मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस केन्द्रीय समिति १४१ सदस्यीय हुने

कांग्रेस केन्द्रीय समिति १४१ सदस्यीय हुने


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुने भएको छ । 
 
कांग्रेसले पार्टीको विधानलाई नेपालको संविधानले गरेका नयाँ व्यवस्था संघीयताका आधारमा राज्य पुनःसंरचना, संघीय संसद, प्रदेशसभा र स्थानीय तहको पुनःसंरचना, समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रस्ताव तयार गरेको छ । 
 
सोहीअनुसार पार्टीको विधान संशोधन मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले समितिको लिखित प्रतिवेदनसहित संशोधनका लागि प्रस्तावित विधानको मस्यौदा आज केन्द्रीय कार्यसमिति बैठकमा पेश गरे । मस्यौदा प्रतिवेदन केन्द्रीय समिति बैठकले पारित गरी पार्टीको महासमिति बैठकमा पेश गरिनेछ । महासमिति बैठक यही मसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुदैछ । महासमिति बैठकले पारित गरेसँगै पार्टीको संशोधित विधान लागू हुनेछ । 
 
प्रस्तुत मस्यौदामा पदाधिकारीको संख्या र निर्वाचन प्रक्रिया हालको विधानअनुसार नै रहने व्यवस्था गरिएको छ । कार्यसमितिको संख्या भने बढाएर १४१ हुने प्रावधान राखिएको समितिका प्रवक्ता रमेश लेखकले जानकारी दिए । समानुपातिक समावेशी सिद्धान्तका आधारमा सबै वर्ग र समुदायको सहभागिता सुनिश्चित गर्दा केन्द्रीय समितिको संख्या बढ्ने उनले बताए । 
 
हाल ८५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको कांग्रेमा एक सभापति एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित हुने तथा एक उपसभापति एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने व्यवस्था छ । 
 
आठ तहका संरचना हुने 
 
कांग्रेसले पार्टीका संरचनालाई टोलस्तरदेखि केन्द्रसम्म आठ तहका हुने गरी विधान मस्यौदा तयार गरेको छ । समितिले मूल मस्यौदा प्रतिवेदनसँगै समिति सदस्यका फरकमतलाई पनि समावेश गरी बैठकमा पेश गरिएको छ । मस्यौदामा सबैभन्दा मुनि टोलस्तरमा पार्टीको कार्यसमिति हुनेछ । पाँचसय देखि एक हजार ५०० जनसंख्या बसोबास रहेको बस्तीमा गाउँटोल कार्यसमिति रहनेछ । त्यसभन्दा माथि वडासमिति, त्यसपछि क्रमशः स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतितिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा पार्टीका संरचना हुनेछन् । 
 
विधानको प्रस्तावनामा महत्वपूर्ण ऐतिहासिक घटनाक्रमबारे उल्लेख गर्ने, पार्टीको सदस्यता सरल तथा सहज रूपले वितरण गर्ने प्रबन्ध गरी व्यस्थित गर्ने उल्लेख छ । टोलदेखि केन्दसम्मका आठ तहका अधिवेशन र महाधिवेशन, केन्द्रीय महासमिति र प्रदेश महासमिति गठन हुने व्यवस्थाका साथै सबै तहमा आवधिक सम्मेलन गरी संगठनलाई सुसंगठित गर्ने प्रस्ताव गरिएको छ । 
 
कांग्रेको गत वैशाख १६ गतेको बैठकले विधान संशोधन गर्न महामन्त्री खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले मुलुकभर १२ स्थानमा पार्टीका सरोकारवाला सबै निकाय र व्यक्तिसँग छलफल गरी सुझाव संकलन गरेको थियो । विभिन्न छलफलमार्फत् सुझाव संकलन गरी शनिबार मात्रै मस्यौदा पारित गरेको समिति प्रवक्ता लेखकले जानकारी दिए । 
 
आधुनिक र समावेशी हुने 
 
कांग्रे प्रवक्ता विश्वप्रकाश शर्माले विधान संशोधनपछि कांग्रे आधुनिक, पूर्ण समावेशी र प्रभावशाली दलका रूपमा स्थापित हुने बताए ।
 
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीको सबै तहमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको बताए । महिलाको एकतिहाइ प्रतिनिधित्व सुनिश्चित गर्ने, विभिन्न तहमा अधिवेशन र महधिवेशनमा प्रतिनिधिको संख्या वृद्धि गर्ने प्रस्ताव गरिएको उनले जानकारी गराए । 
 
उनले केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान, केन्द्रीय निर्वाचन समिति, लेखा समिति, अनुशासन समिति थप परिमार्जन गरिएको बताए । पार्टीका केन्द्रीय विभाग, भातृ संघ एवम् शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिसम्बन्धी विषयलाई परिमार्जन गरिएको उनले जानकारी दिए । 
 
सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यलाई मस्यौदा अध्ययनका लागि तीन दिनको समय उपलब्ध गराउने निर्णय गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आवश्यक अध्ययनपछि आगामी भदौ १३ गते बस्ने पार्टीको केन्द्रीय समिति बैठकले मस्यौदा पारित गर्ने छ । 
 
बैठकले पार्टीका पूर्वकोषाध्यक्ष एवं पूर्वमन्त्री रामकृष्ण ताम्राकार र नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पूर्व प्रधानन्यायाधीश केदार गिरी, कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंका पिता वीरेन्द्र प्रसाईं, तुलसीराम बुढाथोकी (दाङ) र सीए सीता भण्डारी (गुल्मी) को निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । (रासस)