मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१४ वर्षे उमेरमा घर छोडेर हिड्ने स्वाभिमानी शेर्पाको जीवनकथा

१४ वर्षे उमेरमा घर छोडेर हिड्ने स्वाभिमानी शेर्पाको जीवनकथा


(जीवन अचम्मको छ । साधारण लाग्छ हेर्दा । तर बुझ्दै जाँदा यो गहिरो र रहस्यमयी  लाग्छ । सामान्य लाग्ने मानिसका पनि जीवनमा अनेक असमान्य घटना घट्छन् । कुनैबेला कसैको जीवनका ती अनुभवहरू अरुकालागि उदाहरण र प्रेरणा श्रोत बन्न सक्छन् । मानिसको जीवन त एउटै हुन्छ तर त्यहाँ धेरै मोडहरू पार गर्नु पर्ने हुन्छ । जीवनभित्र संघर्षका कथाहरू हुन्छन् । खुशी र उन्मादका क्षणहरु आउँछन् । आफूले कल्पनै नगरेका सफलताका मोडहरू फेला पर्छन् । यिनै सेरोफेरोमा हामीले, प्रवासमा बसेर समयसँग कुस्ती खेल्दै जीवनको यात्रालाई डोर्याइरहेका नेपालीहरूको खुशी अनि कथा व्यथा प्रस्तुत गर्ने  यो  स्तम्भ प्रारम्भ गरेका हौ  – सम्पादक )
 
सोलुखुम्बुको गार्मा गाउँमा सन् १९५९ मा जन्मिएको एउटा ठिटो १४ वर्ष पुगेको मात्र थियो , उसभित्र पन्पिरहेको स्वाभिमान र स्वतन्त्रताको हुटहुटीले घर छोडेर काठमाण्डु हानियो । आफ्नै बलबुतामा केही गर्छु भन्ने आत्मविश्वास उभित्र थियो । संभ्रान्त परिवारको छोरो तर उसलाई त्यस्को चमकले शायद छोएन । काठमाण्डुकि एउटी साहुनीकोमा काम गर्न थाल्यो । त्यो ठूलो शहरमा चिनेको कोही थिएनन् , तर त्यो ठिटोभित्र लुकेको उर्बर शक्तिले उसलाई संघर्ष गर्न उत्प्रेरित गर्यो । 
उसले कहिल्यै हार्न जानेन । उसले आफ्नो संघर्षपूर्ण यात्रालाई निरन्तरता दिरह्यो । १४ वर्षकै कलिलो उमेरमा घर छोडेर हिडेको त्यो ठिटो अहिले अमेरिकाको सहकारी आन्दोलनसंग जोडिएर  उपल्लो तहमा व्यवस्थापन गर्न सक्षम भएकोछ । त्यतिमै सीमित छैन उसको कर्म , मानवीय समवेदना र सामाजिक दायित्वप्रति उसको निरन्तर यात्रा जारी छ । यो कुनै फिल्मी कथा हैन , एउटा जिवन्त नेपालीको जीवन यात्रा हो । यहाँसम्म आइपुग्न उसले अनेकौं मोडहरू पार गर्यो , तीतामीठा पलहरुसंग मितेरी लगायो । यतिबेला उ आफ्नो स्वाभिमान बोकेर बाँचेको छ । निर्धक्क बोल्छ , उसलाई कुरा चपाउनेहरु मन पर्दैन । 
 
त्यो स्वाभिमानी नेपाली छेवाङ्ग शेर्पा लामासंग यो पंक्तिकारले लामो अन्तरङ्ग गफ गर्यो । उनको जीवन यात्राका आरोह अवरोहलाई नजिकबाट बुझ्ने प्रयास गर्यो । त्यसैको सेरोफेरोमा उनको जीवन यात्राको केही सन्दर्भलाई पस्किने एउटा जमर्को हो यो आलेख । 
 
सोलुदेखि लण्डनसम्म 
बुबा आङबाबु लामा र आमा आङफुर्वा लामाका कान्छो छोरा छेवाङ स्यानैदेखि चकचके मात्र हैन जोदाहा स्वभावका थिए । स्वतन्त्र जीवन रुचाउँथे । त्यही स्वभावले उनलाई घर छोडेर एक्लै काठमाण्डु पुर्यायो । पढ्न उनलाई निक्कै चाख लाग्थ्यो । उनले जुध्दोदय हाइस्कुलमा दश कक्षासम्म पढे । तर एसएलसी भने साथीहरुको लहलहैमा लागेर दिक्तेलबाट दिए । जेहेन्दार थिए छेवाङ, एसएलसी प्रथम श्रेणीमा पास गरे । बुवा गाउँको हर्ताकर्ता ,पंचायतकालमा २१ वर्ष प्रधानपंच र दुई कार्यकाल सोलुखुम्बु जिल्ला सभापति भएकोले अर्कै रवाफ थियो । उहाँको मान प्रतिष्ठालाई सबैले सम्मान गर्थे । परिवार सम्भ्रान्त हुनाले पढाइ लेखाईमा प्रोत्साहन हुन्थ्यो । छेवाङलाई हवाइजहाज उडाउने इच्छा हुंदाहुंदै बुवाको चाहना अनुसार शिक्षक बन्न उनले बीएड गरे त्रिविबाट । 
 
उनी पढ्नमा अब्बल थिए । बीएड सकेर एकवर्ष किर्तिपुरमा अध्यापन गरे । त्यहीबेला छेवाङलाई भाग्यले इङल्याण्ड पुर्यायो । एउटा होटलमा काम गर्न उनी त्यहाँ पुगेका थिए । त्यतिबेला नेपालमा डण्डिवियो खुबै खेलिन्थ्यो । त्यही खेलको प्रशिक्षकको रुपमा उनले इङ्ल्याण्डको स्थायी बासिन्दा हुने सौभाग्य पाए । उनको अझै अघाडि पढ्ने चाहनालाई त्यसले ठूलो टेवा दियो । इङल्याण्डको University of Manchester, UK मा MBA गर्न भर्ना भए । होस्टलमा, संयोगले त्यतिबेला नेपाल पुलिसका आइजी खड्गजीत बरालका नातेदार रुम पार्टनर थिए । उनै रुम पार्टनरको माध्यमबाट आइजी बरालसंग उनको सम्बन्ध बाक्लियो ।
MBA सकिएपछि उनी नेपाल फर्किए ।  शेर्पा युवक छेवाङको खरो र इमान्दार स्वभाव देखेका आइजी बरालले उनलाई पुलिस इन्स्पेक्टर पदमा नियुक्ति दिए । तर त्यो नियुक्तिले उनलाई आकर्षित गर्न सकेन । छेवाङ फेरि फर्किए इङल्याण्ड । 
 
त्यसपछि अमेरिका …. 
लण्डनमा हुँदा छेवाङ शेर्पाको भेट सर अल्ट्रेड ग्रेगरीसंग भयो । ग्रेगरी नेसनल जोग्राफिक च्यानलका अफिसियल फोटोग्राफर थिए , जस्ले तेन्जिङ शेर्पा र हिलारीले सगरमाथा आरोहरण गरेको तस्वीरहरु खिचेका थिए । उनीहरुको मित्रता कसिदै थियो , ग्रेगरीले छेवाङलाई अमेरिका जाने सल्लाह दिए । शुरुमा त निक्कै आनाकानी गरे छेवाङले । तर उनको पाइलट बन्ने उत्कट इच्छाले अमेरिका जानै पर्ने बनायो । सर अल्ट्रेड कै खर्च र सहयोगमा छेवाङ सन् १९८२ मइ २८ मा न्युयोर्क शहर उत्रिए । त्यहाँ उनका मामा बस्थे । मामासंगै लागेर पाइलट ट्रेनिङतिर बरालिए । तर छेवाङको जीवनमा पाइलट बन्ने भाग्य थिएन , उनको जीवनको मोड अरुतिरै लाग्यो । 
 
एकदिन Washington Times पढ्दै गर्दा उनको आँखा एउटा विज्ञापनमा पुगेछ । अमेरिकाको एउटा Anthropology Research Group  लाई नेपालको राजनीतिक ,भौगोलिक र सांस्कृतिक अध्ययन गर्नकोलागि एमए गरेको नेपाली चाहिएको रहेछ । शेर्पा ,नेपाली र अङ्रेजी बोल्न र लेख्न सक्ने उम्मेद्वार मागेको थियो , सबै योग्यतामा छेवाङ खरो उत्रिए । एकवर्षको करारमा उनले त्यो काम राम्ररी  भ्याए । त्यहीबेला उनले ग्रीनकार्डकोलागि आवेदन गरे , सन् १९८२ डिसेम्बरमा उनको हातमा स्थायी बसोबासको हरियो कार्ड आइपुग्यो । 
अब छेवाङको स्थायी अमेरिकी यात्रा शुरु भएको थियो । त्यो यात्रामा उनी अहिलेसम्म अविचलित लागेका छन् । सन् १९८२ देखि १९९१ सम्म न्युयोर्कको सोहोस्थित होल फुड मार्केटमा स्टोर म्यानेजर भएर काम गरे । उनको लगन र इमान्दारीले छेवाङलाई त्यसपछि पाँच वर्ष Healthy Pleasures Market ,University place , NY मा Director of Operation बनायो । 
 
उनको यात्रा यतिमै कहाँ थामिन्थ्यो ! सन् २०१४ देखि छेवाङ कोलोराडो पुगेका छन् । त्यहाँ उनले एकवर्ष फोर्ट कोलिन्स फुड कोअपरेटिभमा जेनरल म्यानेजर भएर काम गरे । त्यस्तै कोलोराडोको डुराङ्गो स्थित डुराङ्गो नेसनल फुड  कोअपरेटिभमा उनले जनरल म्यानेजरको पद सम्हाले । अहिले उनी यही सहकारीमा सल्लाहकारको हैसियतमा सक्रिय छन् । 
 
छेवाङले जहाँजहाँ काम गरे त्यहाँको घाटा व्यापारलाई नाफामा पुर्याए । सहकारी बजार सम्बन्धी ज्ञान र अनुभवले उनलाई अमेरिकी सहकारी क्षेत्रमा स्थापित गराएको छ । उनले FLC ,USA बाट Master’s In Co-operative Management गरेका छन् । 
 
अहिले शेर्पा दम्पति कोलोराडोको विन्डसरमा शान्त जीवन विताइरहेका छन् । आफ्ना पिता आङबाबु लामाको ससम्मान हेरचाह गर्छन् । अर्ग्यानिक फुडका पारखी छेवाङको जीवनशैली पनि अर्ग्यानिक नै छ । 
 
त्यो आँखाले लठ्ठै पार्यो 
तपाँई अहिले पनि रोमान्टिक देखिनु हुन्छ । गीतसंगीतको पारखी हुनुहुन्छ, विवाह त पक्कै प्रेमविवाह होला नि ? -मेरो यस्तो प्रश्नमा छेवाङ शेर्पा लामाको रमाइलो जवाफ आयो ।
 
" एकतर्फी प्रेम । अमेरिकाबाट छुट्टीमा सोलुखुम्बु पुगेँ । एकदिन फोटो एल्बम हेर्दै गर्दा एउटी १६ वर्षे तरुनीको फोटोमा मेरो आँखा अडियो । उनको आँखा हेरिरहें । म त लठ्ठ परेछु । घर पुगेर बुवा आमालाई भने । उहाँहरुले चिनेको रैछ । राम्रो परिवार छानिछस् , विवाह गर भन्नु भयो ।" 
 
फोटो हेरेपछि ती लोभ्याउने आँखा नहेरी मन मानेन । खोज्दै सोलु पुगेँ । १५ मिनेट उनलाई हेरेपछि अन्तरमनमा सहनाई बज्न थाल्यो । त्यसपछि घर पुगेर आमाबुवालाई बिन्ती बिसाएको हुँ । -छेवाङले एकतर्फी प्रेमको बेलिबिस्तार सुनाए । 
 
सन् १९८६ मा त्यही लोभ्याउने आँखावाली सुन्दरी आङफुर्वासंग छेवाङको लगन गाँठो बाँधियो । 
शेर्पा दम्पतिका दुई छोरा र एक छोरी छन् । तीनैजना हुर्कीसके । ठूलो छोरा  डाक्टर तेन्जिङ शेर्पा लामा सेन्ट जर्ज मेडिकल कलेजमा कार्यरत छन् । छोरी सलिना माया शेर्पा लामा बिङह्याम्टन विश्वविध्यालयमा अध्ययन गर्दैछिन् । अर्को छोरा साङ्गे शेर्पा लामा बरुख कलेजमा एकाउन्टिङ सकेर अहिले कानुनको डिग्री समातेका छन् । 
 
छेवाङलाई आफ्नी श्रीमति आङफुर्वा लामा संसारकै सबैभन्दा सुन्दरी लाग्छ । असाध्यै माया गर्छन् फुर्वालाई । उनका फेसबुक स्टाटस प्राय श्रीमति फुर्वाकै सेरोफेरोमा लेखिएका हुन्छन् । 
छेवाङ भन्छन् – अहिले पनि उनको आँखाले मलाई लोभ्याउँछ , अरुतिर आँखै जादैन । 
 
सामाजिक अभियन्ता 
छेवाङ शेर्पा लामाको मन निक्कै कमलो छ । असहाय ,गरीब र अशक्तप्रति उनमा दयाभाव मात्र हैन सहयोगी व्यवहार पनि उत्तिकै छ । अहिले पनि नेपाालका ११ जना गरीब विध्यार्थी छेवाङको सहयोगमा शिक्षा हासिल गर्दैछन् । आफ्नो गाउँको गुम्बाका एकजना भिक्षुलाई आर्थिक सहयोग गर्दैछन् उनी । भाग्यले ठगिएका र समाजले लत्याएका असहाय र  अपाङ्गहरुको सेवा आफ्नो सामाजिक दायित्व ठान्ने छेवाङ Sherpa Lama Family Charity मार्फत सामाजिक कार्यमा सक्रिय छन् । 
 
अमेरिकामा जन्मिएका नेपाली संस्थाप्रति माया गर्छन् तर त्यहाँभित्र हुने विवाद र छिनाझप्टी देख्दा छेवाङलाई विरक्त लाग्छ । 
 
न्युयोर्कमा जनसंपर्क समितिको अफिसकालागि उनले सहयोग गरे । एनआरएन अभियानमा उनको सक्रिय सहभागिता र सहयोग रह्यो । एशोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए) -मा छेवाङ सदैब सहयोगी बने । एक कार्यकाल त्यसको अध्यक्ष भएर काम गरे । अमेरिकामा रहेको शेर्पा एशोसिएसन अफ नेपालको उनी ट्रस्टी हुन् । यी बाहेक अरु धेरै गैर नाफामुलक संस्थासंग उनी आवध्द छन् । 
छेवाङको गुनासो छ – अमेरिकामा खुलेका धेरै नेपाली संस्थाहरु प्रोडक्टिभ छैनन् । 
 
असल मानिस र संस्थालाई सहयोग गर्न म जहिले पनि तयार छु – उनले यसो भन्दै गर्दा छेवाङ भित्रको सामाजिक भाव प्रष्ट झल्किन्थ्यो । 
 
अमेरिकी नेपाली समुदायकालागि छेवाङले गरेको योगदानको कदर धेरैतिरबाट भएको छ । नागरिक एवम् सांस्कृतिक उत्थानमा सहयोग पुर्याए वापत उनी सम्मानित भएका छन् । अमेरिकामा रहेका विभिन्न समुदायको सांस्कॢतिक एवम् नागरिक उत्थानकोलागि महत्वपुर्ण योगदान गरेवापत AAC,USA ले सन् २००९ मा उनलाई Hall of Fame Award पुरष्कॢत गरेको थियो । त्यसैगरी सन् २००३ मा छेवाङ New York City Comptroller द्वारा Distinguished leadership in Nepalese American Community  सम्मान प्राप्त गरेका थिए । 
 
गीत बेचेर कोठाभाडा तिर्ने गीतकार 
छेवाङलाई गीत संगीतमा स्यानैदेखि लगाव थियो । काठमाण्डु बस्न थालेपछि कवि गोष्ठीहरुमा भाग लिन थाले । राम्रा  कविता र गीतहरु लेख्न थाले । त्यतिबेला औंलामा गन्न सकिने थिए कविहरु । नाम चलेका कतिपय गीतकार कविहरुलाई छेवाङले आफ्नो रचना बेचेका छन् । डेराभाडा तिर्ने पैसा हुदैनथ्यो , गीत बेचेर त्यो गर्जो टार्थे । 
 
मैले जान्न चाहेँ छेवाङका रचना किन्ने नाम चलेका गीतकार । तर उनले बताउन चाहेनन् । 
 
छेवाङ गीतमात्र लेख्दैनन् नाटक पनि खेल्छन् । सन् १९७६ मा प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको नाटक प्रतियोगितामा उनले उत्कॢष्ट अभिनयको पुरस्कर पाएका थिए । त्यसमा नायिका चर्चित कलाकार सुशीला रायमाझी थिइन् । 
उनको गीति यात्रा अझै जारी छ । अहिलेसम्म छेवाङका सात गीति एल्बम निस्किसकेका छन् । शम्भुजीत बाँस्कोटा , न्यू बज्राचार्य र शक्तिबल्लभ जस्ता सांगितिक हस्तीहरुको संगीतमा रामकॢष्ण ढकाल , आनी छोयङ र सुकमीत गुरुङ लगायत गायक गायिकाले स्वर दिएका छन् । 
 
यी एल्बमको बिक्रीबाट उठेको पैसा नेपालमा अपाङ्ग बालबालिकाको शिक्षामा खर्च गर्छन् छेवाङ । संगीतको माध्यमबाट मानवता प्रवर्ध्दन गरेकोमा सन् २०१२ मा बौध्द धर्मगुरु दलाई लामाले छेवाङको हार्दिक प्रशंसा गरेका थिए । 
 
घमण्डी तर स्वाभिमानी 
धेरैले मलाई घमण्डी भन्छन् । तर म स्वाभिमानी चैं हुँ । गलत कुराको म खुलेरै विरोध गर्छु । मलाई लोलोपोतो गर्न आउँदैन । शायद त्यसैले  केही मानिसको सोचाइमा म घमण्डी लाग्दो हो – छेवाङले आफ्नो कुरा यसरी स्पष्ट पारे । 
 
उनी बौध्द धर्मका अनुयायी हुन् । तर उनमा धार्मिक कट्टरता देखिदैन । सबै धर्मको सम्मान गर्छन् छेवाङ । मानवता नै धर्मको मूल आधार मान्छन् उनी । यस अर्थमा छेवाङ व्यवहारवादी धार्मिक हुन् । 
उनको नेपाल प्रेम उनका गीतहरुमा झल्किन्छ , कविताहरुले मानवता बोल्छ । भविष्य अनिश्चित ठान्छन् छेवाङ । त्यसैले भविष्यमा नेपालनै बसेर केही गर्नुपर्ला भन्ने दिशाबोध पाएका छैनन् । तर उनको भित्री चाहना भने नेपालका असहाय र गरीबहरुलाई सहयोग र सेवा दिनेछ । 
 
छेवाङ आफूलाई राजनीतिमा अराजकतावादी भन्छन् । आफ्नो अधिकार र स्वतन्त्रताको भरपूर उपयोग गर्दै आफ्नै बलबुतामा स्वउत्थान गर्ने उनको सोच हो । सरकारमा भरोसा नगर्ने , आश्रित नहुने उनको विचार आफैंमा स्वाभिमानी मान्नुपर्छ । 
 
नेपालकोलागि सहकारी आन्दोलन प्रमुख आवश्यक्ता ठान्छन् उनी । छेवाङ भन्छन् – नेपालको कर्मचारीतन्त्र र राजनीतिक नेताहरुको कमजोरी नै विकासको वाधक हुन् ।