मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

प्रत्यक्ष वैदेशिक लगानी : नेपाल पैसा भित्र्याउने चक्रको खुलासा

प्रत्यक्ष वैदेशिक लगानी : नेपाल पैसा भित्र्याउने चक्रको खुलासा


Print Friendly, PDF & Email

नेपालमा व्यवसाय गर्ने, गैरकानूनी आर्जन विदेश पु¥याउने, विदेशमा कम्पनी खोली त्यसैमार्फत नेपालमा विदेशी लगानी भित्र्याउने चक्रमा वीरेन्द्र महतो, उपेन्द्र महतो, निरजगोविन्द श्रेष्ठ र अजय सुमार्गीको संलग्नताको खुलासा ।

खोज पत्रकारिता केन्द्र 

खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) ले सन् २०१७ मा गरेको पनामा ‘लिक्स’ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोसहित सात जना नेपालीले ट्याक्स हेवन मुलुकहरूमा लगानी गरेको तथ्य सार्वजनिक गरेको थियो । त्यसपछि हामीले आईसीआईजेसँग नेपालसँग सम्बन्धित विवरण मागेर अनुसन्धान गर्न थालेपछि खोज पत्रकारिता केन्द्र नेपाल (सीआईजे) को आईसीआईजेसँग औपचारिक सहकार्य शुरू भयो ।

आईसीआईजे, ऊसँग सम्बन्धित विभिन्न देशका खोज पत्रकारहरूको अनुसन्धान, उनीहरूका कागजात र त्यससँग सम्बन्धित नेपालका सरकारी निकायका कागजातहरूको अध्ययन पछि केही रोचक विवरणहरू भेटिएका छन् । प्राप्त विवरण अनुसार, नेपालमा कर छल्ने वा कुनै गैरकानूनी ढंगले कमाइएको रकम सम्पत्तिको स्रोतमा निगरानी नराख्ने र कर छल्नका लागि सुरक्षित स्थान मानिने ‘ट्याक्स हेवन’ मुलुक पु¥याउने र प्रत्यक्ष वैदेशिक लगानी भन्दै पुनः नेपालमै भित्र्याउने गरेको भेटिएको छ ।

संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य र पूर्व सांसद् वीरेन्द्र महतो, उनका दाजु उपेन्द्र, गैरआवासीय नेपाली निरजगोविन्द श्रेष्ठ र व्यापारी अजेयराज सुमार्गी यस्तो काममा संलग्न रहेको भेटियो । यो चक्र पूरा गर्ने मुख्य माध्यम नेपालको ठूलो दूरसञ्चार कम्पनी एनसेललाई बनाइएको भेटियो । 

टेलियासोनेरा : एयरबेल र जोधारको जरो

१२औं पटक बिक्री हुुँदा एनसेलको कर छली प्रकरणमा नेपालको व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका विवादमा तानिए । यी तीन वटै निकायले एनसेल बिक्री शीर्षकमा लाग्ने ‘पूँजीगत लाभकर कर’ उन्मुक्ति मामिलामा चर्को विवाद भयो । सरकार, अदालत र संसद् जस्ता निकाय कोही खुलेर कोही लुकेर कर लगाउने भन्दा पनि एनसेललाई उन्मुक्ति दिने पक्षमा थिए । ७ असार २०५८ मा स्थापना भई पटक पटक खरीद बिक्री भएर हालको एनसेल भनिने कम्पनीको पूँजीगत लाभकर शीर्षकमा झन्डै ६१ अर्ब कर छली भएको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गरेको थियो । त्यो रकम अहिले बढेर ७३ अर्ब रुपैयाँ पुगेको छ ।

एनसेलको ८० प्रतिशत लगानीकर्ता (तत्कालीन) टेलियासोनेरालाई यो कर नतिराइकन नेपालबाट भगाइसकिएको छ । तर, टेलियासोनेरा भागे पनि विदेशमा ऊसँग उठबस र कारोबार गर्ने व्यक्तिहरू भने नेपालमा अहिले पनि व्यवसाय गरेर बसेका छन् । त्यसमा गैरआवासीय नेपाली उपेन्द्र महतो, महतोको धेरैजसो कम्पनीका व्यावसायिक साझेदार निरजगोविन्द श्रेष्ठ, अजेयराज सुमार्गी र सुमार्गीको कम्पनीमा काम गर्ने मुक्तिश्री प्रालिका डाइरेक्टर समेत रहेका अर्जुन शर्मा पर्छन् ।

उनीहरूले विदेशमा आफ्नो नाममा कम्पनी खोलेका रहेछन् । ती कम्पनीहरूबाट उनीहरूले नेपालका आफ्ना कम्पनीहरूमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भन्दै रकम ल्याउने, नाफा भन्दै नेपालमा कमाएको रकम उता लैजाने, फेरि अर्को कम्पनीमा एफडीआई ल्याउने काम गरेको भेटियो । यति मात्रै हैन, एनसेलको कर छली गरेर भागेको टेलियासोनेरासँग ती कम्पनीहरूको अन्तरसम्बन्ध रहेको समेत भेटियो ।

हामीले प्राप्त गरेका विवरणहरूले एनसेलको यो कर छली प्रकरणमा कतै यिनै व्यक्तिहरू समेत संलग्न त थिएनन् ? भन्ने शंका समेत जन्माएको छ । आईसीआईजे र त्यसका आधारमा नेपालमा संकलन गरिएको विवरणले त्यस्तै देखाउँछ । त्यसका लागि सम्बन्धित कम्पनी र त्यससँग अन्तरसम्बन्धित व्यक्तिबीचको सम्बन्ध पहिल्याउन एक–एक विवरण केलाएका छौं ।

सबैभन्दा पहिला हामीले आईसीआईजेसँग आबद्ध साइप्रसका खोज पत्रकार स्तेलियोस ओरफानिदेशले हामीलाई पठाएको विवरण केलायौं । उनले साइप्रसमा कम्पनी दर्ता गर्ने निकाय ‘डिपार्टमेन्ट अफ रजिष्ट्रार अफ कम्पनिज एन्ड अफिसियल रिसिभर’ का प्रमाणित ८२ वटा पीडीएफ फाइलहरू सीआईजेलाई पठाइदिए । जसमा ग्रीक भाषामा लेखिएको शेयरहोल्डरका नाम, ठेगाना, शेयर खरीदबिक्रीका विवरणहरू छन् । ती विवरणलाई स्तेलियोसको सहयोगमा अनुवाद गरेपछि व्यापारी अजेयराज सुमार्गी र अर्जुन शर्मा साइप्रसको एयरबेल सर्भिसेज लिमिटेड कम्पनीका लगानीकर्ता हुन् भन्ने पुष्टि भयो । 

साइप्रसस्थित म्याग्नम हाउस ठेगाना उल्लेख गरी अहिलेसम्म पनि सक्रिय रहेको यो कम्पनी सन् २००८ मा खोलिएको हो । ‘म्याग्नमसर्भ सेक्रेटरी लिमिटेड’ नामक बिचौलिया ल फर्मले दर्ता गराइदिएको एयरबेलको शेयर ब्रिटिश भर्जिन आइल्यान्डस्मा दर्ता भएको जोधार इन्भेष्टमेन्ट प्रालिले खरीद गरेको थियो । यो कम्पनीका अन्य लगानीकर्ता भने नेपाली व्यवसायी सुमार्गी, उनको कम्पनीमा काम गर्ने शर्मा र अन्य ११ विदेशी नागरिक छन् ।

११ मध्ये एक लगानीकर्ता हुन्, मोहम्मद एमर्सी । जो नेपालका व्यापारी अजेयराज सुमार्गीका कम्पनीहरू र मेरो मोबाइल हुँदै २०६६ फागुनबाट एनसेल ब्रान्डले चिनिने कम्पनीसँग जोडिन आइपुग्छन् । बाँकी १० जनाको नेपाल नाता देखाउन सकिएन (जोधारको छुट्टै विवरण तल उल्लेख छ) । एमर्सी टेलियासोनेरा ग्रुपको वरिष्ठ सल्लाहकार र तत्कालीन मेरो मोबाइलको २०५८ असारदेखि २०६१ चैत १७ गतेसम्मको लगानीकर्ता स्पाइस नेपाल प्रालिको सञ्चालक समिति सदस्य हुन् । साइप्रसका खोज पत्रकार ओरफानिदेशले उपलब्ध गराएको विवरण अनुसार, दुबईमा बसोबास गर्ने ब्रिटिश नागरिक एमर्सी भारतको रुरल सोर्स र इन्क्लुसिभ भेन्चर्स लिमिटेड कम्पनीका पनि मालिक हुन् । जुन कम्पनीसँग सन् २०१४ मा सुमार्गीको मुक्तिश्री गु्रपले साझेदारी गर्ने घोषणा गरेको थियो ।

सुमार्गीको संलग्नता अन्यत्र पनि देखिन्छ । खोज पत्रकार स्तेलियोस ओरफानिदेशले साइप्रसको कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्राप्त गरी हामीलाई उपलब्ध गराएको दस्तावेज अनुसार, २०१३ सेप्टेम्बर १२ मा सुमार्गीको विदेशस्थित कम्पनी एयरबेलको २० कित्ता शेयर १ करोड ५२ लाख युरो (करीब २ अर्ब रुपैया“) मा टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्सले खरीद गरेको शेयर बाँडफाँड सम्बन्धी कागजमा उल्लेख छ । यसको ६ दिनपछि ४० कित्ता शेयर २ करोड ९ लाख युरो (३ अर्ब ९८ करोड रुपैया“) मा टेलियासोनेरा नर्वे नेपाल होल्डिङले नै पुनः खरीद ग¥यो । त्यसबेला एनसेलमा विभिन्न होल्डिङ कम्पनीहरूमार्फत टेलियासोनेरा नर्वे नेपाल होल्डिङले लगानी गरेको थियो ।

एयरबेलमा जस्तै एनसेल, सुमार्गी र जोधार इन्भेष्टमेन्ट कम्पनी पनि अन्तरसम्बन्धित छन् । आईसीआईजेको विवरण अनुसार, १२ मे २०१० मा ब्रिटिश भर्जिन आइल्यान्डस्को बिचौलिया ल फर्म ‘ट्राइडेन्ट ट्रष्ट’ ले जोधार इन्भेष्टमेन्ट कम्पनी दर्ता गरिदिएको थियो । जसका एक लगानीकर्ता हुन् सुमार्गीको कम्पनीमा काम गर्ने मुक्तिश्री प्रालिका डाइरेक्टर समेत रहेका अर्जुन शर्मा । २३ मे २०११ मा जोधार र सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम प्रालिबीच भएको सम्झौताको एक विवरण अनुसार शर्मा जोधारका निर्देशक हुन् । शर्मा सुमार्गीकै मुक्तिश्री कम्पनीका डाइरेक्टर पनि हुन् । त्यही जोधार इन्भेष्टमेन्टबाट २६ पटकमा ४ करोड ८३ लाख ७२ हजार २२२ अमेरिकी डलर (४ अर्ब ८३ करोड ७२ लाख २२ हजार २१० रुपैया“) रकम सुमार्गीले विदेशी लगानीको अनुमति नलिई नेपाल भित्र्याएका छन् । यही जोधारले सन् २०११ र २०१२ मा दुई पटक क्रमशः ५१० र एक हजार कित्ता शेयर एनसेलमा कर छली गरेर भागेको टेलियासोनेरा एशिया होल्डिङ बिभीलाई बिक्री गरेको थियो ।

जोधारले सन् २०१३ नोभेम्बर २२ मा एक हजार ६० कित्ता शेयर ब्रिटिश भर्जिन आइल्यान्डस्मा दर्ता भएको वल्र्ड वाइड इन्क्रेडिबललाई हस्तान्तरण गरेको छ । वल्र्ड वाइड सोही दिन सुमार्गीको नाममा दर्ता रहेको एयरबेल सर्भिसेजको पनि अंशियार भएको थियो । अर्थात् त्यसमा पनि सुमार्गी सम्बन्धित छन् । यी तीन कम्पनीसँग क्रस होल्डिङमार्फत जोडिएको टेलियासोनेराले नेपालको एनसेलमा लगानी गरी ८ वर्षपछि बाहिरिएको हो ।

कर छल्न र त्यसलाई शुद्धीकरण गर्न यस्ता विवादास्पदहरूले शक्तिकेन्द्रलाई कतिसम्म रिझाउँछन् भन्ने उदाहरण नेपालका लागि यही टेलियासोनेरा हो । यसले नेपालको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकालाई सोझो घुमाउरो पारामा आफ्नो हितमा परिचालन गरेको छ । तत्कालीन (वर्तमान पनि) प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पत्र नै पठाएको भेटिएको छ । सन् २०१५ मा प्रधानमन्त्री ओलीलाई लेखेको पत्रमा भनिएको छ, ‘‘लाभांश फिर्ता लैजाने विषयलाई सफल निष्कर्षमा पु¥याउन नेपालका आधिकारिक निकायहरूसँगको वार्तालाई हामी निरन्तरता दिने छौं । साथ र सहयोगको लागि धेरै आभारी छौं ।”

नेपाल छाड्नुअघि टेलियासोनेराले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेको पत्र ।

टेलियासोनेराले पूर्व प्रधानमन्त्रीहरू पुुष्पकमल दाहाल र शेरबहादुर देउवाबाट समेत साथ र सहयोग पाएको थियो । तत्कालीन प्रधानमन्त्री दाहालले २०७३ फागुनमा नेपालबाट बाहिरिसकेको टेलियासोनेरालाई करको दायित्व सुम्पेर एनसेललाई उन्मुक्ति दिने मनसाय मन्त्रिपरिषद् बैठकमा सुनाएका थिए । तर, कर छलीलाई सघाउ पुुग्ने भनेर तत्कालीन कार्यवाहक मुख्य सचिव रामप्रसाद आचार्य, अर्थ सचिव शान्तराज सुुवेदी र राजस्व सचिव राजन खनालले त्यसलाई माइन्यूट उठाउन नमानेपछि यो प्रयास सफल हुनसकेको थिएन । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कर छुट दिने पक्षमा देखिने कुनै काम गरेनन् तर, कर असुली गर्नमा पनि कुनै चासो देखाएका थिएनन् ।

महतो र श्रेष्ठको टेलियासोनेरा अन्तरसम्बन्ध

टेलियासोनेरासँग सुमार्गीको सम्बन्ध पुरानो हो भने गैरआवासीय नेपाली उपेन्द्र महतोको सम्बन्ध भने नयाँ हो । यसबारे थाहा पाउन ट्याक्स हेवन मुलुक साइप्रसमा लगानी भएको टिपोलोजिया कम्पनीबारे बुझ्न जरूरी छ । २५ मे २००७ मा दर्ता भएको टिपोलोजियाका लगानीकर्ता हुन महतो र ११ विदेशी नागरिक । ११ विदेशीमध्येका एक लगानीकर्ता हुन् रोमियो अब्दो । लेवनानी मूलका बेलारुसी नागरिक अब्दो १९९७ देखि बेलारुसमा व्यवसाय गर्छन् । अब्दो टेलियासोनेराले नेपालमा लगानी गरिरहेका बेला एनसेलको अध्यक्ष थिए ।

महतोको टेलियासोनेरासँगको सम्बन्ध स्थापित गर्न अब्दोको विषयमा खोजी गरियो । यिनै अब्दो र महतोबीचको साझेदारीमा बेलारुसमा स्पार्टली भेन्चर्स, ‘वेलारुसियन–नेप्लिज–काजकास्थान’ (बीएनके) ग्रुप लिमिटेड कम्पनी दर्ता भएको भेटियो । यिनै अब्दो टेलियासोनेराको तर्फबाट एनसेलका अध्यक्ष भएको बेला २३ जेठ २०६३ देखि १६ चैत २०६८ सम्म ऐनसेलको २० प्रतिशत लगानीकर्ता व्यक्ति हुन् महतो । उनले शुरूमा सिनर्जी नेपाल प्रालिमार्फत एनसेलमा लगानी गरे । पछि सिनर्जी नेपाल प्रालिबाट फेरि आफैंलाई एनसेलको २० प्रतिशत शेयर बिक्री गरे । १६ चैत २०६८ मा विदेशस्थित कम्पनीका आफ्नै साझेदार निरजगोविन्दलाई २० प्रतिशत शेयर बिक्री गरेर एनसेलबाट बाहिरिए । ठूला करदाता कार्यालयले सर्वोच्च अदालतमा पेश गरेको विवरण अनुसार, “सिनर्जीले उपेन्द्रलाई र उपेन्द्रले निरजगोविन्दलाई बिक्री गर्दा करीब ३ अर्ब राजस्व छली भएको छ ।”

एनसेल बिक्री प्रकरणमा कर छलीमा जोडिएका अर्का नेपाली व्यक्ति हुन् निरजगोविन्द श्रेष्ठ । महतो र अब्दो लगानीकर्ता रहेको ‘वेलारुसियन–नेप्लिज–काजकास्थान’ (बीएनके) ग्रुपका एक लगानीकर्ता हुन् श्रेष्ठ । टेलियासोनेराले एनसेल बिक्री गर्दा २० प्रतिशत शेयरका हिस्सेदार थिए उनी । एनसेलको ८० प्रतिशत शेयर टेलियासोनेराले मलेशियाको आजियटालाई बिक्री गर्दा श्रेष्ठले पनि आफ्नो २० प्रतिशत शेयर नेपाली नागरिक भावना सिंह श्रेष्ठलाई बिक्री गरेका थिए । यो बिक्री प्रकरणमा श्रेष्ठले समेत करीब ११ अर्ब रुपैयाँ कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गरिसकेको छ । त्यस विरुद्ध उनी २०७४ असोजमा सर्वोच्च अदालत गए, अदालतले ‘तत्काल कर असुल नगर्नु÷नगराउनु’ भन्ने अन्तरिम आदेश दिएकाले कर असुली प्रक्रिया अहिले अवरुद्ध छ ।

निरजगोविन्द श्रेष्ठको विदेशमा दर्जन भन्दा बढी कम्पनीमा लगानी छ । गैरआवासीय नेपाली भएका नाताले उनले विदेशमा लगानी गर्न पाउँछन् तर पनि ट्याक्स हेवन मुलुकमा लगानी गरेको देखिएकोले उनको लगानीको स्रोतमाथि प्रश्न गर्ने ठाउँ चाहिं छ । उनका बारेमा २०१८, जूनमा बेलारुसका एक जना खोज पत्रकारले गरेको अनुसन्धान अनुसार, श्रेष्ठ ट्याक्स हेवनको लगानीमा मुछिएका व्यक्ति हुन् । बीएनकेसँग साझेदार रहेका अब्दोका भाइ मिशेल अब्दोसँगको साझेदारीमा श्रेष्ठले ट्याक्स हेवन मुलुक ब्रिटिश भर्जिन आइल्यान्डस्मा नोस्टल बिजनेश कर्व कम्पनी दर्ता गरेका छन् ।

टेलियासोनेराको तर्फबाट एनसेलमा कुनै बेला अध्यक्ष भएका अब्दोबारे जानकारी लिन हामीले आईसीआईजेमार्फत बेलारुसका खोज पत्रकार स्टास इभाश केविचसँग साझेदारी ग¥यौं । केविचका अनुसार, अब्दो परिवार बेलारुसमा प्रभावशाली व्यावसायिक घराना मानिन्छ । उनका अनुसार, अब्दोकी श्रीमती मारिया आर्ट ग्यालरीकी मालिक हुन् । जसको नामबाट सुमार्गीको कम्पनीमा प्रत्यक्ष वैदेशिक लगानी भनेर रकम जम्मा गरेकी थिइन् । (विस्तृत विवरण तल)

निरज : ट्याक्स हेवनहुँदै भारत र नेपालसम्म

गैरआवासीय नेपाली निरजगोविन्द श्रेष्ठसहितको लगानी रहेको नोस्टल बिजनेश कर्वले बेलारुसस्थित सेत्को इन्टरनेशनल कम्पनीमा विदेशी लगानी भित्र्याएको थियो । बेलारुसका खोज पत्रकारका अनुसार, बेलारुसमा मापदण्ड विपरीत हाउजिङ निर्माण गरेर लिलामीमा परेको स्थानमा अर्को भवन निर्माणको जिम्मेवारी सेत्को इन्टरनेशनल कम्पनीले पाइसकेको छ ।

तिनै निरजगोविन्द श्रेष्ठ, उपेन्द्र महतो, उनका भाइ पूर्व सांसद् वीरेन्द्र महतो र रोमियो अब्दो बेलारुसको एम्कोडोर होल्डिङ कम्पनीका सञ्चालक हुन् । ती निरजगोविन्दसहित भारतीय नागरिक अमित झा, हिरण्यप्रकाश धर र बेलारुसी नागरिक इगोर सुुब्बो तीन जनाको नाममा भारतमा एम्कोडोर इन्डिया जेभी प्रालि कम्पनी पनि छ । यही नाममा नेपाली नागरिकको लगानीमा भारतमा अर्को कम्पनी पनि दर्ता छ । एम्कोडोर अर्थ मुभिङ इक्वीपमेन्ट इन्डिया प्रालिमा काठमाडौं, महाराजगञ्ज ठेगाना लेखिएका योगेशलाल श्रेष्ठ र मेनुका श्रेष्ठको लगानी छ । निरज र यी दुुईबीचको नाता भने खुल्न सकेन । उल्लिखित दुुई एम्कोडोरमध्ये एक कम्पनीले बेलारुसको एम्कोडोरलाई ‘इक्वीपमेन्ट’ सप्लाइको काम गर्छ । निरजगोविन्द श्रेष्ठको नाममा लन्डनमा पनि ‘युमि नेपाल अर्थक्वेक अपिल’ नामको कम्पनी दर्ता छ । निरजगोविन्द श्रेष्ठलाई सम्पर्क गर्ने हाम्रो प्रयास सफल हुन सकेन ।

महतोका आधा दर्जन कम्पनी

गैरआवासीय नेपाली (एनआरएन) उपेन्द्र महतोको लगानी ट्याक्स हेवन मुलुकहरूमा रहेको आईसीआईजेले सार्वजनिक गरेको थियो । यसबारेमा आईसीआईजेले खोज पत्रकारिता केन्द्रलाई थप विवरण उपलब्ध गराएको छ । उपलब्ध विवरण अनुसार, महतो बिचौलिया ल फर्म मोसेक फोन्सेकाले ब्रिटिश भर्जिन आइल्यान्डस्मा दर्ता गराइदिएका पंकुर फाइनान्स लिमिटेड, स्पार्टली भेन्चरस लिमिटेड र न्यू फाउन्ड स्ट्राटेजिज् कम्पनीका लगानीकर्ता हुन् ।

पंकुर र स्पार्टली भेन्चर दुवै कम्पनी सन् २००८ जुलाई १६ मा दर्ता भएका हुन् । यी दुवै कम्पनीका अन्य दुुई लगानीकर्तामा फर्मिया र प्रिमि लिमिटेड कम्पनी हुन्, जो ९६ हजार जनसंख्या रहेको अफ्रिकन ट्याक्स हेवन मुलुक सेसल्समा दर्ता छ । सेसल्समा दर्ता भएका यी दुवै कम्पनीका बारेमा अरू जानकारी पाउन सकिएन । पंकुर कम्पनीमा अमितकुमार शाह नाम गरेका व्यक्ति पनि छन् । तर उनी नेपाली वा भारतीय के हुन् खुल्न सकेन । ट्याक्स हेवन मुलुक बेलारुससँग महतोको सम्बन्ध नेपाल देशसँग पनि जोडिन आउँछ । महतो पहिले र हाल सुमार्गी बेलारुसका वाणिज्य दूत हुन् । थप समाचार पढ्नको लागि यहाँ थिच्नुहोला>> सम्पादकीय टिप्पणी : नेपाललिक्स २०१९

यो पनि पढ्नुहोला>> खोज पत्रकारिता केन्द्र