राजनीति / समाज

वायुसेवा निगमको वाइड बडी खरिदमा अनियमितताबारे छानविन

62 पटक पढिएको

5th Dec 2018, Wednesday | २०७५ मंसिर १९, बुधवार ०६:१३
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेका प्रश्नप्रति सरकार र मन्त्रालय गम्भीर रहेको बताएका छन् । 
 
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले समग्रतामा सबै विधि र प्रक्रिया पूरा गरेर जहाज खरीद गरेको देखिए पनि कुन कुरा ठीक थियो, कुन कमजोरी रह्यो भन्नेबारेमा छानविन र अध्ययन भइरहेको जानकारी दिए । 
 
उनले भने, “कहीँ कुनै अनियमिता, कमजोरी भएको छ भने सरकारले त्यसलाई गम्भीरतापूर्वक लिएर कारवाही गर्नेछ, अध्ययन र छानविन भइरहेको छ, आवश्यकता परेमा उच्चस्तरीय छानविन समिति गठन गरिनेछ, निगमलाई राम्रो गराउने सन्दर्भमा कुन बाटो हिँड्दा उपयुक्त हुन्छ सरकार समितिसग परामर्श गरेर अघि बढ्न तयार छ ।” 
 
पछिल्लो समय तोक आदेशमा निगमका जहाजको टिकट किनबेच हुने प्रवृत्ति हटाइएको, बजार व्यवस्थानमा सुधार ल्याउन कोशिस भइरहेको र समयमा जहाज उडाउने कुरामा निकै ध्यान दिइएको बताउँदै मन्त्री अधिकारीले भने,
 
“नयाँ ल्याइएको वाइड बडी जहाजले जति उडान भर्नु पर्दथ्यो त्यसको आधा समयमात्र उडेको छ, पूरा समय उडेको छैन ।” 
 
हवाई उडान सम्बन्धमा ३९ देशसँग सम्झौता भए तापनि युरोपियन युनियनले नेपालको जहाज उडानमा कालो सूचीमा राखेका कारण कतिपय मुलुकमा उडान प्रभावित हुँदै आएको उनले बताए । मन्त्री अधिकारीले भने, “युरोपियन युनियनलगायतको प्रतिबन्ध हटाउन कूटनीतिकलगायतका माध्यमबाट प्रयास भइरहेकाले मलाई आशा छ, आगामी चैत वैशाखसम्ममा हट्ने छ ।” 
 
आम नागरिकले निकै आशा र भरोसा गरेका व्यक्ति मन्त्री अधिकारीबाट निराशा झल्कने जवाफ आउन हुन्न भन्दै सांसदहरुले पैसा नकमाउने भए निगमले खरीद गरेको जहाजको कुनै औचित्य नरहने तर्क प्रस्तुत गरे । निगमको वाइड बडी जहाज खरीदमा भएको अनियमितताका सम्बन्धमा हालसम्म गरेको अध्ययनबाट ३८ वटा प्रश्न उब्जेको बैठकमा जानकारी दिइयो ।