विचार / ब्लग

क्रिश्चियन ब्लेसिङ्ग र होली वाइनले मात्तिएछ ओली सरकार

450 पटक पढिएको

-तारा बराल

6th Dec 2018, Thursday | २०७५ मंसिर २०, बिहीवार १७:१४
धेरै समय भयो मैले नेपालको राजनीति र त्यहाँको वेथितिको बारेमा लेख्न छोडेको ।  फेसबुकमा फाट्टफुट्ट स्टाटस लेख्ने बाहेक केही गरिन । बरु सामाजिक विषय र प्रवासमा नेपालीहरुका कथा व्यथा र सफलताका गाथाहरु लेख्न थालें । यता बसेर उताको कुरा धेरै किन कोट्याउँ भन्ने लाग्थ्यो । तर योपाली मनै थाम्न सकिन । अति हुनथालेपछि मनले पनि विद्रोह बोल्ने रैछ । 
 
प्रचण्ड बहुमत लिएर केपी ओली गणतान्त्रिक नेपालको प्रधानमन्त्री बनेपछि मैले फेसबुक मार्फत हार्दिक शुभकामना मात्रै दिएको थिएँ । उनको काम र इमान्दारिताको नेपाली जनताले जुन दिन प्रशंसा गर्लान् त्यहीबेला बधाई दिउँला भनेर कुरेर बसें । मेरो प्रतिक्षाले ओलीको सत्तारोहणको नौ महिना पूरा गर्यो । बधाई दिने कतै ठाउँ भेट्दिन । जता आँखा लगाए पनि झनझन बिग्रेको र सप्रिने कुनै संकेत देखिन । 
 
आफ्नै जिल्लावासी देशको सर्वोच्च कार्यकारी स्थानमा पुग्दा कस्लाई खुशी र गर्व नलाग्दो हो, मेरो पनि खुशी गर्व बनेर उठेको थियो । स्थीर सरकार बनेको छ, अब भने देशमा सुशासन र समॢध्दि आउला भन्ने अपेक्षा थियो । तर सपना बाड्ने, विरोधको स्वर सुन्नै नसक्ने, राजनीतिलाई सामन्ती संस्कारतिर लैजाने काम मात्रै देखिन थालेपछि त्यो अपेक्षा धरासायी भएको छ । लाग्छ, नेपालमा बामपन्थीको हैन अभिजात्य वर्गको सरकार छ । प्रधानमन्त्री केपी ओलीको दिनचर्या अरुलाई गाली गर्ने, भिडन्त निम्त्याउने टिकाटिप्पणी गर्ने अनि आफ्नो गल्ती कमजोरी स्वीकार नगरी धम्क्याउने कार्यमा सीमित देखिन्छ । राजनेतामा हुनुपर्ने शालिनता र शिष्टता पटक्कै देखिदैन । 
 
ओलीले आफ्नो गल्ती विरुध्द बोल्ने र लेख्नेहरुलाई आउ कोको छन् मैदानमा म भिड्न तयार छु भन्ने शैलीमा धम्क्याउन शुरु गरेछन् आजबाट । कार्यकारी प्रमुखको बोली र व्यवहारले अब त लाज मात्रै हैन घीन पनि लाग्ने स्थिति आइसकेछ । 
 
राम्रो काम गर्न कस्ले छेकवार लाउँछ होला ! बहुमत छ, त्यसमा पनि दुईतिहाइ । कर्मचारी, प्रतिपक्ष, बुध्दिजीवि र व्यवसायीले गर्न दिएनन् भन्नु नालायिकि बाहेक के होला ! 
 
देश नै आन्दोलित छ निर्मला पन्तको न्यायकोलागि । चार महिना बित्यो गफमा, दोषीको पत्तो छैन । भ्रष्टाचारप्रति शुन्य सहनशीलता भनिन्छ, व्यवहारमा त्यो शुन्य छ । विलासीता बढेको छ ,राष्ट्र प्रमुख स्वयम् विलासी भएपछि त्यसको रोग तलैसम्म पुग्छ । अठार करोडको गाडी किन्नु छ, छेवैमा हेलीप्याड पनि चाहियो । शीतल निवास स्यानो भयो, सत्तरी वर्ष पूरानो प्रहरी तालिम केन्द्र पनि चाहियो । 
 
जनताको भागमा नुन छैन सत्ताधारीलाई २४ क्यारेटको सूनले पुगेन । विवादित कोरियन धार्मिक संस्थाको कार्यक्रममा सरकारको पुरा सहयोग र सहभागिताले  संविधान उल्लंघन मात्र गरेन अब नेपालमा धार्मिक ध्रुबिकरण पनि निम्त्यायो । हो, सबैको धार्मिक आस्थालाई सम्मान गर्नु पर्छ, तर धार्मिक आवरणमा राजनीति गर्नुहुदैन । सरकार र प्रधानमन्त्री ओलीले कुनै एउटा विवादित  एनजिओको प्रोक्सी बन्नु हुदैन । तर ओलीमा यति अहंकार चडिसकेछ, विरोध र सुझाव उनी सुन्नै सक्दैनन् । इसुकि एकमात्र छोरी "माता" -को ब्लेसिङ्ग पाएपछि उनलाई कस्को डर ! देशका सुदूर गाउँहरुमा  सिटामोल नपाएर गरीब नेपाली मरिरहेका छन्, यता राजधानीमा विवादित एसिया प्यासिफिक समीटको नाममा भेलाभएका सयौंलाई सरकार राजकीय भोज दिन्छ, होली वाइनले धर्मान्तरण गरेको दॢश्य स्वाद मानेर हेर्छ । लाग्छ, बामपन्थी भनिएको सरकार क्रिश्चियन ब्लेसिङ्गले धन्य बनेको छ । तक्मा र एकलाख डलर जो पाए ! 
 
अस्वस्थ्य सरकार, सुस्त प्रतिपक्ष 
नेपालका चर्चित राजनीतिक टिप्पणीकार मित्र पुरन्जन आचार्य आजकाल भन्ने गर्छन् - अस्वस्थ्य सरकार, सुस्त प्रतिपक्ष । उनको यो खरो टिप्पणी सापटी लिएर मैले माथिको उपशीर्षक राखेको हुँ । 
 
ओली सरकारले बडो हाइफाइ तरिकाले मजदूरहरुकोलागि सामाजिक सुरक्षा व्यवस्था घोषणा गर्यो । त्यो व्यवस्था आफूले मात्रै ल्याएको जस्तै गरी प्रचार प्रसार गर्यो । यो कार्यक्रम आफैंमा नराम्रो छैन, यसकालागि विगत पच्चीस वर्षदेखि तयारी चल्दैथियो । गिरिजाप्रसाददेखि मनमोहन, शेरबहादुर, बाबुराम र सुशील कोइराला हुंदै ओलीमा आइपुग्दा यसले कानुन बन्ने अवसर पायो । श्रमिक नेताहरु लक्ष्मण बस्नेत, मुकुन्द न्यौपाने, विष्णु रिमाल लगायत हजारौं श्रमिकहरुको योगदान यो सामाजिक सुरक्षा अवधारणामा समाविष्ट छ । यो पंक्तिकार पनि कुनैबेला यस्को अवधारणामा सहभागी बनेर ट्रेड युनियन काँग्रेस मार्फत  एउटा पुस्तक समेत प्रकाशनमा आएको थियो । 
 
तर प्रचार मोहमा प्रधानमन्त्री ओली यसरी अन्धो भएछन्  सामाजिक सुरक्षा कार्यक्रम उनैको आविष्कार हो, यस्को श्रेय उनकै मात्र हो भन्ने अहमले राजधानीका भित्ता र बिजुलीका पोलहरु रातारात उनको फोटो पोष्टरले ढाकिएछन् । आफ्नो फोटोको ठाउँमा कुनै एउटा मजदुरको तस्विर राखेको भए त्यस्को प्रभावकारिता अर्कै हुन्थ्यो । सामाजिक संजाल र मिडियाहरुमा प्रधानमन्त्रीको यस्तो हरिबिजोग देखिने थिएन । 
 
विवादित एसिया प्यासिफिक समीटको बेला राजधानीमा जोरबिजोर ट्राफिक व्यवस्था लागू गरे, विरोधको कारण त्यो एकदिन पनि टिकेन । समिट सफल पार्न आफ्नो गिर्दो स्वास्थ्य समेत ख्याल नगरी होमिए । आफ्नो बासस्थान नै छोडेर सोल्टी होटलमा चारदिन डेरा जमाए । त्यस्को औचित्य उनका सल्लाहकार र स्वयम् उनले पुष्टी गर्न सकेनन् । धेरै व्यस्तता प्रधानमन्त्री ओलीको अहिलेको स्वास्थ्य स्थितिकालागि  राम्रो हैन भन्ने चिकित्सकको सुझाव छ । तर उनी आफू पूर्ण स्वस्थ्य भएको देखाउन चाहन्छन् । उनलाई डरले घेरेको छ - कतै उनको शक्तिशाली कुर्ची यहि बहानामा नखोसियोस् । 
 
प्रधानमन्त्री ओलीको बोली र  व्यवहारमा न त शालीनता देखिन्छ न त उनका बतासे कार्यक्रम र निर्णयहरुमा परिपक्वता । उनको पुरै टीम अव्यवस्थित र अनियन्त्रित देखिन्छ । संसदीय पध्दतिमा सरकार भनेकै प्रधानमन्त्री हो । प्रधानमन्त्री नै अस्वस्थ्य भएपछि सरकार र  त्यसका सबै अवयबहरु शिथिल हुने नै भए । शायद त्यसैले मित्र पुरन्जन आचार्यले ओली सरकारलाई अस्वस्थ्य मानेको हुनुपर्छ । 
 
लोकतन्त्रको अर्को सुन्दर पक्ष भनेको सबल प्रतिपक्ष हो । यसले सरकारका गल्ती कमजोरीलाई सशक्त ढंगले प्रतिकार गर्छ । सरकार गलत बाटोमा जान थाल्यो भने त्यसलाई रोक्छ । तर दुर्भाग्य , यतिबेला नेपालमा प्रतिपक्षी दल कहाँ छ भनेर दुरविनले खोज्दा पनि नभेटिने अवस्था छ । यति धेरै  जल्दाबल्दा इस्युहरु छन् मुलुकमा, प्रतिपक्ष उँघेर बसेको छ । गगन थापाको आवाज मात्र उर्लेको सुनिन्छ संसदमा , सभापति (संसदीय दलका नेता ) ,उपसभापति अनि महामन्त्री भित्रै छन् - उनीहरु एकशब्द बोल्दैनन् । शेरबहादुर देउवा, विजय गच्छदार  र सशांक कोइराला के खोपीका देउता हुन् ? उनीहरुले बोल्नै नपर्ने ! 
 
उता पार्टीभित्र पनि त्यस्तै हालत छ काँग्रेसको । वर्षौंदेखि पार्टी सत्ता र राज्यसत्तामा बसेर हालिमुहाली गरेकाहरुनै त्यहाँभित्र छन् । वैचारिक हैन व्यक्तिगत गुटउपगुट छन् । समग्र पार्टी भन्दा आफ्नो स्वार्थमा रमाउनेहरु नै बलिया देखिन्छन् । अस्तव्यस्त देखिन्छ काँग्रेस । सभापति देउवाको न कुनै भिजन छ न व्यवस्थापकिय क्षमता । कुनै कुरामा पनि उनको प्रभावकारिता देखिदैन । उनका समकालीनहरु गफ त दिन्छन् तर सुस्त छन् । अब पनि देउवा र यिनीहरुबाट केहि होला भन्ने अपेक्षा गर्नु आत्मरतिमा स्खलित हुनु मात्रै हो । 
 
सामाजिक संजालमा आवाज उठ्छ, नागरिक समाज बोलिरहेको छ, मिडीयाहरु जागरुक छन् । तर प्रतिपक्ष बोल्दैन । संस्थागतरुपले कुनै प्रभावकारी कदम चाल्दैन । त्यसैले प्रधानमन्त्री ओली र सरकारलाई हाइसन्चो छ, जे गरेनि भयो । 
 
राजनीतिक रमिता मौलाउंदो छ देशमा । रमिता पनि स्तरीय र कामलाग्ने भैदिए त हुन्थ्यो, त्यसले त अझै बर्वादी मात्र निम्त्याउला भन्ने डर छ । देश र जनताप्रति सम्वेदनाहीन सरकार र प्रतिपक्ष छ । सरकार रोगी छ, प्रतिपक्ष सुस्त र दिशाहीन । अन्तराष्ट्रिय खेलाडीहरु दाउ हेरेर बसेकाछन् । आफूलाई त डर लागिरहन्छ,  कसरी जोगिन्छ होला मेरो मातॢभुमी !  किन चेत्दैनन् राज्यसत्ताका मानिसहरु ? कुनैबेला आफूलाई ऐंठन हुन्छ प्रवासमा, नेपाल कसरी सुखी र समॢध्द होला ! नालायकहरुको झुण्डबाट कुनै एउटा चमत्कारिक लायक उदाए हुन्थ्यो । 
 
दीप श्रेष्ठको गीत सम्झिन्छु अनि फेरि मन भरङ्ग हुन्छ । 
हर रात सपनीमा ऐठन हुन्छ 
गाउँमा फेरि पहिरो गयोकि .....