मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

समुदायसंग नजिक हुंदै एनआरएनए

समुदायसंग नजिक हुंदै एनआरएनए


हिमालयखवर संवाददाता- 
ह्युस्टन (टेक्सस) । 'बल्ल ह्युस्टनमा एनआरएन भेटियो ।' -धेरै लामो शून्यता पछि हिजो यहाँ देखिएको एनआरएन सक्रियताप्रतिको टिप्पणी हो यो । 
 
एनआरएन टेक्स च्याप्टरले हिजो आयोजना गरेको समुदायसंगको अन्तरक्रिया कार्यक्रममा सहभागी नेपालीहरुले खुलेरै एनआरएन अमेरिका र टेक्सस च्याप्टरका राम्रा नराम्रा कामहरुको चिरफार गरे । 
 
कार्यक्रममा एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनील शाह ,उपाध्यक्ष उमा थापा, प्रवक्ता विनोद तिवारी र बोर्ड अफ डाइरेक्टर डा. अर्जुन बन्जाडे सहित पूर्व उपाध्यक्ष राम सी पोख्रेल लगायत अन्य एनआरएन अभियन्ताहरु सहभागी भए । 
 
एनआरएन टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेलको सभापतित्वमा संचालित उक्त कार्यक्रममा वक्ताहरुको लामो सुचि र केही वक्ताका लामो भाषणले पट्यारिलो देखिए पनि कार्यक्रम आफैंमा नयाँ र सकारात्मक भएको सहभागीहरुले टिप्पणी गरे । 
 
अन्तरक्रियामा सहभागीहरुले एनआरएन अमेरिकामा सदस्यता विस्तार, राजनीतिक गन्ध, स्थानीय संस्थाहरुसंग समन्वयजस्ता विषयहरु उठाएका थिए । सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै एनआरएन , अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनील शाहले हिजोभन्दा आज एनआरएनए गतिशील भएको, सदस्यता सम्बन्धी विवादबाट मुक्त भएको र यसलाई अमेरिकावासी सबै नेपालीको अपनत्व हुनेगरी प्रभावकारी बनाउने काम भैरहेको बताए । 
 
टेक्सस च्याप्टरका उपाध्यक्ष द्रोण गौतमको संयोजनमा आयोजित अन्तरक्रिया एवम् सम्मान कार्यक्रममा स्थानीय संस्थाहरुलाई सहभागी गराई उनीहरुको सहयोग र सहभागितालाई सम्मान गरिएको थियो । 
 
एनआरएनए उपाध्यक्ष उमा थापा , प्रवक्ता विनोद तिवारी , बोर्ड अफ डाइरेक्टर डा. अर्जुन बन्जाडे, पूर्व उपाध्यक्ष राम सी पोख्रेल र एनआरएन अभियन्ता एवम् डीसी नेपाल डटकमका प्रितिनिधि परशुराम भण्डारीले आआफ्नो मन्तव्य राखेका थिए । 
 
त्यसैगरी नेप्लिज एसोसिएसन अफ ह्युस्टनका अध्यक्ष डा. विष्णु नेपाल, गुल्मी समाजका अध्यक्ष भिष्म मरासिनी , नेपाल हेरिटेज युनियनका अध्यक्ष डा. चण्डी भण्डारी , सिएनएसका अध्यक्ष गंगा शर्मा, सतिष त्रिपाठी र अन्तरराष्ट्रिय नेपाली समाज ह्युस्टनका अध्यक्ष शेष शर्माले एनआरएनले आफ्नो प्रभावकारिता र गरिमा बढाउन भूमिका खेल्नुपर्ने सुझाव प्रस्तुत गरे । 
 
समारोहमा टेक्सस च्याप्टरका अध्यक्ष भानु खरेल र उपाध्यक्ष द्रोण गौतमले च्याप्टरका गतिविधि बारे प्रकाश पार्दै र ग्रेटर ह्युस्टनको नेपाली समुदायसंग एनआरएनएलाई नजिक पुर्याउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको बताए । 
 
कार्यक्रममा च्याप्टरका सदस्य जगदिस काफ्लेले स्वागत मन्तव्य राखेका थिए । पहिलो चरणको कार्यक्रम च्याप्टरका महासचिव पदम ठकुराठीले संचालन गरेका थिए । 
 
हिमालयखबर र दुरबीन नेपाल सम्मानित 
समुदायमा रहेर सहयोगी एवम् सकारात्मक भूमिका निर्वाह गरेकोमा  हिमालयखबरका सल्लाहकार सम्पादक तारा बराल र दुरबीन नेपालका सम्पादक सुजन पण्डितलाई सम्मानस्वरुप 'प्लेक' प्रदान गरियो । 
 
सम्मान ग्रहण गर्दै पत्रकार बरालले समुदायमा आधारित पत्रकारिता हिमालयखबरको मूल उदेश्य भएको र प्रवाशमा रहेका नेपालीहरुको कथा व्यथा र सफलताका कुरालाई समुदायसम्म पुर्याउन प्रयत्नशील रहेको बताए । 
 
त्यसैगरी पत्रकार पण्डितले दुरबीन नेपाल संचालनको एकवर्षमै सम्मानित भएकोमा गर्व लागेको र आगामी दिनमा समुदायमुखि पत्रकारिता गर्न अझ प्रेरित गरेको कुरा बताए । 
 
समारोहमा नेप्लिज एसोसिएसन अफ ह्युस्टन, गुल्मी समाज, नेपाल हेरिटेज युनियन, आइएनएलएस ह्युस्टन, एनएएचका संस्थापक अध्यक्ष राजेन्द्र श्रेष्ठ  र सीएनएसलाई पनि पुरष्कॢत गरियो । 
 
त्यसैगरी नेपाली समुदायप्रति सदैब सहयोगी भएकोमा न्यूयोर्क लाइफ इन्सुरेन्सका बच्चा तिवारी, भी-केयर क्लिनिक, आसियानाका चन्द्रकान्त शर्मा, प्रेम शाही, स्टर्लिङ्ग म्याक टोयोटा, मनपसन्द सुपर मार्केट, ज्ञानेश्वर श्रेष्ठ, दिनकर अमात्य र जगदिस काफ्ले सम्मानित भए । 
 
मनकारी राम 
 
ड्यालसका  सक्रिय समाजसेवी एनआरएनएका पूर्व उपाध्यक्ष राम सी पोख्रेलले स्थानीय पशुपति मन्दिर एवम् हिमालय सामुदायिक केन्द्रकोलागि २५ सय डलर सहयोग गर्ने उद्घोष गरे । गतवर्ष आयोजित कार्यक्रममा आफू मन्दिरमा उपस्थित हुन नसके पनि योपाली यस्तो पुनित कार्यमा सहयोग गर्न पाउँदा आफू धन्य भएको कुरा पोख्रेलले बताए । 
 
उनले एनआरएनले नेपालीपन र संस्कॢतिको प्रवर्ध्दन गर्ने कार्यक्रम ल्याउन जरुरी भएको र यसलाई राजनीतिबाट अलग राख्न आवश्यक भएको कुरामा जोड दिए । 
 
ह्युस्टनको पशुपति मन्दिरलाई एनआरएन अभियन्ताहरुबाट हालसम्म २८हजार डलर सहयोग प्राप्त भएको छ । तस्बिर: सुजन पण्डित / हिमालयखबर 
 
तस्वीरमा कार्यक्रमको झल्को