मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निर्मला पन्तकी आमाले दिइन् प्रमाण नष्ट गर्ने प्रहरीविरुद्ध जाहेरी

निर्मला पन्तकी आमाले दिइन् प्रमाण नष्ट गर्ने प्रहरीविरुद्ध जाहेरी


काठमाडौं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानका क्रममा प्रमाण नष्ट गर्ने र निर्दोषलाई कडा यातना दिने प्रहरीलाई कारवाहीको माग गर्दै आमा दुर्गादेवी पन्तले प्रहरीमा जाहेरी दिएकी छन् ।
 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निर्मलाकी आमा दुर्गादेवी र दिलीप विष्टका दाइ खड्ग विष्टले जाहेरी दिएका हुन् ।
 
बर्खास्तीमा परेका एसपी दिल्लीराज विष्ट, प्रहरी इन्स्पेक्टर जगदीश भट्ट, डीएसपी अंगुर जिसी, ज्ञानबहादुर सेठीलगायतका प्रमाण नष्ट गर्न सहयोग गर्ने सबै प्रहरीमाथि कारवाहीको माग गर्दै जाहेरी दिएकी छन् । 
खड्ग विष्टले निर्दोष भाइलाई यातना दिइएको भन्दै यातना दिनेविरुद्ध जाहेरी दिएका हुन् ।
 
डीएनए रिपोर्ट अझै आएन 
 
निर्मला पन्तको हत्याको आरोपमा पक्राउ परेका दुईजनाको डीएनए रिपोर्ट अझै नआएको प्रहरीले जनाएको छ ।
 
हत्यामा संलग्नताको आशंकामा काठमाडौंमै राखेर भीमदत्तनगर–१८ का विशाल चौधरी र प्रदीप रावलमाथि अनुसन्धान जारी छ । कञ्चनपुर प्रहरीका एसपी कुवेरसिंह कडायतले विशाल र प्रदीपको डीएनए रिपोर्ट अझै आइनसकेको बताए । 
घटनासँग जोडिएका प्रमाणको खोजीमा प्रहरी सक्रिय छ । बयानकै आधारमा प्रहरीले प्रदीप र विशालमाथि अनुसन्धान गरिरहेको छ । तर उनीहरुका आफन्तले भने प्रदीप र विशाल निर्दोष भएको दाबी गर्दै आएका छन् । 
 
शंकाको घेरामा राज्यको सुरक्षा निकायमै कार्यरत केही व्यक्ति समेत अझै छन् । तर, प्रदीप र विशालको अनुसन्धानको पाटो नटुंगिएसम्म प्रहरी अरुको डीएनए परीक्षण गर्ने मनस्थितिमा छैन ।