मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नुवाकोटको घ्याङफेदी दुर्घटना : २० मृतकको सनाखत

नुवाकोटको घ्याङफेदी दुर्घटना : २० मृतकको सनाखत


धादिङ । नुवाकोट जिल्लाको घ्याङफेदीमा शुक्रबार साँझ भएको मिनीट्रक दुर्घटना हुँदा ज्यान गुमाउने २० जनाको सनाखत भएको छ । 
 
जिल्ला प्रहरी कार्यालय नुवाकोटले दुर्घटनामा मृत्यु भएका २० जना र घाइते १४ जनाको विवरण सार्वजनिक गरेको छ । घाइतेहरुको काठमाडौँको त्रिवि शिक्षण अस्पताल, बीपी स्मृति अस्पताल र अन्तर्राष्ट्रियमैत्री बाल अस्पतालमा उपचार भैरहेको प्रहरीले बताएको छ ।
 
सदरमुकाम विदुरदेखि ५० किलोमिटर दूरीमा रहेको दुप्चेश्वर गाउँपालिका–६, सिम्टाङबाट शुक्रबार साँझ घ्याङफेदीको सिसिपुतर्फ जाँदै गरेको बा ३ ख ३९१३ नंं को मिनीट्रक घ्याङडाँडामा दुर्घटना  भएको थियो । कच्ची र साँघुरो सडक भएका कारण घुमाउरो मोडमा ट्रकको टायर सडकबाट बाहिर गई दुर्घटना भएको अनुमान गरिएको छ ।
 
मिनीट्रक सडकदेखि करिब ६०० मिटर तल तादी खोलामा खस्दा क्षतिग्रस्त हुन पुगेको प्रहरीले जनाएको छ । शिखरबेँसीको सिम्टाङमा मृत्यु भएको आफन्तको घेवामा सहभागी भएकाहरुलाई लिएर गाउँ जाँदै गरेको मिनीट्रक दुर्घटनामा परेको हो ।
 
दुर्गम भएको कारण घाइतेको उद्धारमा समस्या भएको थियो । सदरमुकामबाट गएको सुरक्षाकर्मी, स्थानीयवासी, राजनीतिक दलका नेता÷कार्यकर्ता, सामाजिक कार्यकर्ताहरुले रातैभरि दुर्घटनास्थलमा घाइतेको खोजी तथा उद्धार गरेका थिए ।
 
स्थानीय उद्धारकर्ताले मिनीट्रकमा पठाएका बिरामीलाई बीच बाटोबाट एम्बुलेन्समा हालेर उपचारका लागि दुर्घटना भएको पाँच घन्टापछि राजधानी पठाइएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए । 
 
मृतकहरु अधिकांश दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का छन् । प्रहरीका अनुसार घटनास्थलमा नै ज्यान गुमाउनेहरुमा १ बालिका, २ महिला र १७ जना पुरूष रहेका छन् । सनाखत भएका मृतक पुरूषतर्फ दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ का सुकुराम तामाङ (२४), केनाम तामाङ (४८), आइते तामाङ (३५), रिभन तामाङ (२५), मंगले तामाङ (२३), सेलवन तामाङ (५५), खम्सुङ तामाङ (६२), टोकल तामाङ (५५), भीम तामाङ (२१), बिरे तामाङ (४३), लक्ष्य तामाङ (३३), मिङमार तामाङ (४४), छोङसेनम तामाङ (३३), मीनबहादुर तामाङ (५०), कृष्णबहादुर तामाङ (१९) र सुवय लामा (४०) वर्षका छन् । यसैगरी, ७ नम्बर वडाका १८ वर्षीय रितेश पण्डित रहेका छन् । 
 
दुर्घटनामा परी मृत्यु भएका दुप्चेश्वर १ का १४ वर्षीया सीता तामाङ, २७ वर्षीया बिपीमाया तामाङ र ३६ वर्षीया सुनसरी तामाङको पनि सनाखत भएको छ । सुकुराम तामाङबाहेक सबै जनाको घटना स्थलमा नै मृत्यु भएको पनि जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । 
 
गाउँबाट शव लिएर जिल्ला अस्पताल आउन असम्भव भएकाले नुवाकोट जिल्ला अस्पताल त्रिशूलीबाट चिकित्सक टोली गाउँमै पठाएर शवको पोस्टमार्टम गर्ने व्यवस्था मिलाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए ।