मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मनहरीमा रोकियो बालविवाह

मनहरीमा रोकियो बालविवाह


हेटौँडा । मनहरी गाउँपालिका–९, रजैयामा बालविवाह रोकिएको छ ।  बुधबारका लागि तय भएको १७ वर्षीया बालिकाको विवाह रोकिएको हो । 
 
२१ वर्षे केटासँग विवाह हुन लागेको भन्ने जानकारी आएसँगै मनहरी गाउँपालिकाका कार्यपालिका सदस्य पम्फा रोक्का, सिविन बाल हेल्पलाइन हेटौँडाका कार्यक्रम अधिकृत सम्झना अधिकारी, मनहरी गाउँपालिकाका स्वास्थ्य संयोजक टीका अधिकारी, मनहरी गाउँपालिका बालबालिका संरक्षणका कृष्ण पौडेलको पहलमा स्थानीय, केटा पक्ष र केटी पक्ष तथा लमीसमेत भेला गराई बृहत् छलफलपछि विवाह रोक्न सफल भएको हो ।
 
४ वर्षदेखिको प्रेम सम्बन्ध रहेको बालिका र केटाबीच बुधबार विवाह हुने तयारी भइसकेको थियो । तर, मंगलबार जनप्रतिनिधि, स्थानीय अगुवा, बालविवाहविरूद्ध सक्रिय अभियन्ताले मनहरी–९, रजैयास्थित केटा र किशोरी दुवैको घर पुगेर विवाह रोक्न सफल भएको हो । विवाह भोजका लागि बालिकाको घरमा तयारी गरिसकेको अवस्थामा विवाह रोकिएको हो । 
 
मनहरी गाउँपालिका–५, हा“डीखोलास्थित भोजसिद्ध माविबाट एसईई उत्तीर्ण बालिका उच्च शिक्षा अध्ययन नगरी बसेको र ४ वर्षदेखिको प्रेम सम्बन्धबारे घरपरिवारलाई पनि थाहा भएकोले विवाह नै गरिदिने तयारी भएको थियो । बालविवाहविरूद्ध क्रियाशील एक अभियन्ताले भने, ‘हामी बालविवाह गर्नुहुन्न भनेर रोक्न गएका थियौँ, बालिका र केटाले त मानेकै थिएनन्, तर हामीले बल्ल बल्ल सम्झाइबुझाइ गरेर विवाह रोक्न सफल भयौँ ।’
 
विवाहको तयारीमा रहेको २१ वर्षे केटा एसईई तहसम्मको अध्ययन पूरा गरेर हाल हाउस वायरिङको काम गर्छन् । २० वर्षभन्दा कम उमेरमा विवाह गर्नु कानुनविपरीत हुनेछ । 
 
नेपालको कानुनमा बालविवाह गरे / गराए दण्डनीय अपराध ठहरिने व्यवस्था छ । मंसिर २१ गते कुरा छिनिएको बालिकाको बुधबार हुने विवाह रोकिएपछि स्थानीयहरुले पनि अब बालविवाहलाई रोक्न आफ्नोतर्फबाट सक्दो पहल गर्ने बताएका छन् ।