साहित्य / विविध / फिचर

मोडहरु

251 पटक पढिएको

-किशोर सापकोटा

1st Dec 2018, Saturday | २०७५ मंसिर १५, शनिबार १२:५८
शेखरले एकटकले हेरिरह्यो । समिता क्यान्टिनमा साथीहरुसँग मस्त थिइ । ऊ अलिपरको टेबलमा कफी पिउँदै थियो । कफीको स्वाद मीठो त लाग्दैन तर पिउँछ । समितासँग स्तर मिलाउन । क्यान्टिनमा साथीहरुलाई खुवाउन आफ्ना वाऊको पैसा खर्च गर्छ । केवल अर्काकी छोरी हेर्न । वस, सन्तुष्ट हुन्छ ।
 
तर के गर्नु ? छेऊ पर्न सक्दैन । उच्च खानदानका केटाकेटीहरुसंग मात्रै समिताको दोस्ती जम्छ । इष्र्याले जल्छ । टाढैवाट पछ्याइ रहन्छ ।
 
‘फुलको सुगन्ध लिन बोटसम्म पुग्नु पनि त पर्दैन नि’ – मनमनै भन्छ – ‘ऊ आकाशकी जुन हो, म धर्तीको धुल । टाढै रहनु वेश ।’
 
उसले देखेको छ समितामाथि विद्यार्थीहरु मात्रै होइन, प्रोफेसरहरु समेत आँखा लगाउँछन । समिताको अंग्रेजीको प्रशंसा त कलेजमा सबैले गर्छन । अंग्रेजीका प्रोफेसरहरुले पनि केहीकेही समस्या आउँदा समितासँग छफलल गर्नेे गरेको सबैले देखेका छन् ।
 
तर शेखरको मन मान्दैन । ऐनामा आफैलाई हेर्छ । झनझन् राम्रो लाग्छ । हृष्टपुष्ट शरिर । इमान्दार व्यवहार । पढाइमा तेज । समिताजति अव्वल त होइन, तर कमजोर पनि होइन ।
 
त्यसैले त वेलावेलामा झोक चल्छ ।
 
भलै समिताको जस्तो सहरीय जीवन त छैन तर गाऊको जमिन्दारको छोरापो हुँ त, मौका मिल्यो भने पर्पोजनै ठोकिदिन्छु – मनलाई सान्त्वना दिन भएपनि आफैलाई सु¥याउँछ ।
 
तर सक्दैन । हच्किन्छ ।
 
कफी पिउँदा पिउंदै अकस्मात आँखा जुधे । दुवैले नोटिस पनि गरे । शेखरले आँखा जुधाइ रहन सकेन । मुन्टो अर्कैतिर वटा¥यो । तर समिता कुर्सीबाट जुरुक्क उठी । फटाफट शेखरपटी आइ । शेखरको टेबल सामुन्नेमै रोकिइ । पदचापबाट कहांनेर उभिएकी छे भन्ने अनुमान त गर्यो । तर फर्किएन ।
 
ट्याक ट्याक ट्याक ट्याक
 
टेबलमा आवाज दिई । वाध्य भएर टाउको मोड्योे ।
 
मिस्टर शेखर, तिमीले लुकीलुकी मलाइ हेरिरहेको हो ?
 
आफ्नो नामै लिएर गरेको प्रश्नले तिल्मिलायो ।
 
होइन, होइन, आँखा झुकाएर भन्यो, म त्यस्तो केटा होइन ।
 
त्यस्तो केटा होइन ?– फेरि प्रश्न गरी – त्यस्तो भनेको कस्तो ?
 
म केटी जिस्काउने खालको केटा होइन ।
 
किन केटीप्रति कुनै चाख छैन ? कि ....
 
प्रश्नले शेखरलाई लज्जित वनायो । अरु केटाहरु गल्ल हाँसे ।
 
मेरो भनाइको उद्देश्य ....
 
शेखरको वोली पुरा नहुंदै समितानै बोली – लुकेर होइन, खुलेर हेरे हुन्छ । मन लाग्दा बोले हुन्छ । टाढा वसीरहनु पर्दैन, संगै चियाकफी खान आए हुन्छ ।
 
उसले आफ्नो हात शेखरतिर बढाइ – साथी बन्ने हो ?
 
दुवैका हात मिले ।
 
नाइस टु मिट यु ।
 
दुवैजना मसिनो आवाजमा वोले । औपचारिकता पुरा गर्न ।
 
फर्किएर गई । अरु केटाहरुलाई वास्ता पनि गरिन । 
 
केटाहरुले शेखरलाई बधाइ दिए ।
 
म पनि जमिन्दारको छोरा पो हुँ त – गफ दियो – केटीहरु पनि आफ्नो स्तर मिल्ने साथी खोज्छन् ।
 
साथीहरु क्रमश छुट्दै गए । दुइजना संगसंगै देखिन थाले ।
 
तिमी फेसवुकमा छैनौ ?– एकदिन सोध्यो ।
 
म सोसियल मिडियामा होइन, दिलमा बस्न मन पराउँछु ।
 
जवाफले झण्डै बेहोस भयो ।
 
मेरो फेसबुक किन चाहियो ? फोटोहरुमा लाइक गर्न ? कमेन्ट गर्न वा कहिलेकाँही टेक्स्ट पठाउन ?
 
सहमतिमा टाउको हल्लायो ।
 
जति लाइक गर्न मन छ, सामुन्नेमा गर । जे भन्न मन छ सामुन्नेमा भन । म भर्चुअल वल्र्डमा होइन, यथार्थमा रमाउने केटी हो ।
 
धाराबाहिक प्रवचन सुनाई । ऊ चुप वस्यो ।
 
केटीहरुलाई जित्ने तर्क शायद केटाहरुका दिमागमा कहिल्यै उत्पादननै हुंदैनन – यस्तै सोच्थ्यो ।
 
शेखरलाई अव तर्क गर्नु थिएन । ग्रीन सिग्नल जो पाइसकेको थियो । अव त केवल मायाको स्पीड बढाउनु थियो, समिताको मुटुसम्म चांडै पुग्न ।
 
आफ्नै मनलाई एकपटक उधा¥यो र फराकिलो वनाएर सियो जहां समिता खुकुलो गरी अटाओस् ।
 
एक दिन बिहानै फेसबुकमा एउटा रिक्वेस्ट आयो ।
 
नाम थियो, मनकी रानी । प्रोफाइल पेजमा समिताको तस्विर थियो । तुरुन्तै एसेप्ट ग¥यो ।
 
तुरुन्तै टेक्स्ट आयो – मेरो फेसबुकको तिमी एक्लो साथी हौ ।
 
दंग प¥यो ।
 
स्क्रोल गर्दागर्दै अचानक रोकियो ।
 
ओ हो आज उसको वर्थ डे रहेछ ।
 
ह्यापी बर्थडे मनकी रानी, वाल र म्यासेन्जर दुवैतर्फ लेख्यो  ।
 
थ्याङ्क्यू, यू मेड माई डे भेरी स्पेसियल ।
 
तुरुन्त आएको जवाफले फेरी दंग भयो ।
 
आज म तिमीलाई स्पेसल ट्रिट दिन्छु, समय दिन्छ्यौ ?
 
बेलुका मेरो घरमा आऊ – जवाफ लेखी ।
 
शेखरलाई केटीको घरमा नै जान अलि असजिलो महसुस भयो । घरपरिवारमा जान उसलाई असजिलो लागेको थियो ।
 
घर बाहिर कतै जाऊन ? – मुड चेन्ज गर्न खोज्यो ।
 
होइन, घरमा आऊ, कोही हुने छैनन – उसको मनस्थिति वुझेर आश्वस्त वनाइ ।
 
कोही हुने छैनन भन्ने वाक्यले शेखरलाई रोमाञ्चित वनायो ।
 
उसले आफ्नो घरको ठेगाना दिई । ताहचल नजिकैको अपार्टमेन्टको टप फ्लोरमा बस्दी रहिछे ।
 
तुरुन्तै शैलुनतर्फ दौडियौ । कपाल काट्यो । दाह्री मिलायो । नुहाएर चिटिक्क भयो । जीऊमा वास्नादार लोसन लगायो । कपडामा परफ्युम । ऐना अगाडि उभियो । आफूलाई आकासको सूर्यझंै ठान्यो ।
 
अव म पनि संगतले चेन्ज भए – मनमनै भन्यो ।
 
वजार गयो । समितालाई मन पर्ने चकलेट, फुल र वाइन किन्यो । केही दिनको संगतमा नै उसलाई समिताको आनीवानी र रुचि थाहा भइसकेको थियो । गहना पसलमा आंखा परे । इन्गेजमेन्ट रिङ किन्यो ।
 
मानी भने आजै इन्गेजमेन्ट ठोकिदिन्छु, नत्र पछिलाई पनि काम लाग्छ – मनमनै भन्यो ।
 
सांझ पर्नै लाग्दा समिताको अपार्टमेन्टमा छिर्यो । बत्तीको उज्यालोमा समिताको अनुहार परीझंै चम्किएको थियो ।
 
ह्यापी बर्थ डे मनकी रानी – उपहारहरु दिंदै भन्यो ।
 
थ्याङ्क्यू – न्यानो हग गर्दै बोली ।
 
उसलाई जिउंदै स्वर्ग पुगेको भयो ।
 
वाहिर झमक्क सांझ प¥यो । तर शेखरको मनमा एउटा विहानी सुरु भयो । संगै खाए । खानाले भन्दा पनि साथले सन्तुष्ट भयो । तर इन्गेजमेन्टको कुरा गर्न आंट गरेन ।
 
सोच्योे – दिन अझै बाँकी छन् । यसवारेमा भोली विहान कुरा गर्छु ।
 
म अब जाऊँ?
 
छुटिने मन नहुँदा नहुँदै सोध्यो ।
 
बस्दैनौ ?– छोटो प्रश्न गरी ।
 
तिमीले बस भन्छ्यौ भने त बसी हाल्छु नि ।
 
हतारिएर जवाफ दियो ।
 
मैले जाऊ त भनेकी छैन ।
 
आँखा जुधाइ । ती आंखामा एकप्रकारको नशा भरिएको थियो ।
 
अंगालोमा एक पटक फेरी वाधिए ।
 
चियर्स ।
 
फेरी वाइनका ग्लास ठोकिए ।
 
..............
 
शेखरको जीवनकै उत्कृष्ट रात वन्यो ।
 
शेखर बिऊझिँदा झलमल्ल घाम लागेका थिए । समिता अझै मस्त निद्रामा थिइ ।
 
शेखरको फोनको घण्टी बज्यो । बुवाको रहेछ ।
 
म यहाँ एयरपोर्टमा झरिसकेँ ।  खोई तँ कता छस् ?
 
बुवा आउने कुरा भुसुक्क बिर्सिएछ । निदाइरहेकी समितालाई हेर्यो  । उठाउन मन लागेन ।
 
सुरुक्क उठेर एयरपोर्टतिर हुइकियो । एयरपोर्ट पुग्नै लाग्दा टेक्स्ट आयो । समिताको थियो । टेक्स्ट पढेर ऊ छांगावाट झरेझै भयो ।
 
लेखिएको थियो – तिमीत बिल उधारो राखेर भागेछौ । अब आउंदा दुइचोटीको ४० हजार लिएर आउनु ।
 
टेक्स्ट फेरी दोहो¥याएर पढ्यो । आफुलाई रातभर आकासको सूर्य सम्झिएको शेखरले फेरि आफूलाई धर्तीको धुलो सम्झियो ।
 
थुइक्क साला, के सम्झिएको के निस्किइ –मनमनै भन्यो –हाइलेभकी व्यवसायी पो रहिछे ।
 
इन्गेजमेन्ट रिङ किनेकोमा भने मनमनै लज्जा वोध भयो ।  रिसले फालिदिनु प¥यो भन्ने ठानेर गोजी छाम्यो तर अघिनै झरिसकेको रहेछ ।
 
..............................
 
अर्कोदिन कलेजमा देखादेख भयो । साथीहरुसंग थिइ । अलि पर पर्खिरह्यो । साथीहरुसंग छुटिएपछि छेउवाट गइ । नवोली ।
 
पछ्यायो ।
 
पर्ख – एक्लै भएपछि मात्रै वोल्ने आंट गर्यो ।
 
ऊ रोकिइ ।  सर्टको गोजीवाट चेक निकालेर दियो ।
 
एक लाख – चेक हेरेपछि भनी – मैले त एक रातको वीस हजार मात्रै भनेकी थिए ।
 
हामी पनि पांच जना थियौ – भन्यो – शायद नशामा भएकोले तिमीले थाहा पाइनौ होला ।  म हिसाव उधारो राख्न चाहन्न ।
 
समिताको अनुहारमा रिसको पारो चढेको थियो । तर तुरुन्तै आफुलाई नियन्त्रण गरी ।
 
धन्यवाद – ऊ फटाफट हिंडी ।
 
केटाहरुले चेक दिएको परवाट देखे ।
 
के को चेक दिएको ?– सोधीहाले ।
 
सापटी मागेकी थिइ, जमिन्दारको छोरा पो हुं त – फुर्ती लायो – दिनुपरेन त ?
 
तर अनुहार आत्मग्लानीले पहेलो भएको थियो ।
 
दिनभर समिताको दिमाग खराव भयो । अपमानित भइ । पुरै कक्षामा पनि वसिन । पटक पटक शेखरको आवाज उसको कानमा गुञ्जिरहेको थियो – हामी पनि त पांच जना थियौ ।
 
वेलुका निदाउन सकिन । छटपटाइ । ओछेनमा कोल्टे फेरी । भएन । पानी पिइ । केही नलागेर सिटिङ रुममा यताउति गरी । मनमा झन्झन् वेचैनी वढ्यो । उसका आंखा एकाएक सिटिङ रुमको सीसी टीभीको क्यामेरामा पुगेर रोकिए । अनुहार धप्प वल्यो । खुसी देखिइ ।
 
.........................
 
अर्कोदिन कलेजमा देखादेख भयो । शेखर नवोली हिंड्यो ।
 
पर्ख – अलि एकान्तमा पुगेपछि उसैले कराइ ।
 
फर्कियो । ८० हजारको चेक थमाइ ।
 
यो केको लागि ?
 
यो भिडियो हेर ।
 
उसले एउटा पेन ड्राइभ दिइ ।
 
घर पुग्नासाथ आफ्नो कोठामा गयो । ढोका वन्द ग¥यो । चुकुल पनि लगायो । मनमा केही अशुभ हो भन्ने लागेको थियो । त्यसैले कम्प्युटरको भोल्युम पनि शुन्यमा झा¥यो र पेन ड्राइभ कम्प्युटरमा घुसा¥यो । एउटा भिडियो थियो ।
 
भिडियो समिताको वर्थ डेको दिनको थियो । सुरुमा त उनीहरुका गतिविधि सामान्य नै थिए तर करिव ४५ मिनेटपछि आउने दृश्यले शेखरको दिमागमा पुरै सुनामी ल्याइदियो नि ।
 
दृश्यमा शेखर पिउंदा पिउंदै टेवलमा नै टाउको राखेर निदाउंछ । अपार्टमेन्टको घण्टी वज्छ । समिताले खोल्छे र वाहिरिन्छे भने अर्की केटी प्रवेश गर्छे । प्रवेश गर्ने केटीको पहिरन र मेकअपले प्रष्ट पाछर्, ऊ कुनै यौन व्यवसायी हो । केटीले शेखरलाई विस्तारै उठाएर काउचमा पल्टाउंछे र विस्तारै कपडाहरु खोलिदिन थाल्छे ।
 
ऊफ् – शेखरले खुइय ग¥यो ।
 
भिडियोलाई पज गर्यो । हेरौ कि नहेरौझै ग¥यो ।
 
आफैसंग लाज मान्यो ।
 
मोवाइलमा नोटिफिकेसन आयो । रमिताको टेक्स्ट थियो ।
 
भिडियो किन पज गरेको ? पुरै हेरन ।
 
समिता वरीपरी नै पो छे कि भनेर आंखा घुमायो । अंहं थिइन ।
 
फेरी हेर्न थाल्यो । आफैं पात्र भएको एडल्ट फिल्म ।
 
मैले यो के गरे ?– आफैलाई प्रश्न गर्यो ।
 
तिम्रो स्तर त्यति हो – समिताले अर्को टेक्स्ट पठाइ, लेखी – गाऊको जमिन्दारको छोरा पो हुं त भन्ने अभिमान छ होइन तिमीलाई ? पहिला त एक लाख रुपिंयाको चेक काटेका थियौ । अव भन कतिको चेक काट्छौ ? कि भिडियो सार्वजनिक गरिदिऊ ?
 
शेखर वहुलायो । के गरौ के नगरौ जसो भयो ।
 
साली व्यवसायी भनेको त व्लाकमेलर रहिछे, यसलाई म छाड्दिन ।
 
एक्लै चिच्यायो ।
 
ए किन चिच्याएको ? – वाहिरवाट वुवा कराए ।
 
म होइन वुवा, टिभी हो ।
 
झुठो वोल्यो । लत्रक्क गल्यो ।
 
प्लीज, भिडियो सार्वजनिक नगर । जे भन्छ्यौ त्यही मान्छु ।
 
टेक्स्ट लेख्यो ।
 
ओ के । एक करोड रुपिया देऊ ।
 
उसको माग थियो ।
 
एकदुइ लाख भनेको भए जसरी पनि जुटाउंथ्यो । तर एक करोड उसको वसको कुरा थिएन ।
 
प्लीज, मेरो त्यत्रो सामथ्र्य छैन – गिडगिडायो– तिमीले मलाइ नराम्ररी फसायौ ।
 
म जाल हान्न आएकी हुकी तिमी आफै जाल खोज्दै पर्न आएका हौ ?–
 
उसले अगाडि लेखी – केवल तीन दिनको समय दिन्छु, नत्र ....।
 
ऊ अफलाइन भइ । शेखरको वांकी जीवनलाई पनि अफ लाइन गरिदिएर ।
 
ढोका ढकढक गर्यो । वेतोडसंग छाती पनि ढुकढुक गर्यो । कम्प्युटरवाट हतार हतार पेन ड्राइभ थुत्यो ।
 
ढोका खोल्यो । ढोकामा वुवा उभिरहेको देखेर आफुलाई सामान्य वनाउन खोज्यो ।
 
शेखर, तयार हो ।
 
वुवाको निर्देशन थियो ।
 
के का लागि वुवा ?
 
तेरो लागि केटी हेर्न जानु छ ।
 
अर्को भाउतो आइलाग्यो । यो भिडियो सार्वजनिक भयो भने संसारका कुनै पनि केटीले मलाइ विवाह गर्ने छैनन् ।
 
मनमनै भन्यो ।
 
जमिन्दार वुढा । आदेश दिन्छन् । तेरो विचार के छ भनेर जीवनमा कहिल्यै सोध्दैनन ।
 
आदेश पालन गर्नु वाहेक कुनै विकल्प पनि थिएन ।
 
तयार भयो । बुवाले दिएको निर्देशन अनुरुप वाइक हुंइक्यायो । वाइकभन्दा वढी मन हुंइकेको थियो । अध्यारो सुरुङभित्र ।
 
यो अपार्टमेन्टभित्र हाल ।
 
समिता वस्ने अपार्टमेन्ट अगाडि पुगेपछि वुढाले भने ।
 
सोच्योे – त्यो केटी पनि यही अपार्टमेन्टमा वस्ने रहिछे ।
 
वुढाले लिफ्टमा टप फ्लोरकै वटनमात्रै थिचेनन, समिताकै ढोकाको घण्टीपनि थिच्न भ्याए । गाऊका जमिन्दार वुढा त शहरमा पनि अभ्यस्त भइसकेका रहेछन् ।
 
उसको सातो गयो । तर भाग्न सक्दैनथ्यो ।
 
वुवा, तपाइ झुकिनुभएको त छैन ?
 
आश्वस्त हुन चाह्यो ।
 
चुप लाग पाजी, वुवालाई सिकाउन खोज्छस– वुढा वोले –पुरञ्जनले यही ठेगाना दिएको थियो ।
 
शेखरको दिमागमा त्यो रात र वार्गेनिङको एक करोड रुपिंया वाहेक केही पनि घुम्नै सकेन ।
 
नमस्कार– ढोका खोल्दै एक जना अधबैंसेले स्वागत गरे ।
 
शेखरले पनि नमस्कार ग¥यो । दुइटा वुढाले गम्लंग अंगालो हाले, जसरी समिता र शेखरले वर्थ डेको रात अंगालो हालेका थिए ।
 
कति वर्ष पछि भेट भइयो है – शेखरको वुवाले भने – यही हो मेरो छोरा ।
 
स्मार्ट भएछ, सानैमा देखेको, अहिले त लक्काजवान ।
 
वुढाले धाप मारे । शेखर डरले झण्डै ढलेको ।
 
तं पुरञ्जन अंकललाई सम्झन्छन् ?
 
सोफामा वसेपछि वुवाले शेखरलाई सोधे ।
 
दिमागमा जोड दियो । राम्ररी सोच्न सकेन । नाइ भन्ने जनाउन टाउको हल्लाउंदा दिमागमा वत्ती वलेझै झिलिक्क गर्यो । दिमागमा अकस्मात सानो हुंदाका छिमेकी पुरञ्जन, उनकी पत्नी जानकी र छोरी गुड्डी अलिअलि धमिलो छांया जसरी आए ।
 
गुड्डी मसंग साह्रै मिल्थी – मनमनै भन्यो – तर अकस्मात उनीहरु हराए मेरो दिमाग र गाऊवाट ।
 
हामीले गुड्डी र तेरो विवाह गरिदिने वाचा गरेका थियौ, त्यही भएर यति वर्ष पछि भेट हुदैछौ –वुवाले शेखरलाई भने ।
 
शेखरको ढुकढुकी झन् वढ्यो ।
 
कतै गुड्डी र समिता एउटै केटी त होइनन् ? – मनमा एउटा आशंकाले वास ग¥यो ।
 
गुड्डी, पुरञ्जनले वोलाए ।
 
समिता हातमा चिया लिएर झुल्किइ । शेखरको शंका सत्य भयो । मनमा डढेलो लाग्यो ।
 
कुनै रेस्पोन्स गरेन । किनकी वोल्न सक्ने हालतमा नै थिएन ।
 
यो धन्धावालीसंग मेरो विवाह ?– मनमनै भन्यो – हे भगवान के भइरहेछ ।
 
समिता एकदमै सानसंग नजिक आइ । चिन्दै नचिनेकोझैं वहाना गरेर झुकेर नमस्कार गरी ।
 
शेखरको वुवाले नमस्कार फर्काए ।
 
शेखरले त नमस्कार फर्काउने समेत शाहस गरेन ।
 
समिताले शेखरलाई नमस्कार गर्ने क्रममा समेत एक करोड कहिले दिन्छौ भनी संकेत  गर्न भ्याइ । ऊ नाजवाफ ।
 
सानसंग अर्कोपटीको सोफामा वसी ।
 
तिमीहरु सानै देखिका साथी हांै र हामीले सानैमा तिमीहरुको विवाह गरिदिने वाचा गरेका थियौ – पुरञ्जनले भने – तर समय वदलियो । तिमीहरुको सोच पनि त वदलिन सक्छ । आपसमा कुरा गर । सहमति भयो हामी त आजै इन्गेजमेन्टका लागि पनि तयार भएका छौ ।
 
शेखर वोल्न सकेन । समिताको अनुहार अनुनयको भावमा हेरिरह्यो ।
 
समिता चुप थिइ । शेखरको मुटुको धड्कन झन्झन् वढ्दैथियो ।
 
के छ विचार – पुरञ्जनले सोधे ।
 
शेखरले अलिकति आंट जुटायो । भन्यो – म अहिले नै विवाह गर्न चाहन्न ।
 
चुप लाग पाजी – उसको वुवा चिच्याए – तेरो वाऊले वाचा गरिसकेको कुरा हो । समिताले नै चाहिन भने भिन्नै कुरा हो नत्र यो विवाह हुन्छ ।
 
पुरञ्जनले समितापट्टी हेरे ।
 
तिम्रो विचार के छ छोरी ?
 
वुवाले भनेपछि मैले ऐलेसम्म नाइ भनेकी छैन – समिताले भनी– तर निर्णयमा पुग्नुअघि एक पटक यो भिडियो हेर्न म यहांहरुलाई अनुरोध गर्न चाहन्छु ।
 
उसले ल्यापटप तानी ।
 
प्लीज – शेखरले हात जोड्दै भन्यो –  तिमीलाई मसंग विवाह गर्न मन छैन भने नगरे हुन्छ, तर यो भिडियो भने नहेरोै  ।
 
भिडियो नदेखाइ म गर्दिन, त्यसपछि वुवाहरुले जे निर्णय लिनुहुन्छ, स्वीकार गर्छु ।
 
उसले अडान देखाइ ।
 
चुप लाग नाथु – वुवाले आदेश दिए ।
 
शेखर लल्याकलुलुक भयो । भागेर जान सक्दैनथ्यो ।
 
भिडियो प्ले भयो । त्यही रातको । जहां शेखर समितालाई ह्यापी वर्थडे वीस गरिरहेछ । शेखरले हेरिसकेको भिडियो । हेर्न नसकेर शीर निहुरायो । दृश्य नहेरेपनि आवाज भने सुनिरहेको छ । मधुरो रोमाञ्टिक संगीत वजेको छ । शेखर केवल ती दृश्यहरु मात्रै कल्पना गरिरहेको छ । केही क्षण यसैगरी वित्यो । म्युजिक रोकियो । शेखरले आफ्नै स्वर सुनेर कान अलि ठाडा पा¥यो । स्वर अलिअलि रक्सीले लर्वराएको छ ।
 
यो पल मेरो जीवनको सवैभन्दा सुनौलो पल हो समिता – भिडियोमा शेखर समिताको सामुन्ने घुंडा टेकेर आंखामा आंखा जुधाएर वोल्दैछ – म यतिवेला कसम खाएर प्रतिवद्धता व्यक्त गर्छु मेरो जीवनमा तिमीवाहेक अरु कोही पनि आउन सक्नेछैन ।
 
शेखरले पनि भिडियोपट्टी हेर्न थाल्यो ।
 
भिडियोमा शेखर अझै पनि वोलीरहेछ – तिम्रो जन्मदिनमा म तिमीलाई मेरो जीवनमा आमन्त्रण गर्न चाहन्छु । आफ्नी वनाउने प्रण गर्छु, वील यु म्यारी मी ?
 
दृश्य देखेर शेखर आफै अचम्मित भयो ।
 
समिताको अनुहारमा खुसी छाएको छ । स्वर्गकी अप्सराझै राम्री देखिएकी छे ।
 
अफ कोर्ष – समिताले शेखरलाई दुवै हातमा समाएर उठाइ ।
 
गोजीवाट इन्गेजमेन्ट रिङ निकाल्दै साम्नेमा उभियो ।
 
तिमी अनुमति दिन्छ्यौ भने आजै इन्गेजमेन्ट गर्न चाहन्छु ।
 
समिताले शेखरको अनुहार निकैवेर हेरी । शेखर दृढ थियो । यो उसको नशा होइन, कमिटमेन्ट हो भन्ने वुझ्न धेरै वेर लागेन ।
 
स्योर ।
 
अनुमति दिदै हात शेखरपटी वढाइ । शेखरले रिङ लगाइदियो ।
 
समिताले भिडियो पज गरी ।
 
दुइटै वुढाहरु जोडले हांसे ।
 
हामी त तिमीहरुलाई सरप्राइज दिन आएका थियौ – पुरञ्जनले भने – तिमीहरुलेनै हामीहरुलाई सरप्राइज दियौ त ।
 
शेखरले त के सरप्राइज दिनु र ? ऊ आफै सरप्राइज भइरहेको थियो ।
 
नाथु, यत्रो महत्वपूर्ण अवसर पनि हामी नभइ गरेछ – शेखरसंग अलिकति वेखुसी देखाउन वुवाले भने ।
 
मेरो त कुनै गुनासो छैन – पुरञ्जनले भने – उसको जीवनमा वारेमा निर्णय गर्न मैले छोरीलाई पुरा अधिकार दिएको छु । अव त धुमधाम विवाह गरिदिएर मात्रै अमेरिका फर्कन्छु ।
 
समिता लजाउंदै किचनमा गइ । किचनको ढोकावाट पस्नै लाग्दा फरक्क फर्की । दुइटै वुढा दंग परेर गफ गर्दै थिए । शेखरसंग फेरी आंखा जुधे । समिताले इशारामा एक करोड कहिले दिन्छौ भनी ।
 
समितालाई पछ्यायो । अव शेखरलाई यो नाटक के हो भनी जान्नु थियो ।
 
यो सब के हो ?– किचनमा पस्नासाथ अकस्मात प्रश्न तेस्र्यायो ।
 
एक करोडको खेल – उसले दृढतापूर्वक भनी ।
 
मसंग एक करोड छैन । अव जे भएको हो म सत्यसत्य वुवाहरुलाई भनीदिन्छु ।
 
धम्क्याउन खोज्यो ।
 
जाऊ – उसले पनि सोझो उत्तर दिइ – म अर्को भिडियो पनि वुवाहरुलाई देखाइदिन्छु । नत्र एक करोड दिएर तिमी आफ्नो वाटो लाग म आफ्नो वाटो लाग्छु ।
 
शेखर फेरी गल्यो ।
 
प्लीज, मलाइ यो भाउंतोवाट जोगाइदेऊ । वरु म जीवनभर तिम्रो नोक्कर वन्छु ।
 
शेखरले समिताको सामु हात जोड्यो ।
 
ल ठीक छ, त्यसो भने भन, डिल पुरा गर्न कति दिनको समय दिऊ तिमीलाई ? – समिताले दृढताका साथ भनी ।
 
के को डिल ? फेरी त्यही एक करोड ?
 
ऊ रिसायो ।
 
होइन विवाहको लागि ।
 
समिताले शेखरको आंखामा आंखा जुधाएर भनी ।
 
आंखामा आंखामा जुध्दा ऊ मुस्कुराइ रहेकी थिइ ।
 
आखिर यो के हो गुड्डी ? अव नसताऊ ।  सव भन ।
 
शेखर वाध्य भएर झुक्यो ।
 
यो प्लानिङ हो – भनी– म सरप्राइज दिन चाहन्थे ।
 
समिता केहीवेर रोकिइ । शेखरको अनुहार हेरी ।
 
मैले त गाऊलाई छाडेपछि तिमीलाई विर्सन्छु होला भन्ने सोचेकी थिए जसरी तिमीले मलाई विस्र्यौ – समिता अलिकति भावुक भइ – तर तिमीलाई विर्सन सकिन । जव जव जवान हुंदै गए,  वाल्यकालमा विवाह गरी खेल्दा  तिमीले भरेको माटोको सिन्दुरको याद आइरह्यो । कहिलेकांही यो मेरो के पागलपन हो जस्तो लाग्थ्यो तर दिनदिनै गम्भीर भए । त्यो माटोको सिन्दुरले एकपटक भरिएको सिउंदो अव वजारवाट किनेको सिन्दुरले भर्न सक्दिन भन्ने निश्कर्षमा पुग्दै गए ।
 
यतिवेला समिताका आंखाहरु भरिदै आएका थिए । शेखर श्वास रोकेर सुनिरहेको थियो ।
 
समिता फेरी वोली – एकपटक वाहिर हिडिरहेको वेला अकस्मात पानी वर्सियो, हतार हतार हातले सिउंदो छोपे । सांच्चै नै मेरो सिन्दुर वग्छ होला भनेर डराएकी थिए ।
 
शेखरले समितालाई च्याप्य समात्यो र अंगाल्यो मात्रै । केही भन्न सकेन ।
 
समिता नै वोली – अकस्मात ममी वित्नुभयो । संसार नै अध्यारो भयो । त्यो समयमा पनि कतै टाढावाट तिमीले उज्यालो छरिरहेको छौ कि जस्तो महसुस हुन्थ्यो ।  तिमीलाई सम्झिरहन्थे ।
 
समिताको आंखावाट सरर आंसु वगे । शेखरले पुस्यो ।
 
मलाइ माफ गर – वल्ल शेखर वोल्यो – तिमीले मलाइ यति माया गरिछेऊ, मैले सांच्चिनै एकदिन पनि तिमीलाई सम्झिन ।
 
माटोको सिन्दुर त मेरो सिउंदोमा परेको थियो, तिमीले त हाल्यौ विर्सियौ, त्यसको रक्षा त मैले नै गर्नुपथ्र्यो – समिताले भनी – अंकललाई फेसवुकमा सर्च गरे । तिम्रो वारेमा जानकारी लिए । तिम्रो लागि अमेरिकावाट एक्लै फर्किए । तिमी पढ्ने कलेजमा भर्ना भए । वांकी तिम्रो सामुनै छ ।
 
अनि त्यो अर्को भिडियो चांही के हो नि ?
 
धेरैवेर पछि शेखरको वोली फुट्यो ।
 
हामी के को विद्यार्थी ? उसले नै सोधी ।
 
आइटीको ।
 
शेखरको छोटो जवाफ थियो ।
 
मेरो लागि एनीमेसन वांयां हातको खेल हो – समिताले भनी – अमेरिकामा मेरो जव नै फिल्म एनिमेसन थियो । गरिदिए यहां पनि ।
 
आखिर किन ?
 
वर्थ डेको भोलिपल्ट एउटी यौन व्यवसायीको ओछेनझै गरेर मलाइ पनि नविउझाइ किन गयौ त ?– समिताले अलिकति रिस देखाउंदै भनी – त्यही रिस फेर्न सव नाटक गरेकी ।
 
एकछिन रोकिएर शेखरलाई हेरी । ऊ केही वोलेन ।
 
मलाइ पनि त विऊझिएर तिम्रो यो अनुहार हेर्न मन थियो । तिम्रो कांधमा ढल्किएर भविश्यका सपनाहरुको वारेमा कुरा गर्न मन थियो । तिमीलाई मेरो वारेमा सवै भन्न मन थियो । तर तिमी त म विऊझिदा भागी सकेका थियौ ।
 
वुवालाई लिन एयरपोर्ट पुग्नुपर्ने भयो नि त ।
 
वाल्यकालमा भरेको माटोको सिन्दुरको सम्मान गर्दै म तिमीमा समर्पित थिए, तिमीले एउटी केटीको हृदय वुझ्न सक्नुपथ्र्यो, जे भएपनि मलाइ भन्नुपथ्र्यो ।
 
सरी – शेखरले कान समात्यो ।
 
किन फुर्ती लगाएर एक लाख रुपिँयाको चेक बनायौ त ?
 
तिम्रो टेक्स्टले मेरो त पुरै सपना भत्काइदिए । के गरौ त ?
 
तिमी अझै केटीहरुको दिल पढ्न सक्ने भएका रहेनछौ – उसले घुक्र्याइ – जुनदिन दिल पढ्न सक्ने हुन्छौ, त्यही दिन विवाह गर्छु ।
 
अव म कथामा अरु मोडहरु सहन सक्दिन, जे सिकाउनु छ आफै सिकाऊ ।
 
शेखरले समितालाई अंगालोमा वांध्यो ।
 
अंगालो झनझन् कसिदै गयो ।
 
(लुइभेल, केन्टकी अमेरिका)