मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक जोशीले गरे ५० लाखको जग्गादान

एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक जोशीले गरे ५० लाखको जग्गादान


चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं १४ स्थित नवनिर्मित वडा कार्यालयको शुक्रबार एक समारोहबीच उद्घाटन भएको छ । कूल २ कठ्ठा १० धुर क्षेत्रफलमा निर्मित वडा कार्यालयको प्रदेशसभा सांसद् कृष्णप्रसाद खनालले उद्घाटन गरेका हुन् ।
 
नेपालमा चितवनको रत्ननगर घर भई हाल अमेरिकाको टेक्सस राज्यमा आईटी व्यवसाय गरिरहेका समाजसेवी गौरीराज जोशीले ५० लाख मूल्य बराबरको २२ धुर जग्गा उपलब्ध गराएका हुन् भने बाँकी जग्गा व्यवसायी गुणचन्द्र विष्ट र दिनेशकुमार चुकेले सहयोग गरेको वडाध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए । 
 
जोशी एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक पनि हुन् । समाजसेवी एवम् युवा व्यवसायी जोशीले चितवनका विभिन्न सामाजिक संघसंस्था,एम्बुलेन्स, मठमन्दिर तथा विद्यालयहरुमा आर्थिक सहयोग गरिसकेका छन् । यसअघि उनले रत्ननगरको हरिहर मन्दिरमा रहेको गायत्री वेद वेदाङ्ग गुरुकूलका लागि ५० लाख रुपैयाँ सहयोग गरेका थिए । 
 
देशविदेशमा धन भएका धेरै मानिस छन् । तर, सामाजिक क्षेत्रमा सहयोग गर्न मन पनि हुनुपर्छ । धन र मन दुवै भएका सहृदयी व्यक्तित्व हुन् जोशी । उनले विभिन्न व्यवसायबाट आर्जित आम्दानी सामाजिक कार्यमा पनि खर्च गर्दै आएका छन् । यसैको निरन्तरता हो  वडा कार्यालय भवन निर्माणका लागि जग्गादान । 
 
गौरी जोशी जस्तै दानवीरहरुको सहयोग र सद्भावबाट वडा कार्यालय निर्माण गर्न सकेको भन्दै वडाध्यक्ष श्रेष्ठले आभार प्रकट गरेका छन् । उनले भने– ‘परोपकार र समाजसेवामा लागेका जोशी समाजका लागि एक सत्पात्र हुनुहुन्छ । समाजमा यस्तै दाताहरुकै सहयोगबाट अरुलाई प्रेरणा पनि जाग्छ ।’  
 
वडा कार्यालय निर्माणका लागि रत्ननगर नगरपालिकाको ३४ लाख, वडा कार्यालयको १० लाख, अन्य दाताबाट २२ लाख आर्थिक सहयोग संकलन गरी भवन निर्माण गरिएको उनले बताए । 
 
त्यस्तै, वडा कार्यालय निर्माणका लागि पिठुवामा रहेको एसवाई प्यालन नेपालले पनि १० लाख रूपैयाँबराबरको सामग्रीसमेत सहयोग गरेको थियो ।
 
दुईतले सो भवनमा एउटा सभाहलसहित ८ वटा कोठा रहेको भवन निर्माण समितिकी संयोजक विष्णु भण्डारी कट्टेलले जानकारी दिइन् ।
 
कार्यक्रममा जग्गादाताहरु गौरीराज जोशी, गुणचन्द्र विष्ट, दिनेशकुमार चुके, आर्थिक सहयोग गर्ने केदारप्रसाद अधिकारी, समुद्र खड्का, वासुदेव सापकोटा, केशव अर्याल, राजकुमार न्यौपाने, राजुध्वज सिलवाल, एसवाई प्यानल, कोसान नेपाल, वृद्धि अधिकारी र भवन निर्माण समितिकी संयोजक कट्टेललगायत सदस्यहरुलाई कदरपत्रसहित विशेष सम्मान गरिएको थियो ।
 
कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटी, रत्ननगर नगरपालिकाका मेयर नारायण वन,  वडा नं ७ का वडा अध्यक्ष राजन भट्ट, साविक पिठुवा गाविसका पूर्वअध्यक्ष चन्द्रकान्त न्यौपाने, नेकपाका प्रतिनिधि वासुदेव लामिछाने, व्यवसायी गुणचन्द्र विष्ट, एसवाई प्यानल नेपालका म्यानेजर देवेन्द्र सम्बाहाम्फेलगायतले मन्तव्य राखेका थिए भने कार्यक्रम वडाध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
 
कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका सांसद् खनालले प्रदेश सरकारले चितवनको विकासलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताए । उनले अबको केही दिनमा विनियोजित बजेटबाट काम सुरू हुने जानकारी दिए ।