मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पुडासैनी मृत्यु प्रकरण : रविको बयान जारी, मंगलबार पुनः म्याद थपिने

पुडासैनी मृत्यु प्रकरण : रविको बयान जारी, मंगलबार पुनः म्याद थपिने


चितवन । माउन्टेन टिभीका पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा आरोपित पत्रकार रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीसँग सरकारी वकिलको कार्यालय चितवनमा बयान लिइएको छ ।   
 
कँडेल र कार्कीको आइतबार बयान सकिए पनि पत्रकार लामिछानेको बयान जारी रहेकाले मंगलबार म्याद थप गर्ने तयारी छ । 
 
सोमबार अनुसन्धानका लागि म्याद थप हुने वा रिहा हुने व्यग्र पखाईमा रहेका रविका समर्थकहरु साँझसम्म प्रतीक्षारत देखिन्थे । तर, बयान लिनै ढिलाइ भएका कारण मंगलबार पनि थप बयान जारी रहने बताइएको छ । 
 
अधिवक्ता रामकृष्ण अधिकारीसँगको जिज्ञासामा म्याद थप गर्ने र बयान लिइसकेपछि मिसिल तयार गरी दुवै पक्षका वकिलबीच छेकथुनको बहसपश्चात् सामान्य तारेख, धरौटीमा रिहा वा अन्य कारबाहीकोे प्रक्रिया सुरु हुनेछ । 
 
प्रहरीले पनि अझै अनुसन्धान प्रक्रिया जारी रहेको जनाएको छ । गम्भीर प्रकृतिको मुद्दा भएकाले सुक्ष्मरुपमा अध्ययन गरेपछिमात्रै अदालतमा मुद्दा दर्ता हुनेछ । पोष्टमार्टम रिपोर्टसँगै मृत्युअघि रेकर्ड गरिएको भनिएको भिडियो मृतककै आवाज भएको पुष्टि भएको छ ।
 
यसैबीच, शालिकरामले आत्महत्या गर्नुअघि डोरी पनि आफैँले किनेको सिसीटिभीबाट खुलेको प्रहरीले बताएको छ । सो प्रकरणमा सीआईबीले पनि आफ्ने ढंगले अनुसन्धान गरिरहेको छ । 
 
रविका हजारौँ समर्थकको प्रदर्शन जारी
 
रविसहित तीन जनालाई फसाउने षडयन्त्र भइरहेको भन्दै रविका हजारौँ समर्थकले प्रदर्शन जारी राखेका छन् । आज पनि भरतपुरको चौबीसकोठीमा जम्मा भएका हजारौँ समर्थकले रविको पक्षमा प्रदर्शन गरेका थिए । 
 
प्रहरी कार्यालय र अदालत परिसरअगाडि प्रदर्शनमा रोक लगाइएको थियो । प्रहरीले आज पनि प्रदर्शनकारीमाथि दमन गरेको थियो । प्रदर्शनकारीलाई दमन र अमानवीय कार्य गरेको भन्दै प्रदर्शनकारी आक्रोशित भएका थिए । 
 
सो क्रममा पाँच प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सोमबारसम्म चितवनमा कुनै अप्रिय घटना भएको छैन । प्रदर्शनकारीले आन्दोलनलाई शान्तिपूर्ण बनाउने प्रयास गरिरहेका छन् ।
 
रविका समर्थकलाई बदनाम गर्ने कुत्सित मनसायले केही अराजक र आपराधिक मनोवृत्ति भएका रविविरोधी समूहले ढुंगा हानेर स्थिति अशान्त पार्ने हर्कत गरेको रविका समर्थकहरुले जनाएका छन् । 
 
रविको समर्थनमा अपाङ्गहरुसमेत ह्वीलचियरमा बसेर रविको रिहाइको माग गरेका थिए । प्रदर्शनमा वृद्धवृद्धा, गृहणी, मजदूर, युवा, किसानलगायत हुम्ला र जुम्लाबाट समेत स्वतःस्र्फूतरुपमा मानिसहरु जम्मा भएका थिए ।