विचार / ब्लग

मिरिक बजार - नजर हजार – लीला श्रेष्ठ

110 पटक पढिएको

– लीला श्रेष्ठ

5th Jan 2019, Saturday | २०७५ पुष २१, शनिबार ०६:३२
पछाडिबाट हर्न बजाउँदै बस आइपुग्यो । यात्रुहरुले टन्न भरिएको बस रोकेर छतमा चढ्यौँ । बस नेपाल भारतको सिमाना हुँदै पशुपतिनगरको ढाटमा रोकियो । यात्रु तथा ड्राइभरले चिया पिई सक्नासाथै बस वायुवेगले मिरिकतर्फको ओरालीमा बुर्कुसी मार्यो ।
 
अाहा ! डाँडाकाँडा छपक्कै ढाकेको चियाको बगान आँखामा नचाउँदै दिउँसोको तीन बजेतिर बसले मिरिक बजार प्रवेश गर्यो । बजारको प्रवेशद्वारमै उत्रेर हामी पैदल हिँड्न थाल्यौँ । बजारको चहलपहलमा जोल्टिङ् खेल्दै ‘त्रिवेणी लज’ को खोजीमा अगाडि बढ्यौँ । ‘त्रिवेणी लज’ मा नेपालीहरुको राम्ररी हेक्का गरिन्छ रे ! भन्ने सुनेका थियौँ । साँच्ची नै यस लजले नेपाली ग्राहकहरुको खुबै श्रद्धा र सत्कार गरेको पाइयो ।
 
सामानहरु यहीँ थन्क्याएर हामी तालमा बोटिङ्ग गर्न गयौँ । समय खुस्किसकेको थियो । ग्राहकहरुको प्रतीक्षा गरेर बसेका ‘बोट सञ्चालकहरु’ झण्डै हिँड्न लागेका थिए । हामीले अत्यन्तै अनुरोध गरेर आधा घण्टाको चालिस रुपियाँ तिर्यौँ र एउटा बोट लिई खेल्न थाल्यौँ । अहा, मिरिकको तालमा हामी ५ जनाको यो तालमेल कति आनन्ददायी !
 
मलाई पानीदेखि अत्यन्तै डर लाग्छ । बोटिङ्ग गर्दा पेडल चलाउने जिम्मेवारी म आफैँले लिएँ । बोट पल्लो छेउमा पुगेपछि किनार लायौँ र कणेल दाइ उत्रिनुभयो अनि गौतमजी चढ्नुभयो । सञ्चालकहरु हामीलाई बोट छिटो ल्याउनुहोस् भनेर कराउन थाले । एक फन्को पनि राम्ररी घुम्न नपाई बोट जिम्मा लगाएर उत्रिनुपर्यो । यस तालको नजिकै रहेको पार्कमा पसेर बेञ्चमा केही क्षण बस्यौँ ।
 
बोटिङ्ग गरिसकेपछि घाम ताप्ने यो पार्क अत्यन्तै रमणीय थियो । तर के गर्ने, हामीलाई समयले रात परेको संकेत देखाउँदै थियो । पश्चिमास्ताचलले अँध्यारा कणहरु धमाधम छोड्न थालेको थियो । खानाको बन्दोबस्त गर्न “ग्रीन—भ्यू” तिर लाग्यौँ । होटलवालाले सोध्यो “तपाईँहरु खानासँग माछा खाने कि मासु ?”
 
“मासु के को छ ?” सोम दाइले सोध्नुभयो ।
 
“ऊ त्यो खसीको, अहिले काट्न लागेको छु !”
 
“ए ! त्यसो भए यही रातोको खाने !” देवेन्द्रजीले भन्नुभयो । होटलवाला फिस्स हाँस्यो । हामी पनि हाँस्यौँ । खसीको रङ्ग नै रातो थियो ।
 
समय अझै अलिकति बाँकी नै थियो । हामी माथि डाँडामा जाने निर्णय गर्यौँ । ‘ग्रीन—भ्यू’ देखि अलिक माथि पर्ने यस डाँडाबाट पनि दृश्य राम्ररी देखिँदो रहेछ ।
 
“ऊ ... त्यही हो इलामको अन्तुडाँडा !” कणेल दाइले औँल्याउँदै भन्नुभयो ।
 
साँच्ची ! इलामको अन्तुडाँडा दार्जिलिङ्गको ‘टाइगरहिल’ जस्तै देखिन्थ्यो । शायद ! त्यहाँबाट पनि सूर्योदयको दृश्य रमणीय देखिँदो हो, तर अहिलेसम्म यसको सदुपयोग हुन सकेको छैन । साँझ झमक्कै पर्यो । हाम्रो अगाडि दुईटा अग्ला–अग्ला डाँडोको बीचमा माटो झर्दै गरेको दृश्य आयो । शायद ! यी दुई डाँडालाई जोडेर कुनै ठूलो मैदान बनाउने होला !
 
मिरिकमा विभिन्न ठाउँमा बोटिङ्ग गर्न आउँदा रहेछन् । यसरी पर्यटकहरुको धुइरो र विकासको गति हेर्दा मिरिकको भविष्य अत्यन्तै उज्ज्वल लाग्यो । घाँसेझाडीमा पैताला बजारेर वारिपारिका सन्ध्याकालीन दृश्यहरु चुम्दै अगाडि बढ्यौँ । भोलिदेखि हाम्रो नेपाल फर्किने योजना थियो । देवेन्द्रजीले यो यात्राको अनुभूतिबाट एउटा उपन्यास लेख्ने निश्चय गनुभयो । हामीले उहाँलाई अग्रीम बधाइ र शुभकामना दियौँ – नेपाली उपन्यासको क्षेत्रमा एउटा कृति थपिने भयो भनेर !
 
खानको लागि ‘ग्रीन—भ्यू’ मा गयौँ । भोलि नेपाल फर्किने तरङ्गमा भातको गाँस टिपेर यसो बजार डुल्न निस्क्यौँ । द्यौसेटोलीले नाचगानसँग द्यौसिरे भाका टिपेर कार्यक्रम गर्दैरहेछन् । सतप्रतिशत नेपालीपन अँगालेको यो तिहारको संस्कृतिले हमीलाई नेपालकै झझल्को दियो । मिरिकमा नेपाली भाषा र संस्कृतिको प्रशस्तै मान—सम्मान रहेछ । हामीले आजसम्म घुमेका प्राय: ठाउँमा नेपाली भाषा, संस्कृति र साहित्यको दह्रिलो पक्ष पायौँ – दार्जिलिङ्ग बाहेक !
 
हाम्रो साथमा अझै चारपाँच प्रति “अरुण” छँदैथियो । एकप्रति “अरुण” मिरिकको त्यो भव्य द्यौसे टोलीलाई उपहारस्वरुप तत्कालै छोडिदियौँ र हामी लजतिर लाग्यौँ ।
 
नेपाल फर्किने बेला भएछ !
 
भोलि नेपाल फर्किने कल्पनामा थाहै नपाई भुसुक्कै निदाइएछ । बिहान सबेरै उठेर हिँड्ने तरखरमा लाग्यौँ । त्रिवेणी लजकी खड्का दिदीले हामीलाई चिया र सेलरोटी खान दिइन् । आफन्त पाहुनाजस्तै हेक्का राख्ने ती दिदीलाई आँखाभरि राखेर सेलरोटी चपाउँदै चियाको घुट्को पिएर सात बजेको साइतमा मिरिकबाट प्रस्थान गर् यौँ । हरेक ठाउँमा खड्का दिदीजस्ता आतिथ्यता दिने दिदीहरु भइदिए भ्रमण पति आनन्ददायक हुन्थ्यो हगि !!
 
रत्नगिरी बसले डेढ घण्टामै पशुपतिनगरको ढाटमा उतारिदियो हामीलाई । नेपाल प्रवेश गरेको हर्षमा प्रफुल्ल हुँदै सीमा पारीलाई अन्तिम नजर दिएर ढाट काट्यौँ । यस बजारको चलतीको होटल ‘संयोग’मा खानाको अर्डर गर् यौँ । खाना तयार हुने बेलासम्ममा यस बजारको फन्को मारियो र खाना खाएर फिक्कलतिर लम्किन थाल्यौँ ।
 
यति छोटो समय आफ्नो देश नेपाल, आफ्नो घरगाउँ छोड्दा पनि मलाई निकै लामो समय छोडेजस्तो भान परिरहेको थियो । नेपालको भूमिमा पाइला टेक्नासाथ मेरो भावना हृदयहर्षले ओतप्रोत भएको थियो । नेपाली नाङ्गो पाखाले हृदय नफुराए पनि आफ्नो जन्मभूमिको मायाले नफुराउन सक्दोरहेनछ ।
 
इलाम पशुपतिनगरबाट फिक्कलसम्म कच्ची सडक भए तापनि बस भने चलेको थिएन । घरिघरि सरकारी तथा प्राइभेट ट्याक्सीहरु चल्थे । त्यत्ति नै हो । त्यहाँबाट लगभग दुईघण्टासम्म पैदल हिँड्न बाध्य भयौँ । पैदल हिँडेर इलामको फिक्कल आइपुग्यौँ । हुरी चल्ने समय नभएता पनि सडकको वरपर रहेका झुपडीहरुको हालत धुलाम्मे !
 
फिक्कल बजारमा पनि केही प्रति “अरुण” पत्रिका छोड्नुपर्छ भन्ने सल्लाह मिल्यो । देवेन्द्रजी “अरुण” छोड्न पत्रिका पसल टहल्न लाग्नुभयो । फिक्कलमा पूजन प्रधानको एउटा पत्रिका पसल रहेछ । त्यसैमा पाँच प्रति “अरुण” छोड्यौँ । हिसाब—किताब पछि मिलाउने गरी ।
 
घण्टौँ कुरेपछि डाँफे बस टनाटन यात्रीहरु लिएर आइपुग्यो – इलाम सदरमुकामबाट । गिद्धले सिनो झम्टेझैं झम्टेर हामी बसको छतमा चढ्यौँ । बस पनि फिक्कलको चिया बगान छिचोलेर कहाली लाग्दो भीरको बाटो कुर्लिङ्ग परेर मोडियो । फेरि नागबेली सडकको ओह्रालो झरेर बस समतल फाँटमा बग्न थाल्यो । डाँफेचरीजस्तै सलल उडेर बस झापाको चारआली निक्ल्यो । हामी त्यहीँ उत्रिएर फेरि काँकडभिट्टातर्फ लाग्यौँ ।
 
क्यामेराको प्रमिसन लिँदा धरौटी राखेको गौतमजीको कार्यालय परिचय—पत्र फिर्ता लिन बाँकी नै थियो । सबैकाम सकेर ‘शर्मा होटल एण्ड राजदूत लज’ मा आयौँ । कालिम्पोङ जाँदा हामी यही होटलमा खाना खाएर गएका थियौँ ।
 
हामीले चाउचाउको अर्डर गर्यौँ । “अरे ! तपाईँ त दिल्ली जानुभएको हैन ? कत्ति चाँडै फिर्नुभयो त ...?” एउटी युवतीले देवेन्द्रजीलाई भनिन् । देवेन्द्रजीलाई ती युवतीले दिल्ली गएको सम्झेकी रहिछन् । फेरि पछि लजाउँदै भनिन् “ठ्याक्कै तपाईँकै जस्तो अनुहार थियो – त्यो अस्ति जाने मानिसको ! र पो म झुक्किएकी रहेछु, सरी ...!” ती युवतीको नाम दिव्य मैनाली रहेछ । चाउचाउ खाइसकेर देवेन्द्रजीले एउटा “अरुण” पत्रिका ती मैनाली बहिनीलाई दिनुभयो । ती बहिनीले पत्रिका समाएर स्वीकारेपछि हामी ‘बाई’ गर्दै दमक जाने सुरले बाटो लाग्यौँ ।
 
दमकको बास
 
जनकपुर जाने रात्रिसेवाको बस तैयार भइसकेको थियो । टिकट काटेर चढिहाल्यौँ । साँझ सात बजे बस चल्यो । सिटको निहुँमा यात्रीहरुको झगडा पर्न थाल्यो । पैसा खाने नियतले सिटभन्दा बढी यात्रीहरुको टिकट काटिएको रहेछ – एउटै सिट नम्बरमा । यात्रीहरु बस्ने ठाउँ नै थिएन । छोटो रुटमा हामीजस्तै उत्रिहाल्ने यात्रीहरु त जसोतसो छतको डण्डीमा झुण्डिएर जालान तर लामो रुटका जनकपुरसम्म पुग्ने यात्रीहरु कसरी जालान ? ! फेरि सिटको टिकट काटेर मूढामा बस्नुपर्दा कसलाई झोंक चल्दैन र ? कण्डक्टरले सिट छोड्ने आदेश गरेपछि यात्री झन तातियो – “यहाँ महाभारत भएपनि म सिट छोड्दिन ।” यात्री रन्किँदै थियो । कन्डक्टरले त्यस यात्रीलाई मुढामा बस्न अनुरोध गर्यो । उ पनि के कम र ...! केही समयपछि कन्डक्टरले नाना तरहको डर देखाएर त्यस यात्रीलाई मुढामा बस्न लगाइछोड्यो । यो दृश्य, यो चालबाजीको प्रवृत्तिले मेरो मन पोल्यो । के गर्नु हाम्रो देशमा बसका स्टाफहरुको नियत नै यस्तै छ ।
 
यिनै चर्तिकलाको साथमा राति पौने नौ बजे बस दमक आइपुग्यो । सुत्न बस्नको लागि हामी “श्रृजना होटल एण्ड लज” तिर लाग्यौँ । होटलकी गोरी एउटी युवतीले हामीलाई लजको रुम खोलिदिई । सबै सामानहरु त्यहीं राखी खाना खान तल्लो तलामा झर्यौँ । आज यात्राको अन्तिम रात । कुखुराको सेकुवासँग रमाइलो गर्ने विचार गर्यौँ । होटल अङ्ग्रेजी क्यासेट घन्केर रनघन भएको थियो । देवेन्द्रजी त त्यही सङ्गीतमा कोक हातमा अँठ्याएरै ‘ब्रेक डान्स’ पो दिन थाल्नुभयो । खुबै रमाइलो भयो ।
 
खानापश्चात् सुत्न गयौँ । कति बेला निदाइएछ थाहै भएन । परेवा घुर्न थालेपछि ब्युँझियौँ । प्लाष्टिकले ढाकेको सिलिङ्गमाथि परेवा बस्दा रहेछन् । आँखाभरि धूलो र शरीरभरि सुल्सुले खसाइदिएर बिजोकै बनाए ।
 
श्रद्धेय भवानी गौतम र “अरुण” पत्रिका
 
दमकको रात जसोतसो बितायौँ । उज्यालो भयो । एक एक कप चिया पिएर हामी तोया गौतमज्यूको घरतिर लाग्यौँ । गौतमज्यू पाख्रीबास कृषि केन्द्रमा सूचना अधिकृत हुनुहुन्थ्यो । उहाँको बुबा भवानी गौतमज्यूलाई घरमै भेट्यौँ । हामी पाख्रीबासमा काम गर्छौं भनेपछि हामीलाई भवानी बुबाले उहाँकै छोराजस्तो गर्नुभयो । टेबुलबाट “अरुण” पत्रिका टिप्दै गौतमज्यूले अत्यन्तै खुसियालीमा शुभकामना र बधाइ दिनुभयो । उहाँलाई यो “अरुण” पत्रिका उहाँकै छोरा तोया गौतमज्यूबाट केही दिनअघिमात्र प्राप्त भएको रहेछ ।
 
‘म पनि साहित्यको शुभेच्छुक हुँ !’ भन्ने भावना पोख्दै भवानीज्यूले आफैँले प्रकाशन गर्नुभएको “गौतम वंशावली” पुस्तक हामी पाँचै जनालाई एक–एकवटा दिनुभयो ।
 
साहित्यसम्बन्धी विविध कुराहरु गर्दै उहाँले हामीलाई भन्नुभयो “बावु हो ! एउटा सालको वृक्षमुनि हजारौँ इलामे (झार) उम्रिन्छ, मर्छ, तर सालको रुख बाँचिरहन्छ ।” वास्तवमा प्रतिभा भन्ने कुरा त्यस्तै हो । तपाईंहरु पनि केही न केही प्रतिभा देखाउनेतिर लाग्नुहोला । आखिर आफू मरेर गए पनि प्रतिभावान व्यक्तिले यस संसारका लागि केही छोडेर नै जान्छ । यसैले उसलाई कालजयी बनाउँछ ।
 
उहाँले “अरुण” साहित्यिक प्रकाशनको उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभयो । यसरी एकजना वृद्ध र श्रद्धेय पाठकबाट “अरुण” ले बधाइ पाउँदा हामी पनि हर्षित भयौँ । त्यसपछि हामी त्यहाँबाट फर्कने तरखरमा लाग्यौँ । त्यसै दिन साँझ हामी पाख्रीबास पुग्यौँ ।
 
भ्रमणले हामीलाई एउटा भिन्दै अनुभव दियो । एउटा तिहार छोडेर गरेको टिष्टाक्षेत्रको यात्राले कहिल्यै नबिर्सने छाप छोडेर गएको छ । अहा ! क्या आनन्द र उल्लासमय पाँचभाइ नेपालीको यो भ्रमण !