मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

विपदमा अभिभावकको असावधानीले बालबालिका जोखिममा

विपदमा अभिभावकको असावधानीले बालबालिका जोखिममा


काठमाडौँ । मनसुन कमजोर बन्दै जाँदा खोलानालाको सतह घट्दो क्रममा थियो । डुबान क्षेत्रबाट पनि पानी घट्दै थियो । असार ३० गते सर्लाहीको कौडेना गाउँपालिका–५ का दुई वर्षीय ऐयान खान खेल्न निस्किएका थिए । उनलाई के थाहा घर नजिक जताततै पानी पोखरी छ भनेर । थाहा हुनुपर्ने अभिभावकले ख्याल नगर्दा उनले पानीमा डुबेर अकालमा ज्यान गुमाउनुप¥यो ।
 
असार २७ गते वर्षाको उर्लँदो भेलले दाउरा बगाएर ल्याएको देखेपछि दाउरा छोप्न तम्सिए पर्साको पर्सागढी नगरपालिका–१ का १२ वर्षीय निखिल पटेल । दाउरा टिप्न बाढीमा पसेका निखिल कहिल्यै नफर्कने गरी दाउरासँगै बगे । बारा कलैयाका विक्की शाहको घर नजिकैको नालामा डुबेर ज्यान गयो भने १० वर्षका अजित शाह खाल्डोमा जमेको पानीमा परे । 
 
यी केवल प्रतिनिधि घटना मात्र हुन् । अभिभावकले सामान्य हेक्का राखेको भए उनीहरूको अकालमै ज्यान जाने थिएन । गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनाल भन्छन्, “अभिभावको असावधानी र बच्चाको जिद्दीपनले घटना भएका छन्, आफू छतमा बस्ने बालबालिकालाई छाडिदिने अवस्था पनि देखियो ।” 
 
असार अन्तिम साताको अविरल वर्षपछि आएको बाढी, पहिरो र डुबानमा परेर मृत्यु भएका मध्ये आधा बढी बालबालिका छन् । केन्द्रको विवरणअनुसार अहिलेसम्म मृत्यु भएका ९० मध्ये ४६ बालकालिकाले ज्यान गुमाएका छन् । त्यस्तै १८ वर्ष उमेरका दुई जना जोड्दा ४८ जना छन् । केही हराइरहेका पनि छन् । 
 
तराईका अधिकांश ठाउँमा परिवारको लापरवाहीका कारण बालबालिकाको मृत्यु भएको पाइएको छ । कतिपय स्थानमा बालबालिकाले जोखिम उठाउँदा पनि ज्यान गुमाएका छन् । तराइमा मृत्यु भएका बालबालिकामध्ये धेरै खाल्डोमा जमेको पानी, पोखरी, नाला वा घर नजिकको कल्भर्टमा परेका छन् ।
 
कल्भर्टको पानीमा डुबेर झापा दमक नगरपालिका–१० की छ वर्षीया बालिका एलिजा न्यौपाने र खोलाले बगाउँदा नौ वर्षीय सौगात चापागाईँको असार २८ मा मृत्यु भयो । सोही जिल्लाको मेचीनगर नगरपालिका–५ मा खोलाले बगाएर बालक अजित प्रसाईंको ज्यान गयो ।
 
मोरङ्का १४ वर्षीय ऋषिदेव र कानेपोखरीका आठ वर्षीया प्रिती तामाङ तथा पथरी शनिश्चरेमा ११ वर्षीय सिर्जना तामाङको विपद्का बेला मृत्यु भयो । सुनसरीका १२ वर्षीय तोसिव मियाँ, चार वर्षका जुगेर मियाँ र पाँचथरका १० वर्षीय दिवन राईको खोलाले बगाएर र भोजपुरका १४ वर्षीय जनक विक, १७ वर्षका शिवकुमार राई, १५ वर्षका शक्तिकुमार राईको पहिरोमा पुरिएर ज्यान गयो ।
 
पहिरो आइ घर पुरेर खोटाङको खोटेहाङ गाउँपालिका–२ का चार वर्षीय रोमन  र रोहन राईको मृत्यु भयो । महोत्तरीमा इन्ताज नदाफ, अजरुद्दिन नदाफ, सिराहाको मिर्चैया नगरपालिकाका एक वर्षीया रागनीकुमारी महत्तो, प्रियाङ्का शाह, १५ वर्षका बली शाह, नौ वर्षका मोहम्मद साहिदको जमेको पानीमा र दुई वर्षका ऐयान खानको खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो । 
 
रौतहटमा १० मध्ये पाँच बालबालिकाले विपद्मा ज्यान गुमाए । जसमा  पुरुषोत्तम यादव, परमेश्वर यादव, रविराम, सिद्धान्तराय यादव, सफअन महम्मद रहेका छन् । चार जनाको जमेको पानीमा डुबेर मृत्यु भएको थियो । रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापा भन्नुहुन्छ, “नदीले बगाएरभन्दा पनि डुबेर धेरै मृत्यु भएको अवस्था छ, एक महिलाले घाँस दाउरा लिन जाँदा बच्चा लिएर गइन्, बच्चा डुबेर मरे, बाढीले त मृत्यु भयो नै, त्यसमाथि लापरवाहीले पनि मरेको छ ।” 
 
पर्साको पर्सागढी नगरपालिका–१ का १२ वर्षीय निखिल पटेल बगेर ल्याएको दाउरा टिप्न जाँदा दाउरासँगै बगे । पर्सामा १४ वर्षीय अनुप पटेल, पाँच वर्षका अकलेश ठाकुर, बाराका ५ वर्षीय विकी यादव र १० वर्षका अजित शाहको पनि नाला, खोला र खाल्डोमा जमेको पानीमा डुबेर ज्यान गएको हो ।  
 
सिन्धुलीमा १० वर्षका सविता पौडेल र एक वर्षका श्रवण कपारी, काभ्रेका ७ वर्षीय सुहाबी दङ्गाल, काठमाडौँ मुलपानीमा १२ वर्षका कुन्दन यादव र ११ वर्षका सुरज जिम्बाको विपद्का बेला ज्यान गयो । ललितपुरका सन्दीप ल्हो, मकवानपुरका १४ वर्षीया सन्तमाया बलामी, १४ वर्षकी सृष्टी डिमडुङ, धादिङका आठ वर्षीय भक्तसिंह बैजालीको समेत मृत्यु भएको केन्द्रले जनाएको छ ।