मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाल स्काउटको तदर्थ समिति गठनबारे सिंहदरबारमा छलफल

नेपाल स्काउटको तदर्थ समिति गठनबारे सिंहदरबारमा छलफल


काठमाडौँ । नेपाल स्काउटको ऐन र तदर्थ समिति गठनबारे युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबार काठमाडौँमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 
युवा तथा खेलकुद मन्त्री एवम् नेपाल स्काउटका प्रमुख स्काउट जगतबहादुर सुनार (विश्वकर्मा)को अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 
 
खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपाल स्काउटको ऐन र तदर्थ समिति गठनसम्बन्धी आएका सुझाव र यसअघि पूर्वसंयोजक ध्रुवप्रसाद शर्माको कार्यकालमा प्राप्त ऐन सुझावका आधारमा खेलकुद मन्त्रालयले तयार पारी संसद्मा पेश गर्ने र संसद्बाट पारित भइआएको ऐन कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे ।  
 
नेपाल स्काउट चितवनका जिल्ला आयुक्त एवम् पूर्व राष्ट्रिय संगठन आयुक्त तीर्थराज न्यौपानेले नेपाल स्काउट नेतृत्वविहीन हुँदा स्काउटमा लाग्ने तमाम स्काउटरहरुमा निराशा छाएको बताए । 
 
आयुक्त न्यौपानेले ऐन संसद्मा छिटो पेश गरी स्काउटलाई निकास खोल्ने विषयमा जोड दिँदै तत्काल तदर्थ समिति गठन प्रक्रिया अघि बढाउन माग गरे । सोही अवसरमा न्यौपानेले नेपाल स्काउट चितवनको जग्गासम्बन्धी कागजपत्रको फाइल मन्त्री विश्वकर्मालाई हस्तान्तरण गर्दै काठको गैँडा उपहारस्वरुप प्रदान गरे । 
 
कार्यक्रममा प्रा गोविन्द नारायण ज्यापू, रामवदन जोशी, पुष्पलता भट्टराई रामप्रसाद भट्टराईलगायतले आआफ्नो सुझाव पेश गरेका थिए ।  
 
नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव यज्ञबहादुर सिंह ओलीले रवीन दाहाल र चन्दन कौशिकबाट अदालतमा परेको मुद्दाको विषयमा कार्यक्रममा सबैले सुन्ने जिज्ञासा राख्दै प्रष्ट पार्न आग्रह गरेका थिए । दाहाल र कौशिकले स्काउटको निकासका लागि आफूहरुको कुनै प्रकारको अवरोध नहुने बताए । 
 
कार्यक्रममा मन्त्री विश्वकर्माले सबै अग्रज स्काउटरहरुको राय सुझाव अत्यन्त सकारात्मक र प्रशंसनीय रहेको बताउँदै स्काउटबाट आएका ऐन सुझावका आधारमा संसद्मा पेश गर्ने र मंसिरको अन्त्यसम्म समावेशीरुपमा तदर्थ समिति गठन गर्ने प्रतिबद्धता जनाए । 
 
कार्यक्रममा नेपाल स्काउटका कार्यालय प्रमुख केशव बोहरा र प्रशासकीय अधिकृत रविराज पौडेलले समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।