मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

एनआरएनलाई राजनीतिक अधिकारसहितको नागरिकता दिइनुपर्छ : गौरीराज जोशी

एनआरएनलाई राजनीतिक अधिकारसहितको नागरिकता दिइनुपर्छ : गौरीराज जोशी


चितवनको रत्ननगर–१० घर भई डेढ दसकअघिदेखि अमेरिकाको टेक्ससमा सूचना प्रविधि व्यवसायमा सफल ठहरिएका गौरीराज जोशी एनआरएनएको काठमाडौँमा सम्पन्न विश्वसम्मेलन एवम् नवौँ अधिवेशनबाट सचिव पदमा विजयी भएका छन् । 
 
उनले विभिन्न संघसंस्थामा अहोरात्र सहयोग गर्दै आएका छन् । समाजसेवा र मानवीय सहयोगका निम्ति सधैँ अग्रसर रहँदै आएका जोशी अमेरिकामा बस्ने नेपालीहरुले गर्ने हरेक गतिविधि, सांस्कृतिक, धार्मिक कार्यक्रममा सारथिको काम गर्दै आइरहेका छन् । उनको सकारात्मक सोच, दृढ संकल्प र साधारण जीवनशैली सबैका लागि प्रेरणादायी बन्न पुगेको छ । 
 
गैरआवासीय नेपाली एवम् जन्मथलोमा रहने आमसर्वसाधारणका भरोसाका केन्द्र मानिएका जोशीसँग एनआरएनएको भावी योजना र लगानीका विषयमा केन्द्रित रहेर हिमालयखबरका नेपाल संयोजक केशव भट्टराईले गरेको कुराकानी प्रस्तुत गरिएको छ । 
 
१) एनआरएनएको सचिवमा विजयी हुनुभएको छ । कस्तो अनुभूति भइरहेको छ ? 
 
–एकदमै उत्साहित भएको छु । र, साथसाथै चुनौती र काम गरेर देखाउने जिम्मेवारी पनि थपिएको छ । जीतलाई संस्थागत गर्दै संस्थाभित्र रहेका विकृति, विसंगति, ढिलासुस्ती र बेथितिहरुको अन्त्य गर्नुपर्ने अभिभारा पनि थपिएको महसुस गरेको छु । 
 
२) तपाईं सचिवमा विजयी भइरहँदा एनआरएनएमा कस्तो बदलाव आउने अपेक्षा गर्नुभएको छ ? 
 
पहिले त सांगठनिक परिवर्तनअनुसार एनआरएनएलाई नयाँ उचाइमा पु¥याउनुपर्ने छ । विगतमा संस्थाभित्र जेजस्ता विकृति थिए त्यसलाई हटाउँदै सचिवालयलाई सशक्त र जुझारु बनाउनुपर्ने छ । एनआरएनएको सक्रियता सचिवालयमार्फत् नै बढ्ने भएकाले एनआरएनहरुको हकअधिकारका विषयमा केन्द्रित रहेर काम गर्नेछौँ । भावी कार्ययोजना सम्बन्धमा कार्यसमितिको बैठक बसेर आआफ्ना जिम्मेवारी पूरा गर्नेगरी सशक्त ढंगले देखिनेगरी काम गर्न सक्ने अपेक्षा गरेको छु । 
 
३) एनआरएनए जुन भावना र उद्देश्यले स्थापना भएको थियो, त्यसको लक्ष्य विमुख भइरहेको आरोपलाई कसरी सम्बोधन गर्नुहुन्छ ? 
 
विगतमा जुन सोच राखेर संस्था गठन भएको थियो, त्यसअनुसार अघि बढ्न नसकेको पक्कै हो । तर, लक्ष्य विमुख भइरहेको भन्ने आरोपमा चाहिँ पूर्ण सत्यता छैन । संस्थाको मूल उद्देश्य एनआरएनहरुको हकअधिकार सुनिश्चित गर्नु हो । संस्थामार्फत् सामूहिक लगानी गर्ने, ज्ञान, सीप र अनुभवलाई राष्ट्र निर्माणमा लगाउने प्रयत्न भइरहेका छन् । एनआरएनएमा नागरिकतासम्बन्धी अधिकारबाट विमुख रहेका कुराहरुमा संस्थाले मुद्दालाई अगाडि बढाएको छ । 
 
४) चुनावमा तपाईंले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारसहितको माग पूरा गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अब एनआरएनएले यो मुद्दा कसरी अगाडि बढाउँछ ? 
 
हाम्रो माग नेपाली नागरिकताको निरन्तरता नै हो । नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकता दिने उल्लेख छ । यसका लागि अहिलेसम्म ऐन कानुन भने स्वीकृत नभइसकेको अवस्था छ । यो नागरिकतामा राजनीतिक अधिकारबाहेक सबै अधिकार नेपालीसरह उपयोग गर्न पाइने भन्ने छ । हाम्रो आग्रह के हो भने नेपालमा जन्मेर नेपाली नागरिकता लिइसकेपछि विदेशी नागरिकता लिनेको हकमा पनि नेपाली नागरिकताको निरन्तरता हुनुपर्छ भन्ने हो  । अमेरिका, युरोप, अस्ट्रेलिया बस्ने थुपै नेपालीले त्यहाँको नागरिकता स्वीकार गरेका छन् । यसलाई नेपाली नागरिकता त्यागेको अर्थमा बुझ्नु हुँदैन । वैदेशिक रोजगारी वा व्यापारका क्रममा त्यहाँ बस्न सजिलो होस् भन्ने उद्देश्यले मात्र नागरिकता लिइएको हो । यसबाट नेपाललाई घाटा केही छैन । 
 
हामीले के बुझ्नु भएन भने विदेशी पासपोर्ट लिएर यात्रा गर्दैमा कोही पराइ हुँदैन । यो त व्यावहारिकताले गर्दा लिन बाध्य हुनुपरेको हो । बेलायती सेनामा काम गर्ने नेपालीले नेपालमा आउँदा चुनावमा भोट हाल्छन् । राजनीतिक गतिविधिमा सहभागी हुन पाउँछन् ।
 
विदेशमा बसेर ज्ञान, सीप र धन आर्जन गरेको नेपाली नेपाल आएर आफ्नै गाउँठाउँको विकासका लागि राजनीतिमा सहभागी भएर काम गर्न आउँछ भने नेपाललाई बेफाइदा केही हुँदैन । आफ्नो जन्मभूमिलाई छाडेर टाढा हुन कसैलाई मन लाग्दैन । देशमा संकट पर्दा विदेशमा बस्ने नेपालीले साथ दिँदै आएका छन् । आवश्यक पर्दा जेजस्तो सहयोग गर्न पनि तिनै नेपाली पछि पर्दैनन् । त्यसैले विदेशमा बस्ने नेपालीलाई राजनीतिक अधिकारसहितको नागरिकता दिनुपर्छ भन्ने हाम्रो माग हो । यस विषयमा सरकारसँग बसेर पहल गर्छौं । एनआरएनएबाट सरकारलाई दबाब सिर्जना गर्ने वातावरण बनाइरहेका छौँ । 
 
५) नवौँ अधिवेशनसम्म आउँदा एनआरएनएभित्र दलीय राजनीति हावी भयो । यसरी राजनीतिक आवद्धतालाई प्रमुख ठानिँदा एनआरएनए साझा संस्था कसरी भयो ? 
 
–यस्तो वातावरण सिर्जना हुनु अत्यन्त दुःख लाग्दो कुरा हो । एनआरएनएमा थुप्रै कमी कमजोरी छन् । त्यसलाई सच्याएर अगाडि बढ्न हामी पर्यत्नशील रहनेछौँ । म यस संस्थालाई राजनीतिक प्रभावबाट मुक्त राख्न नयाँ कार्यसमितिको बैठकमै यस विषयलाई राख्दैछु । आशा गरौँ, आगामी दिनमा हाम्रा संस्थापकहरुले लिएको सोच, लक्ष्य र उद्देश्यलाई मूर्तरुप दिन र एनआरएनलाई ८१ मुलुकका नेपालीहरुको साझा संस्था बनाउन आफ्नो तर्फबाट हरसम्भव प्रयास गर्नेछु । 
 
६) एनआरएनएको प्रमुख समस्या के देख्नुभएको छ ? सुधार गर्न तपाईंले कसरी पहल गर्नुहुन्छ ? 
 
–संस्थागत संरचनालाई परिवर्तन गर्नुपर्नेछ । सचिवालयबाट जेजसरी काम हुनुपर्ने हो त्यो सुस्त रहेको अवस्था छ । सचिवालयलाई चुस्त दुरुस्त बनाउँदै एनआरएनको हकहित संरक्षणमा टेवा दिने संस्थाका रुपमा अगाडि बढाउन कार्यसमितिलाई सचेत गराउनेछु । एनआरएनएले अघि बढाएका कतिपय कामहरु रोकिएका छन् । संस्थामा आवश्यक समन्वय गरी सुरु गरिएका कामहरुलाई पूर्णता दिने र नयाँ काम गर्ने वातावरण सिर्जना गर्न आफ्नोतर्फबाट हरसम्भव पहल गर्नेछु । 
 
७) सरकारले ढुक्क भएर लगानी गर्न आह्वान् गरिसकेको छ । एनआरएनएले कुन कुन क्षेत्रमा लगानीका लागि प्राथमिकता दिएको छ ?
 
– एनआरएनएले कृषि, पर्यटन, उद्योग, हाइड्रोपावरलगायतका क्षेत्रमा प्राथमिकताका साथ लगानी गरिरहेको छ । तर, अझैसम्म पनि सरकारले लगानीका लागि वातावरण सिर्जना गर्न सकेको छैन । नेपाली अर्थतन्त्रमा विदेशमा रहेका नेपालीले पठाएको रेमिट्यान्सको बढ्दो निर्भरता छ । बेरोजगारी समस्या कम गर्न, विदेशी मुद्राको संचिती, भुक्तानी सन्तुलनलगायतका अर्थतन्त्रका मुख्य सूचकमा पनि रेमिट्यान्सको महŒवपूर्ण योगदान छँदैछ । सरकारले लगानीको वातावरण सिर्जना गर्न सकेको छैन ।
 
कानुनी जटिलता छ । अझै पनि बाधा अड्चन, फाइल अड्किनेजस्ता समस्या छन् । कर्मचारी संयन्त्रमा सुधार आउन सकेको छैन । नेपाल सरकार र त्यहाँका कूटनीतिक नियोगले समस्यामा पर्ने नेपालीलाई उपयुक्त सेवा चुस्तरुपमा दिन नसकेको गुनासो व्याप्त छ । त्यहाँमात्र होइन विदेश जाँदादेखि फर्किएर घरसम्म पुग्दासमेत थुप्रै ठाउँमा हण्डर र ठक्कर खानुपरेको छ । कतिपय ठाउँमा ठगिनु परेको छ । विदेशबाट नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै समस्या सुरु हुने गर्छ । यस्ता समस्याहरु हट्नु जरूरी छ ।