मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

खाडी मुलुकमा महिला कामदार जान रोकिएन

खाडी मुलुकमा महिला कामदार जान रोकिएन


ललितपुर । राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि तथा अधिकारकर्मीलगायतले सरकारले खाडी मुलुकमा जान रोक लगाएपनि महिला कामदार जान नछाडेको बताएका छन् । 
 
वैदेशिक रोजगारीमा गएका महिलाको संस्था पैरवीले आज राष्ट्रिय मानव अधिकार आयोगमा आयोजना गरेको ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा उनीहरुले कानूनी रुपमा जान नपाउँदा महिला कामदारले थप समस्या भोग्नु परिरहेको बताएका छन् । 
 
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारले खाडी मुलुकमा महिला कामदारलाई रोक लगाएपनि व्यावहारिक रुपमा नरोकिएको बताए । उनले भने, “महिला कामदार भारत, श्रीलङ्कालगायतका देश हुँदै खाडी मुलुक जान रोकिएका छैनन् ।” 
 
भारत जाने महिला कामदारको तथ्याङ्क नभएपनि धेरै खालका समस्या रहेको उनले उल्लेख गरे । पैरवी संस्थाका अध्यक्ष मञ्जु गुरुङले नेपालले हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सन्धीका आधारमा पनि महिला कामदारलाई कुनै पनि देशमा जान रोक लगाउन नहुने बताए ।
 
खाडी मुलुकमा गएका महिलाले कठिन पारिश्रम गर्नुपर्दा उनीहरुको स्वास्थ्य समस्या आएको उनले बताए । उनले भने, “महिला कामदारमा पाठेघर खस्ने र मिर्गौलाको समस्या बढी देखिएको छ ।” 
घरेलु श्रमिकको अन्तर्राष्ट्रिय संस्थाका एशिया प्रशान्त सदस्य ज्ञानु केसीले देशभित्रै र वैदेशिक रोजगारीमा गएका महिलाका विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।