मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

तिमी देबता हैनौ

तिमी देबता हैनौ


आज हरीतलीका तीज । परम्परा अनुसार बिषेश गरि श्रीमानको सु–स्वास्थ्य र दिर्घायूको कामना गर्दै निलाहार ब्रत बस्ने दिन । हामीले संगैसंगै धेरै बसन्तहरु पार गर्यौं । आज मैंले यो सामाजिक संजालबाट नैं तिमी भनेर संबोधन गरेकी छु किनकी तिमी मान्छे हौ, मेरो हरेक दुख सुखका साथी । त्ससैले आज १ दिन निलाहार ब्रत बसेर, तिम्रो पाउको जल खाएर, तिम्रो पाउ पुजेर म तिमीलाइ देबता बनाउन चाहन्न । 

 
जुनदिन म मेरो आंगनबाट अन्मीएर तिम्रो दैलोमा पुगें, तिम्री आमाले दैलो देखी भण्डार सम्म झलमल बत्ती बालेर मेरो भब्य स्वागत गरेकी थिइन् हैन ? हो त्यहि दिन तिमीले एउटा जीबनको सहयात्री जन्मायौ श्रीमतीको रुपमा ।
 
त्यो दिन तिम्रो घर र मेरो नयांघर जति उज्यालो थियो सायद मेरोमन भित्र भित्र कालो बादल मडारीएको थियो ।रात भरी एउटै औछ्यानमा हुंदा के मेरो लात्ती तिमीलाइ लागेन र ? सायद कसैले नदेख्ने भएर नै प्रेमले तिमीले नैं मेरा पाउहरु सुम्सुम्याएका थियौ । मैलेपनि त तिमीलाइ देबता हैन सहयात्री ठानेर पापको प्रायश्चित गर्न तिम्रो पाउमा मेरो शीर राखिन ।
 
तर रात बित्यो उज्यालो भयो तर मेरो मनको बादल फेरी गाडा हुँदै गयो । संस्कारको नाममा बिहानै नुहाएर, बस्त्र अलंकार पहीराएर तिम्रो पाउ पुज्न लगाइयो । हो रातभरीका मेरा प्रिय बनेका तिमी उज्यालो भएपछि एकाएक देबतामा परिणत भयौ ।
 
हो मेरो मनको बादल फाटेन, पटक्कै फाटेन ।अनि मैंले मेरो मनको बादल फटाउनका लागि मेरा अभिभाबकहरुले दान गरेर पठाएको अमूल्य ज्ञान,शिप र शीक्षाको ज्योति प्रयोग गर्न थालें ।मैंले जीबनका हरेक पाइलाहरुमा तिमी बराबर कै ज़िम्मेवारी र पारीबारीक दायित्व पुरा गरेकी छु । अझै नढाँटी भन्नु पर्दा महिला भएकै कारणले पारिवारिक ज़िम्मेवारी मेरै धेरै थियो ।
 
हो म सक्षम र सबल थिएं र त हजारौं युद्द जितेर संघर्षका इतिहासहरु मन मुटुमा सजाएर याहां सम्म आइ पुग्यौ हामी । मैंले तिमीलाइ मात्र देबता मानेको भए, म तिमीलाइ यति धेरै साथ दिन सक्थिन होला । मनले जीबनभर तिमीलाइ सहयात्री नैं बनायो, आज तीजको सन्दर्भ जेडेर मैंले मुख खोलेकी छु । म मात्र तीम्रा लागि व्रत बसेर तिम्रो र मेरो बिचमा ठूलो अन्तर बनाउन सक्दिन ।
 
अँ सांच्चैं हाम्री आमा पनि बा को लागी नैं भनेर निलाहार ब्रत बस्नु हुन्थ्यो । तर बा रोगाएको त दशकौं भैसक्यो । बालाइ औषधी उपचारले आज सम्म बँचाएको छ ।
 
तीजमा ब्रत बस्नु सहि या गलत भन्न खोजेकी हैन । मात्र हाम्रो सम्बन्ध लाइ ब्रत बस्नु र नबस्नुले मापन गर्ने छैन आज देखि I बिगतका दिन हरुमा मैले पानि कैयौ बर्ष निलाहार तिजको ब्रत बसेकी छु I मैले अर्थ बुझे नबुझेको भन्दा पनि, चित्त नबुझेको कुरा बाहिर निकाल्ने क्षमता नपुगेको हो I आज मलाइ समयले निर्भिक मुख खोल्न सक्ने बनाइ दिएको छ । यसको गलत अर्थ लगाउने छैनौ ।
 
बिगतका दिनमा तीजको ब्रत बसीरहँदा मैंले तिमी बाटैपनि धेरै आलोचना खेपेकी थिएँ ।तिम्रै लागि भनेर बसिने ब्रतले खासै तिमीलाइ खुशी दिएको थिएन । तर म बाहेक अरु कसैको अगाडी ब्रत नबस या मेरो पाउ पुजा नगर भन्न त तिमीले पनि त सकेनौ नि ? शायद तिमीले नैं भनिदिएको भए मैले मुख खोल्न बर्षौ कुर्नु पर्ने थिएन ।हो  हिजो ब्रत बस्दा जति बेखुशी थियौ ।
 
आज ब्रत नबस्दा त्यति नैं खुशी हुने छौ भन्ने लागेको छ ।मेरा प्यारा मान्छे तिमी आज धेरै खुशी हुनेछौ । मेरो चेतनाको स्तर बढेकोमा ।आज हामी एक उत्सब नैं मनाउने छौं ।
 
हामी देबता र भक्त भएर हैन असल जीबनसाथि रहने छौं जुनी जुनी । म परम्परा बिरोधी पनि पक्कै होइन । आज भगवान स्वरुप उमामहेश्वरको पुजा आराधना गरिन्छ । भनिन्छ भगवानसँग अदृश्य शक्ती छ । मैले उनै भगवानसँग चोखो मनले हरेक नारी/पुरुषहरुको सुखद दाम्पत्य जीबन मागेको छु । हरेक नारीहरुका जीबनसाथीहरु देबता हैन सहयात्री बन्न सकुन ।