काठमाडौँ । संसारकै सबैभन्दा पुरानो सङ्क्रामक रोग ट्रकोमा (खस्रे रोग) निवारण गर्ने नेपाल दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र बनेको छ ।
तोकिएको मापदण्ड पूरा गरेपछि विश्व स्वास्थ्य सङ्गठनले ट्रकोमा निवारण गर्नेमा नेपाललाई दक्षिण–पूर्वी एशियाकै पहिलो देश घोषणा गरेको हो । राजधानीमा आयोजित ट्रकोमा रोग निवारण समारोहमा विश्व स्वास्थ्य सङ्गठन–दक्षिणपूर्वी एशियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई ट्रकोमा रोग निवारण भएको प्रमाणपत्र प्रदान गरे ।
नेपालमा अन्धोपनको दोस्रो प्रमुख कारकतत्व रहेको ट्रकोमालाई खस्रे रोगको रुपमा चिनिन्छ । ट्रकोमा क्लाइमेडिया ट्रकोमाइटिस नामक जीवाणुको कारणले लाग्ने सङ्क्रामक रोग हो । यसले आँखाको ढकनी मुनिको भागमा खस्रोपना ल्याउने भएकाले खस्रे रोग भनिएको हो । यो रोग लागेपछि आँखा दुख्ने, आँखाको बाहिरी सतह (कर्निया) टुक्रने र अन्त्यमा अन्धोपना हुन्छ । पानीको अभाव, सरसफाइको कमी भएको क्षेत्र र आँखामा बस्ने झिङ्गा धेरै भएको बाक्लो बस्तीका गरीब समुदायमा यो रोग बढी फैलने चिकित्सकले बताएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव सुशीलनाथ प्याकुरेलले सामूहिक प्रयासबाट रोग निवारण भएको जनाउँदै उपलब्धिलाई कायम राख्न सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।
सङ्क्रमित व्यक्तिको आँखाको प्रत्यक्ष सम्पर्कबाट वा आँखा वा नाकबाट निष्कने श्रावको सम्पर्कबाट सर्ने रोगलाई सरकारले लामो प्रयासमा निवारण गर्न सफल भएको छ । ट्रकोमा रोग निवारण भएको उपलक्ष्यमा बिहीबार मन्त्रालयले साझेदारी संस्था तथा व्यक्तिलाई सम्मानसमेत गरेको छ ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले ट्रकोमा निवारण जनस्वास्थ्य क्षेत्रको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रको समस्या समाधानमा विशेष रणनीति बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपालमा सन् १९८१ मा ट्रकोमा फैलिएको पाइएको थियो । एक अध्ययनले अन्धोपनाको दोस्रो मुख्य कारण ट्रकोमालाई देखाएको थियो । अहिले नेपालमा एकदेखि नौ वर्ष उमेर समूहका पाँच प्रतिशतभन्दा कम बालबालिकामा मात्र सक्रिय ट्रकोमाका लक्षण रहेको छ । पन्ध्र वर्षभन्दा माथि उमेर समूहमा शून्य दशमलव दुई प्रतिशतभन्दा कम व्यक्तिमा ट्रकोमाको विकसित रुप (ट्रकोमाटस ट्रिकायसिस) रहेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले रोग निवारण महत्वपूर्ण उपलब्धि भएको भन्दै रोग दोहोरिन नदिन सम्बन्धीत सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए ।
विश्व स्वास्थ्य सङ्गठन–दक्षिण पूर्वी एशियाकी क्षेत्रीय निर्देशक डा सिंहले नेपालको सफलता गर्व गर्न लायक भएको उल्लेख गर्दै नेपालको चुस्त निरीक्षण प्रणालीको प्रशङ्सा गरे ।
अमेरिकी सहयोग नियोग (युएसएड)का मिसन निर्देशक एमी टोहिल–स्टलले सन् २००९ देखिनै ट्रकोमा प्रभावित जिल्लामा सेवा विस्तारमा सहकार्य गर्दै आएको जानकारी दिँदै एक दशकपछि प्रतिफल हासिल भएकोमा खुशी व्यक्त गरे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठ, अमेरिकी सहयोग नियोग आरटिआइ इनभिजनका आवासीय कार्यक्रम सल्लाहकार धर्मपालप्रसाद रमन, नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष तीर्थप्रसाद मिश्र र सङ्घका कार्यकारी निर्देशक शैलेशकुमार मिश्रलगायतले यो उपलब्धिलाई कायमै राख्न सबैको सहकार्य जरुरी रहेको धारणा व्यक्त गरे ।
पाँच प्रतिशतभन्दा कम बालबालिकामा ट्रकोमा
इन्टरनेशनल ट्रकोमा इनिसियटिभ (आइटीआई) अमेरिकी सहयोग नियोग, रिसर्च ट्रयाङग इन्स्टिच्युट इन्टरनेशनल र हेलेन केलर इन्टरनेशनको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालमा सन् २००२ देखि राष्ट्रिय ट्रकोमा कार्यक्रम शुरु गरेको थियो ।
कार्यक्रमअन्तर्गत विश्व स्वास्थ्य सङ्गठनले सुझाएको रणनीतिअनुसार कार्यक्रम सञ्चालन भएपछि ट्रकोमा प्रमुख जनस्वास्थ्य समस्याबाट सामान्य समस्यामा झारिदिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव सुशीलनाथ प्याकुरेलले बताए ।
कार्यक्रम सफल पार्न १० हजार सामाजिक परिचालक र १६ हजार बढी स्वास्थ्य स्वयम्सेविक परिचालन भएका थिए । सन् २०१४ सम्ममा नेपालमा एक करोड ४७ लाख डोज अजिथ्रोमाइसिन एन्टिवायोटिक वितरण भएको मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा एकदेखि नौ वर्ष उमेर समूहका पाँच प्रतिशतभन्दा कम बालबालिकामा मात्र सक्रिय ट्रकोमाका लक्षण रहेको र १५ वर्षभन्दा माथिका शून्य दशमलव दुई प्रतिशतभन्दा कम व्यक्तिका ट्रकोमाको विकसित रुप (ट्रकोमाटस ट्रिकायसिस) रहेको मन्त्रालयले जनाएको छ ।
सन् २०१८ को मे महीनामा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई ट्रकोमा निवारण भएको देश घोषणा गरेको थियो । जेनेभामा भएको विश्व स्वास्थ्य सङ्गठनको ७१ औँ महासभामा तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री पद्यमा अर्यालले उक्त प्रमाणपत्र ग्रहण गरेका थिए ।
#तस्बिर : रत्न श्रेष्ठ / रासस
प्रतिक्रिया