मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘संघीयता बलियो बनाउन राष्ट्रिय एकता’ : सभामुख

‘संघीयता बलियो बनाउन राष्ट्रिय एकता’ : सभामुख


चितवन । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संघीयता बलियो बनाउन नेपाल र नेपालीबीच राष्ट्रिय एकता हुनुपर्ने बताएका छन् । तीन नं प्रदेशसभाले शनिबार सौराहामा आयोजना गरेको अन्तरप्रदेशसभा अनुभव आदानप्रदानसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले राष्ट्रिय एकता कमजोर भए संघीयता धर्मराउने बताए । 
 
‘हामीबीच एकता भएन भने संघीयता कमजोर हुन्छ’, उनले भने, ‘संघीयता बलियो बनाउन राष्ट्रिय एकता आवश्यक छ ।’ संघीयताको विषयमा अनेकन टीकाटिप्पणी भइरहेका बेला सभामुख महराले संघीयतालाई मजबुत बनाउन सबैको साथ, सहयोग र इच्छाशक्ति चाहिने बताए । सभामुख महराले प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रिय सभाले अहिलेसम्म गरेका कामहरुको समीक्षा गरी अगाडि बढ्नुपर्ने बताए । 
 
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले संघीय र प्रदेश सरकारलाई सफल बनाउन संसद्बाट गरिने काम प्रभावकारी हुनुपर्ने बताए । ‘सरकार असफल भयो भने मुलुक नै असफल हुने अवस्था सृजना हुन्छ’, उनले भने, ‘त्यही भएर हाम्रा कामहरु सरकारलाई सफल बनाउनेतर्फ उद्यत हुनुपर्छ ।’ 
 
कार्यक्रममा प्रतिनिधिसभाकी उपाध्यक्ष डा। शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा र संघीय सभाको सम्बन्धलाई मजबुत बनाएर नयाँ संसदीय अभ्यासलाई प्रभावकारी बनाउनुपर्ने बताइन् ।
 
राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले प्रदेशसभाले गरेका काम र भावी कार्ययोजना आदानप्रदान गर्न यो कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गरिन् । प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले सातवटा प्रदेशसभाको सम्बन्ध विस्तार र ऐन, कानुन निर्माणमा भएका उपलब्धिको अनुभव आदानप्रदान गर्न कार्यक्रम आयोजना गरिएको बताए । 
 
उद्घाटन कार्यक्रम समापनलगत्तै सुरू भएको अन्तक्र्रियामा प्रदेशसभाका सभामुख र उपसभामुखले भौतिक पूर्वाधार, मानव संसाधन र मर्यादाक्रम निर्धारण सच्याउनुपर्नेमा जोड दिएका थिए ।
 
प्रदेशसभाका सभामुख तथा उपसभामुखले संसदीय प्रणालीमा ज्ञान भएका जनशक्ति नभएको, दरबन्दीको व्यवस्था न्यून रहेको, मर्यादाक्रम नमिलेको, प्रदेशका पदाधिकारी संघ जाँदा समन्वय अभाव रहेको भन्दै यसलाई छिट्टै मिलाउनुपर्ने बताएका थिए । कार्यक्रममा सातवटै प्रदेशका सभामुख, उपसभामुख तथा सचिवहरुको सहभागिता थियो ।