मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

ठेकेदारी प्रथा अन्त्य गर्छु : मुख्यमन्त्री पौडेल

ठेकेदारी प्रथा अन्त्य गर्छु : मुख्यमन्त्री पौडेल


चितवन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणको काममा मौलाउँदै गएको ठेकेदारी प्रथाको अन्त्य गर्ने बताएका छन् । ठेकेदारी प्रथाका कारण लक्षित योजनाहरु समयमै पूरा नहुने र गरेका काम गुणस्तरहीन हुने भन्दै उनले ठेकेदारी प्रथाको अन्त्य गर्न प्रदेश सरकार लागिपरेको बताए ।
 
प्रथम खैरहनी महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले ठेकेदारी प्रथाको अन्त्य गर्न प्रदेश सरकारले प्रदेश निर्माण कम्पनी सञ्चालन गर्ने तयारी गरेको बताए । ‘टेण्डर आह्वान् गरेर ठेकेदारलाई काम गर्न दिँदा सरकार नै आलोचित हुने वातावरण बन्यो’, उनले भने, ‘अब विकास निर्माणका काम प्रदेश सरकारले सञ्चालन गरेको कम्पनीले गर्ने छ ।’
 
उनले राष्ट्रिय गौरवका योजना, ठूला योजना र महत्वपूर्ण योजनाको काम कम्पनीले गर्ने बताए । ‘ठेकेदारका काम गराइमा ढिलासुस्ती भयो’, उनले भने, ‘अब यो ठेकेदारी प्रथा नै अन्त्य गर्नुपर्छ ।’ मुख्यमन्त्री पौडेलले भ्रष्टाचार गर्नेलाई कडा कारबाही गर्ने बताए । ‘हामी भ्रष्टाचार गर्दैनौँ’, उनले भने, ‘अरूलाई पनि गर्न दिन्नौँ, गर्नेलाई कडामात्र होइन निर्मम कारबाही गछौँ ।’
 
उनले भ्रष्टाचारमुक्त समाज बनाएर प्रदेशलाई नमुना बनाउने दाबी गरे । मुख्यमन्त्री पौडेलले अबको एक वर्षभित्र जनताले प्रदेश सरकारको अनुभूति गर्ने दाबी गरे । ‘हामी भर्खरै जन्मेका छौँ’, उनले भने, ‘अहिले हिँडिरहेका छौँ, अबको एक वर्षभित्र गन्तव्यमा पुग्छौँ ।’
 
उनले प्रदेश सरकारको अहिलेको कामलाई हेरेर निराश नहुन जनतालाई आग्रह गरे । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विनियोजन गरेको बजेट कार्यान्वयनको चरणमा रहेको भन्दै एक वर्षभित्र प्रदेशभित्रका सबै जिल्लामा विकासको काम देखिने स्पष्ट पारे ।