मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य भक्कानिएर रोए

विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य भक्कानिएर रोए


काठमाडौं- विवेकशील साझा पार्टीको कार्यालय बखुन्डोलमा शनिबार दिउँसो भीड बढ्दै गयो। हलभित्र तय गरेको कार्यक्रम मान्छे धेरै भएपछि आँगनमा सारियो। संयोजक रवीन्द्र मिश्र, प्रवक्ता सूर्यराज आचार्य, नेता मुमाराम खनाललगायत अगाडि बसे। कुनै ब्यानरबिनै अन्तरक्रिया सुरू भयो। 
 
प्रदेश नम्बर ३ की संयोजक समीक्षा बास्कोटाले कार्यक्रम सुरू गरिन्। पार्टीका संयोजक मध्येका एक उज्वल थापासहित १६ केन्द्रीय सदस्यले विवेकशील नेपाली दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए । फेसबुक, ट्वीटरबाट सूचना पाएर विवेकशील साझा पार्टीको पछिल्लो अवस्थाबारे हुने अन्तरक्रियामा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकदेखि पत्रकारसम्म पुगे।
 
विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्य भक्कानिएर रोएका थिए ।  धेरैले बैकल्पिक राजनीतिक अभियान्ता हौं भनेर बहस गर्दा गर्दै फुटको सन्देश पाएको भन्दै उनले यो कमजोरीका लागि केन्द्रीय कमिटीको तर्फबाट क्षमा समेत मागेका थिए  ।
 
"हामीबीच राजनीतिक प्रेम विवाह भएको थियो " रवीन्द्र मिश्र
 
हामीबीच राजनीतिक प्रेम विवाह भएको थियो। तर हामीले अरूले गरिदिएको बखानको भरमा प्रभावित भएर एक-अर्कालाई राम्ररी नचिनिकनै विवाह गरेछौं। विवाह लामो समय टिक्न सकेन। तर यो बीचमा हामीले एकअर्काबाट धेरै सिक्यौं।
 
खासगरी गत आम निर्वाचनपछिको एक वर्षमा पार्टीको केन्द्रीय समितिमा विद्यमान ‘अत्यन्तै प्रतिकूलता’का बीच पनि हामीले ठूलै उपलब्धि हासिल गर्यौं। आफूलाई राष्ट्रिय राजनीतिको केन्द्रमा ल्यायौं। सञ्चार माध्यमका कयौं बहसहरू हाम्रो प्रतिनिधित्वबिना अपूरो देखिन थाले। राजनीतिक बहसहरूमा अबको विकल्प हामी नै हौं भन्ने निष्कर्षहरू निकालिन थाले। देशभरि संगठनहरू विस्तार हुन थाले।
 
हामीले ‘कल्याणकारी लोकतन्त्र’को दर्शनलाई आम सर्वसाधारणसम्म पुर्यायौं, शिक्षा र स्वास्थ मूलरूपमा राज्यको दायित्व हो भन्ने धारणालाई स्थापित गर्यौं। सुसंस्कृत र मूल्यमान्यतायुक्त पार्टी नबनी देश बन्दैन भन्ने विश्वास जगायौं। आम सर्वसाधारणले हामीलाई पत्याए र साथ पनि दिए।
 
तर लक्ष्यमा समानता भएरमात्र नपुग्ने रहेछ। लक्ष्यमा पुग्ने विचार र व्यवहारमा पनि समानता चाहिने रहेछ। दुर्भाग्यवश, लक्ष्य प्राप्त गर्ने हाम्रा वैचारिक चक्र र व्यवहारमा यति धेरै अन्तर रहेछन् कि हामीले जतिसुकै प्रयास गर्दा पनि ती एकवद्ध हुने संभावना नै रहेनछ। त्यसैले तपाईंहरू अनायासै घर छोडेर जानुभयो।
 
सामाजिकरूपमा असल र भद्र देखिने हामीहरू समेत गलत निर्देशकहरूका कारण राजनीतिक मञ्चमा फरक पात्र बन्न सक्दा रहेछौं भन्ने अनुभूति भएको छ। हामी छुट्टिएको देखेर यहाँ रमाउनेहरू धेरै छन्। मन दुखाउनेहरू अझ धेरै छन्। हामी सबैलाई थाहा छ, हामीबीच अभियान केन्द्रित समूह मात्र बन्ने कि राष्ट्रिय राजनीतिमा सुसंस्कृत नेतृत्वदायी भूमिका निर्वाह गरेर देश रूपान्तरण गर्ने पार्टी बनाउने भन्नेमा मतभेद थियो। त्यो मतभेद छलफलबाट टुङ्गिन नसकिने तहको थिएन। तर तपाईंहरू जानुभयो र गएदेखि नै आरोपै आरोप लगाउनुभयो।
 
मलाई ती पीडादायी आरोपहरूको भन्दा पनि हाम्रो सामूहिक लक्ष्य र त्यसमा पुग्नसक्ने आघातकाबारे चिन्ता छ। हाम्रै जीवनकालमा यो देशको रूपान्तरण नहेरी मर्नुपर्ला भन्ने चिन्ता छ। पुस ३० गतेका लागि तय गरिएको हाम्रो भेटमा आत्मै पखालेर मनका पीडा पोखुँला भन्ने र दिनढाडै व्यक्तिगतरूमा मेरो र संगठनात्मकरूपमा पार्टीको ढाडमा हानिएको छुरीले पारेको घाउमा मल्हम लगाउँला भन्ने सोच थियो। तर अलि ढिलोसम्म पर्खिएछु, तपाईंहरू थाहै नदिइ हिँडि हाल्नुभयो।
 
अब एकपल्ट भेटेर प्रेम र भ्रमका कुरा गर्ने मन छ। लक्ष्य बोकेरमात्र नहुने रहेछ, लक्ष्यमा पुग्ने शैली र चरित्रकाबारे गफ गर्ने मन छ। जीवन धेरै बाँकी छ, यात्रा लामो छ। तर देश रूपान्तरणको गन्तव्य भने मैले बदलिँदो परिवेशका कारण झन, झन छोटो देख्न थालेको छु। त्यो नजिकै देखिन थालेको गन्तव्यलाई म विगार्ने पक्षमा छैन। सिँगो देश बनाउन सानो मुटु लिएर हुन्न। देश बनाउन देशभन्दा ठूलो मुटु चाहिन्छ। सँगसँगै इमानदारी, क्षमता, समूहमा काम गर्ने ढंग पनि चाहिन्छ। धेरै कुरा चाहिन्छ।
 
दुख छ तर कुनै आग्रह, पुर्वाग्रह, ईर्ष्या, द्वेष छैन। कहिल्यै नआओस् पनि। दुखहरू चाहिँ कहिलेकाहीँ अभिव्यक्त हुनेछन्। त्यसमा अन्यथा नसम्झिदिनुहोला। तपाईंहरूले हालैका दिनहरूमा व्यक्त गरेका दुखलाई पनि मैले अन्यथा लिएको छैन।
 
छिटै बसेर चिया खाउँला। मिलेमा लामो समयदेखि जाने भनेर नगएको ओम आध्या रिसोर्ट जाउँला। के थाहा पुनर्मिलन भई पो हाल्छ कि। घाम भर्खर उदाएको अवस्था हो, बादल लाग्दैमा त्यसलाई अस्ताएको भन्न मिल्दैन। अन्यथा, हामीमा समयले लेराउने सुझबुझसँगै बाटो फेरि एकै ठाउँमा मिसिएछ भने सँगै यात्रा गरूँला। तपाईंहरूलाई नयाँ यात्राका लागि धेरैधेरै शुभकामना। सबैको जय होस्, नेपालको जय होस्!
 
(रवीन्द्र मिश्रको फेसबुक पेजबाट साभार)