मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

छोरीले गरिन् आमाको किरिया

छोरीले गरिन् आमाको किरिया


रोल्पा । छोराले मात्र बुबाआमालाई दागबत्ती दिने र किरिया बस्नु पर्छ भन्ने परम्पराको अन्त्य गर्दै रोल्पाकी एक महिलाले आमाको किरिया बसेकी छन् । ६४ वर्षको उमेरमा आमा दिलसरी घर्तीको मृत्यु भएपछि माडीगाउँपालिका–३ तालवाङकी २२ वर्षीया लक्ष्मी घर्ती मृतक आमाको किरियामा बसेकी छिन् । 
 
“आमालाई दागबत्ती दिनाका साथै किरिया बस्न पाउँदा छोरीको भूमिका निर्वाह गरेजस्तो लागेको छ,” घर्तीले भने । परिवारमा दाजुभाइ नभएकाले पनि आमाको इच्छाअनुसार किरिया बसेकी घर्तीले बताइन् । 
“परिवारमा बिरामी अवस्थामा वृद्ध बुबामात्रै हुनुहुन्छ,” घर्तीले भनिन् । हिन्दू संस्कारअनुसार आमाको काजक्रिया गर्नेसमेत घर्तीले जानकारी दिइन् । 
 
“समय परिस्थिति बदलिँदै जाँदा छोरीले पनि छोरासरह मृतक बुबाआमाको काजक्रिया गर्नु सकारात्मक पक्ष हो,” समाजसेवी कृष्णबहादुर घर्तीमगरले भने, “बुबाआमाको पालनपोषण र अन्तिम संस्कारमा छोरीको सहभागिताले सांस्कृतिक परिवर्तन गरेको छ ।” 
 
घर्ती परिवार तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा २०६२ सालदेखि सदरमुकाम लिबाङ बस्दै आएको थियो । द्वन्द्वका कारण विद्यालय जान नपाएकी घर्तीले बिरामी बुबाआमाको उपचार तथा रेखदेख गर्दै आएकी थिइन् । आमाको शनिबार मृत्यु भएको हो । रोल्पामा छोराले मात्र मृतक बुबाआमाको दागबत्ती र किरिया बस्नुपर्छ भन्ने परम्पराको बिस्तारै अन्त्य हुँदै जान थालेको छ । 
 
जिल्लामा पछिल्लो पटक छोरीले पनि दागबत्ती र किरिया बस्न थालेपछि यो प्रथाको बिस्तारै अन्त्य हुन थालेको हो । विगतको समयमा छोरा नभएकाले पैसा दिएर वा नजिकैको नाता पर्ने कुनै छोरा मान्छेलाई किरिया बसाल्ने परम्परा रहँदै आएको थियो ।