मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

निर्मला हत्यासम्बन्धी प्रतिवेदन हस्तान्तरण

निर्मला हत्यासम्बन्धी प्रतिवेदन हस्तान्तरण


काठमाडौँ । कञ्चनपुरकी निर्मला पन्तको घटना अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीको भूमिकाउपर छानबिन गर्न गठित समितिले आज प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुझाएको छ । 
 
प्रहरी अतिरिक्त महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा गठित समितिले आज प्रतिवेदन बुझाएको प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो । प्रतिवेदनको आवश्यक अध्ययनपछि थप कारवाही प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । 
 
भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त सोही नगरपालि–१८ स्थित उखुबारीमा गत साउन ११ गते मृतावस्थामा फेला परेकी थिइन् । सो घटना सम्बन्धमा अनुसन्धान र सोमा खटिएका प्रहरी अधिकृत तथा जवानको भूमिकाको विषयमा छानबिन गरी रायसुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न गत भदौ ३१ गते उक्त समिति गठन गरिएको थियो । 
 
छलफल सम्पन्न 
 
प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका सेवा निर्देशनालयबाट २० जिल्लामा सञ्चालित महिला तथा बालबालिका सेवा केन्द्र स्थापना गर्नेसम्बन्धी छलफल कार्यक्रम आज स्म्पन्न भएको छ । 
 
निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक हरिभक्त प्रजापतिले परियोजनाको सफलता, प्रतिफल तथा सिकाइबारे सम्बन्धित सबै सरोकारवाला निकायसँग अनुभव आदानप्रदान गर्न सफलता मिलेको बताए । परियोजनामा जनचेतना कार्यक्रमको प्रभावकारिता, क्षमता अभिवृद्धि, समन्वय र सहकार्यलगायत आगामी दिनमा परियोजनालाई थप प्रभावकारी बनाउने रणनीति समेटिएको छ । 
 
समुदाय प्रहरी साझेदारी कार्यक्रमले महिला तथा बालबालिकासम्बन्धी कार्यक्रमलाई समेत सँगसँगै लगिएको र आगामी दिनमा थप ५७ जिल्लामा परियोजनालाई अगाडि लगिने उनले जानकारी दिए । छलफलमा गृह मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, एशियाली विकास बैंकलगायत निकायका प्रतिनिधिको सहभागिता थियो ।