मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

काठमाडाैँबाट अब सिधै कम्बोडिया

काठमाडाैँबाट अब सिधै कम्बोडिया


काठमाडौँ, (रासस) । सातामा १४ उडान गर्ने लक्ष्यसहित नेपाल र कम्बोडियाबीच द्विपक्षीय हवाई सम्झौतामा हस्ताक्षर भएको छ । 
 
प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका कम्बोडियाका समकक्षी हुन सेनको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी र कम्बोडियाका मिनिष्टर इञ्चार्ज अफ द स्टेट सेक्रेटारिएट अफ सिभिल एभिएशन माओ हाभनन्लले द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन् ।   
 
नेपालले हालसम्म यो सम्झौतासहित विभिन्न ३९ देशसँग हवाई सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार यो सम्झौता नेपालको पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण हुनेछ । 
 
कम्बोडियाका प्रधानमन्त्री हुन सेन एशिया प्यासिफिक समिटमा सहभागी हुन विहीबार मात्रै नेपाल आएका हुन् । गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न चाहने कम्बोडियाका नागरिकको चाहनालाई हवाई सम्झौताले मद्दत पु¥याउने विश्वास लिइएको छ । 
 
सम्झौताअनुसार दुवै देशबीच हुने हवाई सम्झौतामा साताको दुवै देशको १४/१४ उडान हुनेछ । यस्तै कार्गो सेवामा भने कुनै पनि शर्त लागू नहुने सहसचिव आचार्यले राससलाई जानकारी दिए ।  
 
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको गौतमबुद्ध विमानस्थल निर्माणका क्रममा रहेको र आगामी जेठ अन्तिम सातादेखि उडानयोग्य हुने भएकाले हवाई सम्झौता थप महत्वपूर्ण हुने सहसचिव आचार्यको भनाइ छ । 
 
कम्बोडियाका ९६ दशमलव ९० प्रतिशत नागरिकले बौद्ध धर्म मान्ने भएकाले भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागिसमेत सम्झौता दूरगामी महत्वको रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको भनाइ छ ।