मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाँके घटनाका सम्बन्धमा संसदमा चर्काचर्की, बैठक स्थगन

बाँके घटनाका सम्बन्धमा संसदमा चर्काचर्की, बैठक स्थगन


काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो राष्ट्रिय जागरण अभियानका क्रममा बाँके जिल्ला सभापतिमाथि नेकपाका कार्यकर्ताले गरेको सांघातिक आक्रमणको घटनालाई लिएर सत्तापक्ष र प्रमुख प्रतिपक्षका सांसदबीच प्रतिनिधिसभामा आरोप–प्रत्यारोपपछि बैठक स्थगन भएको छ ।
 
सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुखले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई बोल्न समय दिएका थिए । 
 
बोल्न अनुमति पाएपछि सांसद भुसालले बाँके घटनामा संलग्नविरुद्ध परेको किटानी जाहेरीअनुरूप दोषीलाई हदैसम्मको कारबाहीका लागि सभामुखबाट निर्देशन गर्न माग गरिन् । 
 
उनले भनिन्, “किटानी जाहेरी परेका व्यक्तिलाई कानूनी कारबाही प्रभावकारीरूपमा अघि बढाओस्, दोषी कारबाहीको भागिदार भएको हामीले देख्न र सुन्न पाउनुपर्छ, अपराधीले दण्ड पाउनुपर्छ, पीडितले न्याय पाउनु प¥यो ।” 
 
बाँके घटनाका दोषीलाई कारबाही गर्न माग राखेर प्रमुख प्रतिपक्षले आइतबारको प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गरेको थियो । 
 
नेपाली कांग्रेसले आयोजना गरेको राष्ट्रिय जागरण कार्यक्रममा किरण कोइराला, विद्यापति कोइरालालगायत गम्भीर घाइते भएका जनाउँदै सांसद भुसालले भनिन्, “हाम्रो राजनीतिक कार्यक्रममा गैरराजनीतिक क्रियाकलाप भयो ।”
 
संविधान, मानवअधिकार, सुशासन, संविधानवादको पक्षमा नेपाली कांग्रेस सधैँ अडिक रहेको उल्लेख गर्दै उनले कानूनी शासन कायम गर्न किटानी जाहेरी दर्ता गराउने सन्दर्भमा गम्भीरता नदेखाइएका कारण संसद् अवरुद्ध गर्नुपरेको बताइन् । 
 
उनले मन्तव्य सक्नासाथ नेकपाका सांसद नन्दलाल रोका क्षेत्रीले प्रमुख प्रतिपक्षले आरोप लगाएजस्तो बाँके घटना नभएको भनी प्रतिवाद गरेका थिए । त्यसपछि प्रतिपक्षका सांसदले आसनबाट उठेर विरोध जनाएका थिए । 
 
सांसद रोकाले दम्भका साथ भने, “विपक्ष आन्दोलन गर्छ भने हामी पनि आन्दोलन गर्न तयार छौँ, सत्य भनेको सत्य नै हो सत्यलाई हामी स्वीकार गछौँ, असत्य स्वीकार गरिन्न ।”
 
विरोधका बाबजुद सांसद रोक्काले आफ्ना कार्यकर्ताको ढाकछोपमा समय खर्चिएपछि प्रतिपक्षका सांसदले ‘बेल’मा गएर नाराबाजी गर्न बाध्य भएका थिए । 
 
प्रतिपक्षबाट नाराबाजी भइरहँदा सभामुख महराले भने, “तपार्इंहरूले उठाउनुभएको विषयमा ध्यानाकर्षण भएको छ, प्रतिपक्षले उठाएको विषयमा म सरकारलाई केही भन्न चाहन्छु, आ–आफ्नो स्थानमा बसेर सदन सुचारु गर्न सहयोग पु¥याउनुहोस् ।” 
 
प्रतिपक्षले निरन्तर ३५ मिनेट नाराबाजी गरेपछि सभामुखले आजको बैठक स्थगन गरेको घोषणा गरे ।