मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएन अमेरिकामा उम्मेदवार बन्ने होडबाजी

एनआरएन अमेरिकामा उम्मेदवार बन्ने होडबाजी


एनआरएन अमेरिकाको आगामी नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने लहरनै चलेको छ । निर्वाचन कहिले हुन्छ दिन किटान भएको छैन । तर, उम्मेदवारका विभिन्न अनावश्यक तामझामहरु देखिएका छन् । सामाजिक सञ्जालहरूमा विभिन्न पदमा विभिन्न उम्मेदवार आईरहेका छन् । यो एनआरएन अमेरिका संस्था प्रति आकर्षण हो या लै लैमा उम्मेदवारी घोषणा ? प्रश्नहरू उठेका छन् । यो अवस्था एनआरएन अमेरिकामा मात्र होइन च्याप्टरमा समेत देखिन थालेको छ ।
 
कुनै पनि संस्थालाई निर्वाचनले जीवन्त बनाउँछ । यो सबैभन्दा प्रजातान्त्रिक अभ्यास पनि हो । तर, एनआरएन अमेरिकाको हकमा प्रतिस्पर्धाको नतिजा त्यत्ति उज्यालो छैन । चार वर्ष अघि अध्यक्षपदमा पराजित हुनेहरू निर्वाचन प्रकृयालाई स्विकार्न सकेनन् । अदालतमा गए । उनीहरू अदालतमा मात्र गएनन त्यसवेला निर्वाचनमा प्रतिस्पर्धा गरेका कयौँ उम्मेदवार एनआरएन अमेरिकामा पुन सक्रिय देखिएनन् । पछिल्लो निर्वाचनमा पनि पराजित उम्मेदवार फेरी चुनावको वैधानिकतालाई चुनौती दिदैं अदालत गए । यो मुद्दा अझै टुंगो लागिसेको छैन । त्यसवेला पराजित उम्मेदवार मध्ये कयौँ निष्कृय रहे । एनआरएन अमेरिकाको चुनावी लफडाको असर काठमाडौँमा एनआरएनएको भेलामा समेत पर्‍यो ।
 
एनआरएन संघ एउटा अभियानको रूपमा जन्मेको हो । विदेशमा बस्ने नेपालीहरूको सङ्ख्या बढ्ने क्रमसँगै प्रवासमा रहने नेपालीका विभिन्न एजेन्डा उठाउनका लागि एनआरएनए अभियान सुरु भएको थियो । अहिले करिब ५० लाख नेपाली विदेशमा रहेको अनुमान छ । यी विदेशमा बस्ने नेपालीका थुप्रै मुद्दाहरू छन् । विदेशमा बस्ने नेपालीको पक्षमा सरकार र सरोकारवालाहरूसँग कुरा राख्न, दबाब दिन नै एनआएन अभियान अगाडी आएको हो । यो अभियान जारी छ ।
 
एनआरएन अभियानका मुद्दाहरू विदेशमा बस्ने सबै नेपालीका प्राय साझा मुद्दाहरू हुन् । नेपाली नागरिकताको निरन्तरता देखि नेपालमा लगानी प्रवद्र्धनसम्मका एजेण्डाहरु यहाँ जोडिएका छन् । एनआरएन अभियान यी एजेण्डामा मात्र सीमित छैन । यो अभियानले विदेशमा बस्ने नेपाली पनि सञ्जाल विस्तार पनि गरिरहेको छ । यसले विदेशमा बस्ने नेपालीलाई ज्ञान र सिप विस्तार गर्न सहयोग पुगेको छ । त्यसैले एनआरएन अभियान जति बढी मबजुत भयो त्यत्ती प्रवासमा बस्ने नेपालीका एजेण्डाहरु सुन्न सरकार र सरोकारवालाहरु बाध्य हुन्छन् । विदेशमा बस्ने समुदाय फुटेर होइन जुटेर मात्र यो सम्भव छ ।
 
स्थायी रूपमा विदेशमा बस्ने नेपालीको सङ्ख्या बढी भएको देश अमेरिका हो । यहाँ नेपाली समुदाय ठुलो भए पनि एनआरएन अमेरिकाको प्रभाव भने यो अभियानमा कम छ । विदेशमा बस्ने नेपालीका मुद्दा सरोकारवाला समक्ष प्रभावकारी रूपमा राख्न पनि अमेरिका बस्ने नेपाली अझ जुट्नुपर्ने अवस्था छ । तर, यहाँ यसका लागि उपयुक्त वातावरण तयार भएको छैन । आफ्नै संस्था गएगुज्रेको बनाउने नेपाली राजनीतिक पार्टीका भातृसंगठन भन्ने संस्थाका कार्यकर्ता बताउनेहरूले चुनावमा यो पक्षलाई जिताउनु पर्छ यसलाई हराउनु पर्छ भनेर समेत लागेका छन् । 
 
आफूलाई नेपाली राजनीतिक पार्टीका कार्यकर्ता भन्नेहरूले आफू निकट पार्टीलाई राम्रो सल्लाह दिए त्यो देश र नेपाली जनताको हितमा हुन्छ । स्वदेश वा विदेशमा बस्ने नेपाली जनताले राजनीतिक पार्टीलाई सुधारका लागि दबाब दिने कोही होस भन्ने चाहेका पनि छन् । सकिन्छ भने त्यहाँ केही गरौँ । एनआरएन अभियानमा सरकार र राजनीतिक पार्टीलाई दबाब दिन सक्ने व्यक्तिको खाँचो छ, विशुद्ध राजनीतिक कार्यकर्ताको होइन ।
 
म नै नेतृत्वमा जानु पर्छ भन्दा पनि सबैलाई समेटेर कसरी एनआरएन अमेरिकालाई मबजुत बनाउने यो अहिलेको मुख्य चुनौती हो । त्यसैले हामी सकेसम्म धेरै भन्दा धेरै उम्मेदवार हुने भन्दा पनि मिलेर जान सक्ने वातावरणका लागि पहल गर्न एनआरएनका शुभचिन्तक र जिम्मेवारव्यक्तिहरुलाई अनुरोध गर्छौ । दुई दुई वर्षमा हुने निर्वाचनमा पालो पर्खिदापनि फरक पर्दैन । एनआरएन अमेरिकालाई मजबुत र विवादरहित बनाउनका लागि आफू नेतृत्वमा जानुपर्छ भने हठ त्याग्नु सक्नुपर्छ । नेतृत्वभन्दा बाहिर वसेरपनि संस्थालाई मजबुत बनाउन सकिन्छ । नेतृत्व लिन चाहनेलेपनि सबैलाई समेटेर लैजान सक्छु भन्ने आँट र इमान्दारिता देखाउन सक्नु पर्छ । तवमात्र एनआरएन अमेरिका मजबुत हुन्छ ।