विचार / ब्लग

खरसाङ्गको भ्रमण: अलिअलि खस्रो अलिअलि चिल्लो

83 पटक पढिएको

– लिला श्रेष्ठ

1st Dec 2018, Saturday | २०७५ मंसिर १५, शनिबार ०८:००
हाम्रो योजनाअनुसार आज खरसाङ्ग जानु थियो । दार्जिलिङ्गका थुप्रै ठाउँहरु अझै घुमिएको थिएन । घुम्न पनि समय नपुग्ने भयो । त्यसैले खरसाङ्ग जाने रेलको दौडधुपतिर लाग्यौँ । समय पनि कस्तो परेको ? रेल क्यान्सिल भएको पो रहेछ । अब बस नै भएपनि जाने भनेर बस बिसौनीतिर दौडियौँ । गौतमजी र देवेन्द्रजी खरसाङ्ग नजाने विचारमा हुनुहुन्थ्यो । हामी बाँकी जाने तरखरमा थियौँ । मारुती भ्यानले हामीलाई डाकेको डाकेकै थियो ।
 
दार्जिलिङ घुम्ने इच्छा हुँदा–हुँदै पनि भ्यानमा चढिहाल्यौँ । एकसय रुपियाँमा भ्यान रिजर्भ भयो । नागबेली परेको सडकमाथि रेलको लिक स्पर्श गर्दै भ्यान दौडियो । थुक्क ! ‘अरुण’ पत्रिका ज्योत्सनाजीलाई पठाइदिने कुरा त भुसुक्कै पो विर्सिएछ । आफू अविश्वासिलो भएकोमा कस्तो-कस्तो लाग्यो ।
 
बसले खरसाङ्ग उतारिदियो । भ्यानबाट उत्रेर यसो बजारतिर के लागेका थियौँ देवेन्द्रजी आत्तिनुभयो । उहाँले ज्याकेट त भ्यानमै पो छोड्नुभएछ । झोला हामीलाई छोडेर दौडिहाल्नुभयो । भ्यान सिलिगुडी जान निकै तल झरिसकेको थियो । सर्ट्कट् बाटो भर्न सकिने ठाउँ रहेछ । त्यो पनि सिलिगुडीबाट आएको बसले त्यस भ्यानलाई एकछिन ब्लक गरिदिएछ । यसरी छेकिदिनाले देवेन्द्रजीले भ्यानलाई भेट्नुभयो । नत्र ...!
 
खरसाङ्ग बजार सानो बजार थियो । यसले पहाडी भित्तोमा थोरै क्षेत्रफल ओगटेको रहेछ । यहाँ पर्यटकका लागि सुत्नबस्नको प्रबन्धयुक्त होटल तथा लजहरु ज्यादै सीमित रहेछन् । हेर्नलायकको आकाशवाणी रेडियो सेवा बजारदेखि अलिक तल रहेछ । टाढैबाट हेरियो ।
 
खरसाङ्गको सेरोफेरोको हल्का भ्रमण सकिएपछि खाना र सुताइको व्यवस्था गर्ने तरखरमा लाग्यौँ । दुईचारवटा भएका लज पनि तिहारको चहलपहलले गर्दा बन्द थिए । एउटा लज पाइयो । त्यो पनि हामीजस्तो पर्यटक त भुतुक्कै पर्ने । एकदमै महँगो दाम भन्ने । दिक्दार भएर हामी दार्जिलिङ्ग फर्किने विचारमा थियौँ । रेल—स्टेशनमा एकजना तामाङ्ग बूढा भेटिए । हाम्रो यस्तो विचारको मन्थन ती बूढाले सुनेछन् । “किन जाने दार्जिलिङ्ग ... ? तिमेरु रेलबाट आयौ कि ट्याक्सीबाट ...?” ती बूढाले क्रोधित भएर सोधे ।
 
‘हामी ट्याक्सीबाट आयौँ – यहाँ खाना बस्नको समस्या रहेछ ।”
 
“लौ ! यहाँ खाना बस्नको कसरी समस्या हुन्छ । म व्यवस्था गरिदिउँला । पाइएन भने धर्माशाला छ ।”
 
“हामीसँग लुगा कपडा त छैन नि ...!”
 
“केही पनि नलिई कसरी घुम्न हिंड्यौ त ...?”
 
“हामी ‘प्रोफेसनल भिजिटर’ हैनौँ ।”
 
“अनि के त ?”
 
“हामी त यो दुईचार दिनको तिहारको बिदामा ...”
 
“ए ! त्यसो भए तिमेरु जागिरे हौ ? ”
 
“हजूर !”
 
“अनि तिमेरुका दिदी–बहिनी छैनन् ? कि क्रिश्चियन हौ ? खै देख्दिन त फूलमाला लगाएको आज भाइटीका छैन ?”
 
“हैन हामी हिन्दू नै हौँ तर यसपटकको तिहारलाई बिर्सिदियौँ ।”
 
“आफ्नो परम्पराले चलाएको संस्कृतिलाई कहिल्लै बिर्सिन हुँदैन बाबु हो ।”
 
“बिर्सिन त हामी कहाँ बिर्सिन्छौँ र ......!”
 
“अनि के गरेको त यो ...?”
 
हामी अकमक्क पर्यौँ । हामीलाई गाली गर्दै ती तामाङ्ग बूढाले लजको खोजीमा यताउता डुलाए । कतै पाइएन ! अन्तमा प्रधान लज देखाउँदै “ऊ ... त्यहाँ ‘प्रधान लज’ छ । त्यहाँ त्यत्ति महँगो छैन – त्यहाँ गएर बस्ने !” उनले आफ्नै छोराहरुलाई झैँ ठाडो स्वरमा भने ।
 
एकछिन रोकिएर-
 
“खरसाङ्ग गइस् र गएँ ! रेल चढिस् ? चढिनँ ... !
 
कस्तो हुन्छ ? भोलि विहानै रेलमा चढेर जानु रेल पनि चढिने पैसा पनि बँच्ने कसो ?” हामीले बूढाको उचित कुरालाई स्वीकारेर प्रधान लजतिर लाग्यौँ ।
 
“यहाँ लज पाइन्छ हैन ?”
 
“पाइन्छ आउनुहोस् !”
 
एउटी काली—काली तरुनी ठिटीले बोलाउँदै भनी ।
 
चारवटा बेड भएको एउटा कोठालाई दुईसय दस रुपियाँ !! यति महँगोमा यहाँ किन बस्ने ? फेरि खाना खाने होटल पनि त छैन नि ! हामी सोच्न थाल्यौँ ।
 
“हामी बस्ने भएछौँ भने अहिले-अहिले आउँछौँ !” कणेल दाइले भन्नुभयो ।
 
“बस्नुहुन्छ भने दुई चार रुपियाँ घटाई पनि दिन्छौँ !” त्यस तरुनी ठिटीले भन्दै थिई ।
 
हामी बाहिर निस्कियौँ । अब बस्ने कि जाने चौ-चौमा यता र उता दगुर्न थाल्यौँ । आज रेल पनि नजाने रहेछ । रेल चढ्ने सौख पनि उत्तिकै बढ्दै थियो । हामी फेरि उही प्रधान लजतिर फर्कियौँ । यात्राको झञ्झटले मलाई कत्ति पनि खाना खाने मन भएन । अरु साथीहरुले खाना खाएर आउनुभयो । मचाहिँ त्यत्तिकै बसिरहेँ ।
 
साँझमा त खरसाङ्गको बस्ती स्वप्नलोकजस्तै देखिँदो रहेछ । हामीले यो दृश्य देखेर र्याल चुहायौँ । गौतमजी लजको चार्ज बुझाउन काउण्टरमा जानुभयो ।
 
एउटी अग्ली, गोरी युवती काउण्टरमा बसिरहेकी थिइन् ।
 
“कति हो चार्ज ?”
 
”दुईसय दस रुपियाँ !”
 
”हैन यत्ति महँगो ...”
 
“यत्ति नै हो ...।”
 
“अलिकति त हेरिदिनोस् !”
 
“अँ ह ! हुँदैन !”
 
“अघि हामीलाई यहाँ काम गर्ने बहिनीले केही घटाइदिने बचन दिनुभएको थियो ... !”
 
“सि ईज माई सर्भेन्ट वन्ली !”
 
गौतमजीले त्यसपछि जिद्धी गर्नुभएन, चार्ज तिर्नुभयो– दुईसय दस रुपियाँ नै ! आजको हाम्रो बसाइँ अलि महँगो पर्यो ।
 
पहाडी रेलको छुकछुके आनन्द
 
भोलिपल्ट आठ बजेको शुभमुहूर्तमा रेल चढियो । छ्याक्छ्याक गर्दै रेल अगाडि बढ्यो । दृश्य चुम्दै जाने उद्देश्यले म झ्यालको छेउमा बसको थिएँ । रेलमा लगाउने कोइलाको धूलोले झ्याल खोल्नै पाइएन । खोल्यो भने सबै धूलो आँखामा पर्थ्यो ।
 
हामी पाँचैजना लास्टको डिब्बामा चढेका थियौँ । हाम्रो साथमा एउटी महिला पनि चढेकी थिइन् । रेल ‘तिरु टी स्टेट’ चुम्दै अगाडि बढिरहेको थियो । सोम दाइ आफ्नै पारामा मस्त, साथीहरु ती महिलासँग गफको पोको फुकाउनमा मस्त ! साथीहरु घरि–घरि ओभर परिचय गर्न खोज्नुहुन्थ्यो । फारासिली, बोलक्कड ती महिला पनि के कम थिइन  र ? आफ्नो परिचयको गाँठो फुकाएर साथीहरुलाई दिइन् । ती महिला सोनादकी क्षेत्रिनी रहिछन् । परिचयको सिलसिलामा हाम्रो नाम थर सोध्न थालिन् –
 
“उहाँ पनि तपाईँहरुको साथी ...” ती महिलाले मलाई औँल्याउँदै भनिन् ।
 
“हजूर ... दिदी !” गौतमजीले भन्नुभयो ।
 
“हजूर ! उहाँ लेखक, साहित्यकार, कवि हुनुहुन्छ ।”
 
“ओहो ! उहाँको नाम चाहिँ ...?”
 
“लिला श्रेष्ठ ‘सजल’ ।” गौतमजीले मलाई उछिन्दै भन्नुभयो ।
 
“अनि नि दिदी ! उहाँले त हामीले यहाँ बोलेको सबै कुरा लेखिसक्नुभयो होला ... !” गौतमजीले जोकिङ्ग गर्दै भन्नुभयो । हामी सबै गलल हाँस्यौँ ।
 
“ओ हो ! त्यसो भए त डर मर्नु पो हुँदोरहेछ त !”
 
“साहित्यकार त्यस्तै हुन्छन् नि दिदी !” फेरि हाँस्यौँ ।
 
“अनि उहाँ चाहिँ ...?”
 
“उहाँ देवेन्द्र बुढाथोकी ‘बेहोशी’ ।
 
“उहाँलाई त कता कता देखेजस्तो लाग्छ नि ! तपाईँले कुनै फिल्ममा खेल्नुभएको छ ?”
 
“अहिलेसम्म त खेलेको छुइनँ । अब खेल्ने विचारमा छु ।”
 
“लौ ! लौ ! चाँडै खेल्ने प्रयास गर्नुहोला । तपार्इंलाई यहाँ हामी टी.भी. मा हेर्नेर्छौं ।”
 
“अनि नि दिदी, उहाँ पनि साहित्यकार हुनुहुन्छ ! उहाँले यस पत्रिकामा कथा पनि लेख्नुभएको छ ।” “अरुण” पत्रिका झिक्दै गौतमजीले भन्नुभयो । त्यसपछि ती महिलाले पत्रिका समाइन ।
 
“यी यहाँ लिला श्रेष्ठ ‘सजल’को नाम छ । उहाँ यस पत्रिकाको सम्पादक मण्डलीमा पनि हुनुहुन्छ ।” गौतमजीले फेरि पनि मेरो थप चिनारी दिनुभयो ।
 
“अनि तपाईँको नाम चाहिँ के पर् यो नि !”
 
“मेरो चेतनाथ कणेल ‘हरित’ ।”
 
“उहाँ पनि साहित्यकार हुनुहुन्छ नि दिदी !” गौतमजीले भन्नुभयो ।
 
“ओ हो ! तपाईँहरु सबैको एक–एक वटा ‘टाईटिल’ रहेछ फेरि साहित्यकार, कलाकार ..... पनि !”
 
“हो त नि दिदी हामी सबैको ‘टाईटिल’ छ ।” गौतमजी नरोकिई बताउँदै हुनुहुन्थ्यो । सोम दाइतिर फर्केर “उहाँको ‘टाईटिल’ “गजल” अनि मेरो चाहिँ “प्राञ्जल” !
 
हामी यहाँ हरित, सजल, गजल, प्राञ्जल र बेहाशी छौँ । एकछिन हाँसो र रमाइलो भयो । सोम दाइको ‘टाईटिल’ तत्कालै गौतमजीले त्यहीँ जुराइदिनुभएको थियो ।
 
उपन्यासमा पढेको डाँकबंगलालाई प्रत्यक्ष हेर्न पाइयो ।
 
त्यसपछि गौतमजीले ती दिदीसँग ठेगाना आदान–प्रदान पनि गर्नुभयो । गफ गर्दागर्दै रेल सोनाद आइपुग्यो । सोनाद एउटा रमाइलो ग्रामीण बस्ती रहेछ । ती दिदी त्यहीँ उत्रिन् । हामी पनि उत्रियौँ र एउटा ग्रुप फोटो खिच्यौँ उनीसँग । यो रमाइलो यात्राको कल्पना परिकल्पनाले “घुम” उतार् यो । साइत पनि कस्तो मिलेको ! रेलबाट उत्रिनासाथ सुकियापोखरी जाने बस ठ्याक्कै आइपुग्यो ।
 
हरियाली पाखाको काखबाट सिनित्त चिप्लिदै बस सुकियापोखरीतिर फाल हान्यो । आधा घण्टा जतिमै सुकिया बजार हलचल गर्न थाल्यो ।
 
बसबाट उत्रेर देउराली रेष्टुँरातिर लाग्यौँ । मासु र भात बजाउँदै जोरपोखरी र डाँकबंगला हेर्ने निर्णय गर्यौँ । सुकियापोखरीको लोभलाग्दो सौन्दर्यलाई धूपी सल्लेरीको समीरसँग बहाएर डाँकबंगलाको बाटो समात्यौँ । डाकबंगला यस बजारभन्दा केही माथिको डाँडामा अवस्थित छ ।
 
सुकिया बजारबाट चिप्लो सिनित्त परेको सडकबाट अलिकति उकालो लागेपछि देवेन्द्रजीले ठट्टा-रमाइलो गर्न थाल्नुभयो । हामी सबैको झोला बोकेर भरियाको भेष र हाउभाउ धारण गर्दै हिँड्नुभयो । हामी सल्लेरीको रमणीयताबाट दार्जिलिङ्ग र खरसाङ्गको बस्तीमाथि आँखा फिजाउँदै अगाडि बढ्यौँ ।
 
हेर्दाहेर्दै, हिँड्दा हिँड्दै जोरपोखरी टुप्लुक्क आइपुग्यो । यस पोखरीको पानीमा असंख्य माछाहरु फुत्रुक–फुत्रुक उफ्रिन्थे । यस पोखरीदेखि अलिकति माथि अर्को पोखरी पनि रहेछ । “यहाँ अचम्मका माछाहरु छन् रे ! यी माछाहरु क्यालिफोर्नियामा मात्र पाइन्छन् रे !” एउटी होचीहोची मोट्टी युवतीले बताइन् । यी माछाहरुको क्रियाकलाप हेरेर हामी अगाडि बढ्यौँ । यी युवतीसँग ‘बाइनाकुलर’ पनि रहेछ । यसबाट हामीले पनि पारि–पारिका दृश्यहरु चुम्यौँ । अहा ! कति मज्जा ! यहाँबाट देखिने दृश्यहरु !!
 
शिवकुमार राईद्वारा लिखित “डाँकबंगला” उपन्यासमा ठडिएको डाँकबंगलाले पनि अहिले त रुप फेरिसकेछ । उपन्यासमा त यस बंगलाको छानाबाट पानी चुहिन्थ्यो । त्यही पानी चुहेर चन्द्रप्रकाश तर्सेको थियो ।
 
तर यस बंगलालाई अहिले त नयाँ आकार शैलीमा जस्ताको पाताले चिरिच्याँट्ट पारेको रहेछ । चौकीदारको सहायताले हामी यस बंगलाको कोठा कोठा घुम्न सक्यौँ । यस बंगलाको ठिक मुनि तीनचारवटा झुपडीहरु थिए । शायद ! उपन्यासकी नायिका “रत्ना” को घर यिनैमध्ये एउटा थियो होला ! चन्द्रप्रकाश यस बंगलामा आउँदा रत्नासँग भेट भएको थियो । मेरो स्मरणमा यिनै कुराहरुको मूल फुट्यो ।
 
आज हाम्रो मिरिक पुग्ने लक्ष्य थियो । डाँकबंगलाबाट केही तल नझरी बस पाइने थिएन । यो सुन्दरतालाई चट्ट छोडेर हामी ओह्रालो लाग्यौँ । यस आनन्दोत्सवमा विह्वल हुँदै नेपाली लोकगीतको भाका टिपेर हामी सडकमा निस्कियौँ । बस आइपुगेको थिएन । देवेन्द्रजी काँधमा ज्याकेट राखेर नाच्दै हिँडनु भयो । हामी गीत गाउँदै थप्पडी मार्दै हिँड्यौँ ।
 
(क्रमश: ....)
 
ड्यालस, अमेरिका
 
(सन् १९९२, संस्मरण डायरीबाट)