मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससका व्यबसायी फ्लोरिडामा आकर्षित

टेक्ससका व्यबसायी फ्लोरिडामा आकर्षित


ओरल्याण्डो (फ्लोरिडा) – ड्यालसमा व्यबसाय गर्दै आएका नेपाली व्यबसायीहरु लगानी विविधिकरणका क्रममा अमेरिकाको पूर्बी–दक्षिणी राज्य फ्लोरिडा तर्फ लागेका छन् । 
 
ड्यालसमा प्रोपर्टीको मूल्य अचाक्ली बढेपछि व्यबसायीहरु फ्लोरिडाका ज्याकसनभिल, गेन्सभिल, टेम्पा, पाल्मसिटी लगायतका स्थानहरुमा लगानी गर्न थालेका छन् । केही व्यबसायीहरु आफैँ त्यहा सरेर व्यबसाय सुरु गरेका छन् भने केहीले भरपर्दाे व्यक्ति राखेर लगानीको व्यबस्थापन गरिरहेका छन् । 
 
ड्यालसमा लिकर व्यबसायमा असाध्यै सफल रुपमा परिचित यमुना भट्टराईले केही महिना अघि फ्लोरिडाको टेम्पा नजिकको लेकल्याण्डमा ग्याँस स्टेशन र शपिङ कम्प्लेक्स खरिद गरेकी छिन् । 
 
‘टेक्ससमा भन्दा फ्लोरिडामा व्यबसाय निकै सस्तो र संभावना पनि देखिएकोले अलिकति लगानी गरेको हुँ,’ भट्टराईले हिमालय खबरसँग भनिन् । उनले टेक्ससमा गरेभन्दा कम लगानीमै फ्लोरिडामा बढी प्रतिफल आउने देखिएपछि लगानी विस्तार गरेको बताइन् । 
 
ड्यालस र वरिपरिका स्थानमा आधा दर्जनभन्दा बढी लिकरस्टोरहरु भट्टराईको स्वामित्वमा छन् । 
 
अमेरिकामा सबैभन्दा बढी नेपाली व्यबसायीहरु भएको राज्यका रुपमा टेक्सस चिनिएको छ । टेक्ससको ग्याँस स्टेशन, ग्रोसरी स्टोर, मोटल, शपिङ मल लगायतका क्षेत्रमा नेपाली व्यबसायीको लगानी छ । एउटै व्यक्तिको एकसयको हाराहारीमा स्टोर रहेका छन् । धेरैको दर्जनभन्दा बढी स्टोरमा लगानी छ । 
 
‘टेक्ससमा व्यबसाय स्याचुरेसनमा पुगिसकेको जस्तो लाग्यो । त्यसैले नयाँ ठाउँ पनि हेरौँ भनेर फ्लोरिडामा केही लगानी गरेको छु,’ ड्यालसका अर्का व्यबसायी गोकर्ण दाहालले भने । उनले टेक्सस छाडेर भने नजाने बताए । 
 
दाहालको पनि ड्यालसका थुप्रै व्यबसायहरु छन् । ग्याँस स्टेशसन र ग्रोसरीस्टोरमा दाहालको लगानी छ । उनले फ्लोरिडाको गेन्सभिल नजिकै ग्याँस स्टेशन लिएका छन् । १० वटा पम्प भएको रेसवे ग्याँस स्टेशन उनले चलाइरहेका छन् । 
 
‘छोरीज्वाई पनि उतै भएकोले व्यबस्थापन गर्न गाह«ो नहुने देखेर त्यहाँ लगानी गरेको हुँ,’ दाहालले भने । 
 
भरखरैमात्र ड्यालसका अर्का एक प्रतिष्ठित व्यक्ति व्यबसायकै लागि फ्लोरिडाको टेम्पा सरेका छन् । नाम सार्वजनिक नगरिदिन आग्रह गर्दै उनले भने–‘टेक्ससमा व्यबसाय गर्न निकै कठिन भयो । प्रोपर्टी किन्नै नसिकिने भयो, त्यही भएर यता आएर साझेदारीमा एउटा ग्याँस स्टेशन चलाइरहेको छु,’ उनले हिमालयखबरसँग भने । 
 
पछिल्लो समयमा टेक्ससमा आर्थिक गतिविधि बढेको छ । थोरै कारोवार गर्ने ग्याँस स्टेशनहरु किन्दा पनि गुडविलको नाममा हजारौँ डलर तिर्नुपर्ने अवस्था छ । जसले गर्दा व्यबसाय गर्न इच्छुक नयाँ व्यक्तिहरु निकै टाढाटाढासम्म धाउन थालेका छन् । ड्यालसबाट गाडीमा एक डेढघण्टाको दुरीमा समेत ग्याँस स्टेशन पाउन मुस्किल परेपछि व्यबसायीहरु अरु राज्यतिर लगानी विस्तारमा लागेका छन् । 
 
छिमेकी ओक्लाहोमा, कोलोराडो, न्यू मेक्सिको, लुजियाना, आर्कन्सस लगायतका राज्यहरुमा टेक्ससका व्यबसायीहरु व्यबसाय खरिद गरिरहेका छन् । ड्यालसमा स्थापित व्यबसायीहरुले समेत भरपर्दाे व्यक्तिलाई जिम्मा दिएर अन्य राज्यहरुमा व्यबसाय लिएर सञ्चालन गरिरहेका छन् । 
 
गोरखाका रमेश थापा झण्डै पाँच वर्ष ड्यालस बसे । तीन वर्ष अघि उनी रेस्टुरेन्ट सञ्चालन गर्ने योजनका साथ फ्लोरिडाको स्टुअर्ट सरे । उनले यहाँ सञ्चालन गरिरहेको नमस्ते ग्रील नेप्लिज एण्ड इण्डियनले निकै राम्रो छाप छाडेको छ । रेस्टुँराले स्थानीय लगायत बाहिरबाट फ्लोरिडा घुम्न जाने पर्यटकहरुको मन जित्न सफल भएको छ । 
 
‘नेपालको सोल्टी होटलदेखि लिएर मलेसिया, सिंगापुरका होटलहरुमा सेफ भएर काम गरेँ, अमेरिकामा आइसकेपछि पनि टेक्ससको अर्भिङ, साउथ डकोटा, ओक्लाहोमा लगायत ठाउँका रेस्टुराँमा काम गरे,’ थापाले भने । फ्लोरिडाको बसाई आफुलाई सबैभन्दा राम्रो र फापसिद्ध भएको अनुभव थापाको छ । 
 
अर्का एक नेपालीसँग मिलेर उनले नमस्ते ग्रील रेस्टुरा खोलेका हुन् । उनका बिजनेस पार्टनर डाक्टर हुन् । ‘यो ठाउँमा रेस्टुरेन्ट असाध्यै राम्रो व्यबसाय भएको छ, अब यही घर किनेर बस्ने योजनामा छु,’ थापाले सुनाए । 
ओरल्याण्डोबाट मायामी जाने हाइवे ९५ नजिकै उनको रेस्टुराँ भएकोले घुम्न जाने थुप्रै नेपालीहरु त्यहाँ पुग्ने गरेका छन् । 
 
ड्यालसमा व्यबसाय थाल्न नयाँ व्यबसायीका लागि लगभग मुस्किल जस्तै हुन थालेको छ । चर्को भाडा, मनपर्दी गुडविल, अस्वस्थ प्रतिस्पर्धाले नयाँ व्यबसायी टिक्न नसक्ने अवस्था सिर्जना भएको छ । भारतीय, बंगाली व्यबसायीले सञ्चालन खर्च समेत उठाउन नसकेर छाडेका व्यबसायमा नेपालीहरुका बीचमै अस्वस्थ प्रतिस्पर्धा बढेको ठहर व्यबसायीहरुको छ । 
 
फ्लोरिडा अमेरिकाको दक्षिण–पूर्बी राज्य हो । पूर्ब, पश्चिम र दक्षिण तिरबाट समुद्रले घेरिएको फ्लोरिडाको उत्तरमा भने जर्जिया राज्य पर्छ । 
 
फ्लोरिडाको मुख्य स्रोत पर्यटन हो । बाहिरबाट घुम्न जाने पर्यटकमा यहाँको अर्थतन्त्र आधारित छ । राजश्वको सबैभन्दा ठूलो स्रोत विक्री कर हो । जसबाट कुल राजश्वको ७७ प्रतिशत प्राप्त हुन्छ ।