मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नयाँवर्षको अवसरमा दन्त चिकित्सासम्बन्धी सेमिनार

नयाँवर्षको अवसरमा दन्त चिकित्सासम्बन्धी सेमिनार


नयाँवर्षको सुरूवातसँगै साइराम डेन्टल केयरले दुईदिने दन्त चिकित्सासम्बन्धी सेमिनार पर्यटकीय नगरी सौराहामा सम्पन्न गरेको छ । 
 
सेमिनारमा नेपालका तर्फबाट विगत १८ वर्षदेखि दन्त चिकित्सा क्षेत्रमा काम गर्दै आएका नेपाल चिकित्सक संघ झापा शाखाका अध्यक्ष डा फरवार्ड सिलवाल, बंगलादेशका चर्चित म्याग्जिलोफेसिअल सर्जन डा शहीद अतिकुर रहमन र चितवन मेडिकल कलेजमा फ्याकल्टीको रुपमा कार्यरत प्रोस्थोडोन्टिक्स डा स्मृतिनारायण ठाकुरले सेमिनारका विषयवस्तुमा आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए । 
 
देशभरका ८० जना दन्त चिकित्सकको सहभागिता रहेको सो सेमिनारमा पहिलो दिन दाँतको जरैदेखि उपचार गर्ने पद्दति र दोस्रो दिन दन्त प्रत्यारोपणबारे नौलो विधिबारे प्रशिक्षण गरिएको थियो । 
 
सेमिनार साईराम डेन्टल केयरकी सञ्चालक डा सरिता थापा न्यौपानेको अध्यक्षतामा भएको थियो । डा न्यौपानेले नेपालमा छरिएर रहेका दन्त चिकित्सकहरुलाई एकीकृत गरी दन्त रोगसम्बन्धी निःशुल्क तालिम दिइनुका साथै नयाँवर्ष रमाइलो ढंगले बिताउने उद्देश्यले सेमिनार आयोजना गरिएको बताइन् । 
 
सो अवसरमा रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा कन्सल्टेन्ट डेन्टल सर्जन डा अजय न्यौपानेले यस्तो सेमिनार दन्त चिकित्सकहरुलाई अपरिहार्य रहेको बताउँदै चिकित्सककै सुविधाका लागि साईराम डेन्टलले निःशुल्करुपमा सेमिनार आयोजना गरेको उल्लेख गरे । सो डेन्टलले यसअघि पनि दुईवटा सेमिनार निःशुल्करुपमा आयोजना गरिसकेको छ । 
 
डा अजय न्यौपानेले सेमिनारमा सिकेको ज्ञानबाट सर्वसुलभ दरमा गुणस्तरीय दन्त सेवा प्रदान गर्न र बिरामीहरुलाई उत्कृष्ट दन्त सेवा लिन काठमाडौँ नै जानुपर्ने बाध्यता टर्ने विश्वास व्यक्त गरे । 
उनले मध्यम तथा निम्न आयस्तर हुने बिरामीहरुको पनि दन्त प्रत्यारोपण प्रविधिका कारण सेवामा सहज, सरल र सुलभ पहुँच पुग्ने बताए ।