्छ भन्ने सोचिन् । चुनावी अंक गणितका लागि उनले त्यत्ति मेहनत गरिनन् । त्यही भएर रवीनालाई जित्न सजिलो भयो । 
 
अमेरिकाले दुईवटा उपाध्यक्षमात्र होइन, दुईजना सल्लाहकार पनि पाएको छ । हरिबोल भण्डारी र एपी शेर्पा एनआरएनएमा सल्लाहकार भएका छन् । भण्डारी एनआरएनए अध्यक्ष कुमार पन्त निकट थिए । पार्टीगत सवालले गर्दा कुल आचार्यको व्याच लगाएर हिँडेका थिए । तर उनले आफ्ना निकटलाई कुललाई अध्यक्षमा भोट गर्न भनेनन् । त्यसको पुरस्कारका रुपमा उनले सल्लाहकार पद पुनः पाए । कुमार पन्तले नै उनको नाम प्रस्ताव गरेका थिए । 
 
सहकोषाध्यक्ष उठ्ने प्रचार गरेका एपी  शेर्पा अन्ततः सहमतिमा आए । त्यही कारण उनलाई सल्लाहकारमा राखियो । गौरीले चुनाव जित्छन् भन्ने सबैको अनुमान थियो । नतिजा पनि त्यस्तै आयो । धेरै उम्मेदवार भएकाले उनको मत भने कम देखियो । 
 
क्षेत्रीय संयोजकमा राजन त्रिपाठीलाई जिताएर हरिबोल भण्डारीले एनआरएन अमेरिकाको चुनावमा आफ्नो समर्थक वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी अमृत सापकोटाको हारको बदला लिएका छन् । भण्डारी सापकोटाकै जोडबलमा राजन उम्मेदवार भएका थिए । क्षेत्रीय संयोजक जस्तो महत्वपूर्ण पदका लागि उनी कति सक्षम हुन्छन् यसमा भने प्रश्न छ ।
 
उपक्षेत्रीय संयोजकमा राम सी पोखरेलले सहज जीत हासिल गरे । राम सी आफ्नै मेहनतले उक्त पदमा चुनिन पुगे । वेद बस्नेतले उम्मेदवारी नदिएपछि राम सीलाई सहज भएको थियो । उनी आफैँ चुनावमा भिडेका थिए । व्यावसायिक साझेदारी भएकाले विकासराज न्यौपानेको उनलाई दरिलो समर्थन थियो । 
 
अंक गणितमा अमेरिका यसपटकको चुनावमा सफल भयो । तर, एउटा समूह निराश पनि बन्यो । एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष डा केशव पौडेल २८ मतले पराजित भए । उनलाई जिताउन एउटा समूह सक्रिय थियो । तर, जुन समूहले एनआरएनएको समिकरण बोकेकै थिएन । अध्यक्षका पराजित उम्मेदवार कुल आचार्यको टीममा डा पौडेल थिए । आचार्य पनि हारे डा केशवले पनि जित निकाल्न सकेनन् । 
 
एनआरएनए अमेरिकाका अध्यक्षले भोट कुमार या कुलमध्ये कसलाई हाले उनैलाई थाहा होला । तर, एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साह कुलको पक्षमा हिँडेका थिए । उनको जुलुसमा देखिएका थिए एनआरएनए अमेरिकाका मनोनीत प्रवक्ता । उनले कुलको पक्षमा खुलेर लागेका थिए । सामाजिक सञ्जालमा पनि कुलको पक्षमा मत मागेका थिए । एनआरएनए अमेरिकाका अधयक्ष साहले मनोनीत गरेका प्रवक्ताले किन कुलको प्रचार गरे भन्ने प्रश्नमा कार्यसमितिका एक सदस्यको भनाइ थियो, ‘यो अध्यक्षकै भनाइ हो भन्ने बुझ्नोस् न !’
 
यसले गर्दा एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल उनी कसैको मान्छे  हुन सकेनन् । यसको सीधा असर डा केशव पौडेललाई पनि प¥यो । डा केशव र कुल आचार्यको पराजयले अमेरिकामा एउटा समूह भने अमिलो मन लिएर फर्किएको छ । समग्रमा जसले अमेरिकाबाट हामी नै चुनावका किंगमेकर हौँ भन्ने ठानेका थिए, त्यहाँ यस्तो ठान्ने अधिकांशको कुनै हैसियत नै थिएन ।