कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएका छन् ।
केही दिनअघि राजधानीबाट पक्राउ परेका रावलले केन्द्रीय अनुसन्धान ब्यूरो [सीआईबी]सँग हत्या स्वीकार गरेका हुन् । गएराति नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा रावलले घटना स्वीकार गरेको सीआईबी स्रोतले बताएको छ ।
सीआईबीले रावलसँग गएराति १० बजेदेखि बिहान २ बजेसम्म बयान लिएको थियो। सोही क्रममा रावलले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका हुन्। घटना स्वीकार गरेपछि प्रहरीले रावलको डीएनए परीक्षणका लागि प्रहरी प्रयोगशालामा पठाएको छ। यसको रिपोर्ट आउन बाँकी छ ।
निर्मलाको न्यायका लागि देशभर प्रदर्शन चर्किएपछि आईजीपी खनाल स्वयंको उपस्थितिमा आरोपितको बयान लिनेक्रम सुरु भएको हो । रावलसँगको बयानपछि कञ्चनपुरबाट थप केही व्यक्तिलाई पक्राउ गरिएको छ। उनीहरुलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । निर्मलाका छिमेकी रावलका बुबाआमा भारतमा बस्दै आएका छन् ।
निर्मलाको शव भेटिएको दिनदेखि बेपत्ता भएका रावल चार महिनासम्म भारतमै बसेको र केही दिनअघिमात्र काठमाडौं आएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो । रावललाई महाराजगञ्ज वृत्तमा राखेर अनुसन्धान भइरहेको स्रोतको दाबी छ । गएरातिको साविति बयानमा आईजीपी खनालका साथमा सिआईबी प्रमुख डीआईजी निरजबहादुर शाहीलगायत सहभागी थिए ।
-एजेन्सीको सहयोगमा
प्रतिक्रिया