मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

‘गरिबलाई फसाएर धर्म परिवर्तन’

‘गरिबलाई फसाएर धर्म परिवर्तन’


भरतपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री कमल थापाले पश्चिमी राष्ट्रहरुले गरिब नेपालीहरुलाई लोभलालचमा फसाएर धर्म परिवर्तन गराएको आरोप लगाएका छन् । 
 
बुधबार भरतपुरमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले पैसाले धर्म किनेर नेपाली राष्ट्रिय एकतालाई कमजोर पार्ने काम भइरहेको बताए । उनले भने, ‘गरिब नेपालीको शोषण गरेर धर्म परिवर्तन गराउने जोकोहीलाई कारबाही गरिनुपर्छ ।’
 
अध्यक्ष थापाले संगठित र योजनाबद्ध तरिकाले धर्म परिवर्तन गराइएको बताए । उनले भने, ‘देशमा धर्मनिरपेक्ष घोषणा भएपछि १२ वर्षको अवधिमा झन्डै १० लाखले धर्म परिवर्तन गरेका छन् ।’
 
पत्रकार सम्मेलनमा अध्यक्ष थापाले युनिभर्सल पिस फेडरेसन (युपीएफ) एनजिओले यसअघि काठमाडौँमा गरेको ‘एसिया प्यासिफिक समिट’ नाम दिइएको सम्मेलनको पनि विरोध गरे । उनले भने, ‘त्यो सम्मेलन हुनै हुन्थेन, त्यसमा पनि राज्यको संलग्नता हुनु त अझ गम्भीर आपत्ति भयो । यस्ता कार्यक्रमले नेपालको धार्मिक, सांस्कृतिक अवस्थामा चोट पुग्छ ।’
 
राप्रपा नेपाल हिन्दुराष्ट्र पुनस्र्थापना गर्नका लागि देश दौडाहामा रहेको उनले बताए । पत्रकार सम्मेलनमा थापाले भने, ‘नेपालमा हिन्दुराष्ट्र फर्काउनका लागि राप्रपा नेपालले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम गरेको छ ।’ उनले फागुन ७ गतेदेखि हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि देशव्यापीरुपमा जनदबाब कार्यक्रम गर्ने बताए । 
 
धर्मजस्तो विषयमा जनमतसंग्रह गर्न नहुने अध्यक्ष थापाको भनाइ थियो । ‘सहमति र समझदारीबाट देशलाई हिन्दुराष्ट्र घोषणा गरिनुपर्छ’, उनले भने, ‘सहमति हुन नसके जनमतसंग्रहमा जान पनि हामी तयार छौँ ।’
 
फरक प्रसङ्गमा अध्यक्ष थापाले निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसक्दा सरकारमाथि कलङ्क लागेको बताए । उनले भने, ‘हत्यारा पत्ता लगाउन दिइएको जनदबाबमा हाम्रो साथ र सहयोग छ, सरकारले तत्काल यो घटनामा लागेको कलङ्क मेटाउन आवश्यक छ ।’ अध्यक्ष थापाले सरकार सबै क्षेत्रमा असफल भएको आरोपसमेत लगाए । 
 
राप्रपा शक्तिहरुको एकीकरणबारे अध्यक्ष थापाले एकीकरण प्रक्रिया हाल स्थगितमात्र भएको बताए । उनले भने, ‘एकताको मिति घोषणापछि उहाँहरु (पशुपति राणा नेतृत्वको राप्रपा)ले समय माग्नुभयो, त्यसैले तत्काल एकीकरणको पाटो स्थगितमात्र भएको हो ।’
 
अध्यक्ष थापाले पार्टी एकताको मिति सरेको भनेर बुझ्न सबैलाई आग्रह गरेका थिए ।