मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

भवन नउठ्ने हुँदा एनआरएनमा सर्वसम्मत हुने सम्भावना बढ्यो

भवन नउठ्ने हुँदा एनआरएनमा सर्वसम्मत हुने सम्भावना बढ्यो


हिमालयखवर संवाददाता
 
अमेरिका- गैर आवासीय नेपाली संघ (एनआरएनए) मा गत सातासम्म सबैभन्दा धेरै सोधिने प्रश्न अध्यक्ष भवन भट्टले अर्को कार्यकालका लागि उम्मेदवारी दिन्छन् वा दिन्नन् भन्ने थियो ।
 
तीन दिन अघि फेसबुक लाइभ मार्फत भट्टले आफु आउने कार्यकालका लागि नउठ्ने घोषणा गरेका छन् । उनको यो घोषणाले यो प्रश्न लगभग सकिएको छ । अव सजिलैसँग उपाध्यक्ष कुमार पन्त अध्यक्ष हुने संभावना बढेर गएको छ ।
 
पन्त दुई बर्ष अघि नै अध्यक्ष्ँका आकांक्षी थिए । तर, भट्टले उनलाई अर्को कार्यकालमा सघाउने गरि सहमतिमा ल्याएका थिए । अहिले भवनले आफ्नो सहमति कायम राख्न स्वभाविक रुपमा यो घोषणा गरेको पन्तको वुझाई छ ।
 
अध्यक्ष भवनले समय छँदै आफु अर्को कार्यकाल नउठ्ने भनेर अरु नेतृत्वका आंकाक्षीहरूलाई त्यस अनुुरुप तयारी गर्न सजिलो वातावरण बनाईदिएका छन् । भवनलाई लिएर बन्न सक्ने प्यानल अब हुने छैन ।
 
यसले कुमार पन्तलाई अध्यक्ष हुन सहज वातावरण मात्र होइन सहमतिको वातावरण समेत बन्दै गएको छ । सहमतिमै अध्यक्ष बन्ने संभावना उनको छ ।
 
एनआरएनएका अर्का उपाध्यक्ष कुल आचार्यले पनि आफु स्वभाविक रुपमा अध्यक्षको दावेदावी रहेको बताएका छन् । नेपाली कांग्रेस निकट एनआरएनहरुले उनलाई उठाउन चाहेको हल्ला पनि छ । एनआरएनए निर्वाचनमा कुनै पनि राजनीतिक पार्टीको प्रभाव खासै छैन । त्यसैले कुलका लागि एक कार्यकाल पर्खिनु नै सही निर्णय हुन्छ र आफ्नो अध्यक्षको दावेदारी चर्चामा राखेपनि अन्तिम समयमा कुलले मुर्खतापुर्ण निर्णय नगर्लान भन्ने धेरैको अनुमान छ । यसको लागि पहल पनि हुने छ ।
 
भवनको उम्मेदवारी नदिने घोषणाले आउने अक्टोबर दोस्रो साता काठमाडौ हुने एनआरएनएको चुनावी वातावरण भने केही मत्थर हुने छ । डेलिगेशनमा को पर्ने को नपर्ने भन्ने प्रतिस्पर्धा पनि कम हुने छ । एनआरएनएका पेचिला मुद्दाहरुमा गम्भिर बहस हुन सक्छ ।
 
विदेशमा वस्ने नेपालीको हक हितका लागि एउटा अभियानका रुपमा शुरु भएको एनआरएनए अहिले गम्भिर मोडमा छ । विदेशमा वस्ने नेपालीका मुद्दाहरु पेचिला वनेका छन् । एनआरएन नागरिकता प्राप्त गर्ने प्रावधान अझै टुंगो लागेको छैन । एनआरएनएको महत्वकांक्षी लाप्राक वस्तीको टुंगोमा पुगेको छैन । ढिलो र कमजोर डिजाइनमा वन्यो भने आरोप पनि छ । त्यहाँ समस्याहरु देखिएका छन् । विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषदहरुमा समस्या देखिरहेको छ । त्यहाँ चुनावी राजनीति हाबी वनेको छ । यस्ता कयौं मुद्दाहरुलाई सल्टाएर लैजान सक्ने नेतृत्व अहिले आवश्यक छ । यसका लागि एनआरएनएका काठमाडौमा भेला हुने अगुवाहरुले गम्भिर छलफल गर्न सक्छन् । यसलागि वातावरण भने बन्दै छ ।
 
भवनको नउठ्ने घोषणाले अमेरिकावाट आईसीसीमा प्रतिनिधित्व गर्ने समिकरणमा पनि तलमाथि हुनेछ । क्षेत्रीय संयोजक गौरी जोशीलाई आईसीसीमा जाने सहज वातावरण बन्दै गएको छ । उनलाई भवन र कुमार दुवैले रुचाएका छन् । जोशीका लागि भवनको यो निर्णयले सजिलो वनाएको छ ।
 
एनआरएनए अमेरिकाका पुर्व अध्यक्ष डा. केशव पौडेल महासचिवमा उम्मेदवारी दिने पक्षमा थिए । त्यही पदमा युरोपवाट हेमराज शर्मा पनि आंकाक्षी भएकाले डा. पौडेललाई सजिलो हुने छैन । केन्द्रको सहमितले अन्य पदमा पनि प्रभाव पार्नेछ  ।
 
भवनले किन नउठ्ने घोषणा गरे ?
 
भवनले किन दोस्रो कार्यकालका लागि अगाडी नवढ्ने घोषणा गरे ? यो प्रश्न भने धेरैमा छ । भवनले आफुले अवकाश लिएको नभई ड्राईभरको सिटबाट पछाडीका सिटमा गएको बताएका छन् ।
 
अध्यक्ष हुँदा भवनले प्रशस्त समय एनआरएनएमा दिए । यसले गर्दा उनले जापान र नेपालको व्यवसायमा पर्याप्त समय दिन सकेका थिएनन् ।  उनले पछाडीको सिट रोज्नुमा यो पनि एउटा कारण हुन सक्छ । यसवाहेक कुमारसँगको पुर्व सहमतिले पनि उनलाई रोकिनु पर्ने थियो ।
 
एनआरएनएमा प्रदुषित राजनीतिक नहोस, नेतृत्व गर्ने चाहना सवैको पुरा होस, सहमतिको वातावरण बनोस भन्ने उद्देश्यले पनि भवनले यो निर्णय गरेको देखिन्छ । यो सही पनि हो ।