साहित्य / विविध / फिचर

टाइगर-हिलबाट सूर्योदय हेर्ने उत्सुकता

127 पटक पढिएको

- लिला श्रेष्ठ

17th Nov 2018, Saturday | २०७५ मंसिर १, शनिबार १३:००
भोलिपल्ट बिहान सूर्योदय हेर्ने उत्सुकतामा बिहान साढे तीन बजे नै उठ्यौँ । भोको सुताइ, ढुसी गन्हाउने कोठाको वातावरणले हिरिक्क भएका थियौँ । टाइगर—हिल जाने ट्याक्सी खोज्न बाहिर निस्कियौँ ।
 
एउटा ट्याक्सी घ्यार्रघ्यार्र कराइरहेको थियो । त्यसैमा चढ्यौँ । प्रतिव्यक्ति चालीस रुपियाँ लिँदोरहेछ । हामी पाँचजनाको जमात भएकोले ट्याक्सी भरियो । वायुवेगले बुर्कुसी मार्दै ट्याक्सी टाइगर-हिल चढ्यो ।
 
सूर्योदयका ग्राहकहरुले टाईगर-हिल खचाखच थियो । यस टावरको छतमा जान तीन रुपियाँको टिकट काट्नुपर्ने रहेछ । साथीहरुले टिकट लिनुभयो । हामी माथि चढ्यौँ ।
 
बिहानको चिसो सिरेटोले मुटु छेड्न पुग्यो । उत्तरतर्फ चाँदीको पर्खाल मुस्काइरहेको थियो । त्यहाँबाट देखिने कञ्चनजङ्घा, कुम्भकर्ण, मकालु आदि हिमालहरुको दृश्य अति रमणीय रहेछ । सूर्योदय हुनुभन्दा अगाडि हिमालको रङ्ग सेतो चाँदीजस्तै टल्किरहेको थियो । पाँच बजेर ४५ मिनेटको शुभमुहूर्तमा सूर्योदय भयो– विभिन्न आकार प्रकार र रङ्गमा । त्यसपछि हिमाल सुनजस्तै टल्कियो । फेरि एकैछिनमा सूर्य उकालो लाग्यो । अनि हिमाली लहर सेतोको सेतै भैरह्यो । यसरी हिमाल तीन पटक आफ्नो रुप फेर्दोरहेछ । तर आजको सूर्योदय प्रतिकूल मौसमको कारण सदाजस्तो राम्रो थिएन भन्ने यत्रतत्र सुनिन्थ्यो ।
 
समयाभावको कारण हामीले यो मनोरम वातावरणलाई तुरुन्तै छोड्नुपर्यो । यहाँबाट देखिने वरिपरिका दृश्यहरु चुम्दै हामी ओह्रालो झर्यौँ । ड्राइभरले ट्याक्सी न्यूट्रलमा राखेर झार्दोरहेछ ।
 
यही ट्याक्सीबाट दार्जिलिङ्गको सात प्वाइन्ट (The Seven Points) घुम्ने तरखरमा थियौँ । बतासेडाँडाबाट कञ्चनजङ्घा, कुम्भकर्ण हिमालहरु दूरवीनले चियाएर हेर्ने उत्सुकताले एकछिन रोकियौँ । यस डाँडोमा दूरवीन हेर्नेहरु प्रशस्तै थिए, हामीले पनि पालैपालो हेर्याै । त्यसपछि ट्याक्सी बिसौनीतिर लाग्यौँ । रेलको लिकसँग जोडाएर विभिन्न सरसामानहरु बेच्न राखिएको थियो । यो दृश्य मलाई ठ्याक्कै काठमाडौँको रत्नपार्कजस्तै लाग्यो ।
 
एउटी मोटी—मोटी काली आईमाई हातमा लत्ता कपडा बोकेर हामीलाई बेच्न लम्की । हामीले पनि किन्नको लागि तरखर गर्दै थियौँ । एउटी आईमाईले यो दृश्य देखेर हामीलाई घर-थर सोध्न थालिन । हामीले बतायौँ । उनको घर पनि धनकुटा हिले रहेछ । हाम्रो साथी देवेन्द्रजीलाई खुसुक्क भनिन् – “यहाँ केही नकिन्नोस् ।” तर, कपडा बेच्ने आईमाई भने हामीलाई पच्छ्याउँदै थिई ।
 
पैदल भ्रमण गर्दै गर्दा जुधेका नजरहरू
 
अति महंगो भाडा भएकोले ट्याक्सी बजार आईपुगेपछि हामी उत्रेर पैदल हिंड्न थाल्यौँ । सबभन्दा पहिले ‘सेन्ट जोसेफ कलेज’ जाने हाम्रो इच्छा भयो । सेकेन्ड सेकेन्डको परिवर्तित दृश्यहरु चुम्दै हामी अगाडि बढ्यौँ । गभर्मेण्ट कलेज अगाडिको पी. डब्लू. जी. क्वार्टरको सँघारमा उभिरहेकी एउटी युवतीको आँखासँग हाम्रो आँखा जुध्यो ।
 
“सेन्ट जोसेफ कलेज जाने बाटो यही हो बहिनी ?” कणेल दाइले सोध्नु भयो ।
 
ती युवतीले हँसिलो मुद्रामा स्वच्छ नयन खुलाएर हामीलाई सेन्टजोसेफ कलेज जाने बाटो त्यही नै भएको कुरा बताउँदै अन्य कुराहरु खोतल्न तत्पर भइन् । हामी पाँचै प्राणी आकर्षित भयौँ ।
 
“तपाईँहरु काँबाट आउनु भा ?”
 
“नेपालबाट ।”
 
“अरे ! नेपालीहरु पनि यसरी घुम्न हिँड्छन् र ?” ती युवतीले लामो सास तान्दै उपहासपूर्वक भनिन् ।
 
“अनि यो तिहारको बेलामा ...।” – यसले मेरो खाटा बस्न लागेको घाउ खोतल्यो । मलाई असह्य पीडा भयो । आज भाइटीका सबैको घर–घरमा उल्लास छ । सबैको गलामा फूलको माला र निधारमा टीका छ ।
 
“भो ! यो कुरा नकोट्याइदिनोस् !” मैले हतार हतार भनें ।
 
“ए... ! मैले कुरा बुझें !” खितित्त हाँस्दै ती युवतीले भनिन् ।
 
“हामी पूर्वी नेपालको धनकुटामा रहेको पाख्रीबास कृषि केन्द्रमा काम गर्छौं ।
 
शायद ! तपाईँलाई थाहा नहुन सक्छ र पाख्रीबास कृषि केन्द्रमा एकदमै थोरै छुट्टी पाइने भएकोले हामी यो समयमा घुम्न बाध्य भएका छौँ ...।” गौतमजीले बयान गर्न खोज्दै भन्नुभयो ।
 
“...त्यसैले हामी हाम्रा दिदी–बहिनीलाई थाहै नदिई सुटुक्क भागेको ।” देवेन्द्रजीले थप्नुभयो ।
 
“पाख्रीबास कृषि केन्द्र कहाँ पर्छ ?” युवतीले सोधिन् ।
 
“यो धनकुटा जिल्लामा पर्छ ...” मैले भनें ।
 
“धनकुटा भनेको ।”
 
“के तपाईँ धरान जानु भएको छ ?”
 
“अँहँ ! तर विराटनगर जाँदा बाटोमा पर्ने ईटहरी अवश्य थाहा छ हैन त ?”
 
“हजूर ...!”
 
“इटहरीबाट सोझै उत्तर जानुपर्छ । त्यसपछि धरान आइपुग्छ । त्यहाँबाट पनि अझै उत्तर जानुपर्छ ।”
 
“ए ! त्यसो भए धरान हुँदै जानुपर्ने रहेछ ।”
 
“एकदम ठिक भन्नुभयो ।”
 
हाम्रो यस्तो वार्तालाप केही समय चल्यो ।
 
“अनि तपाईँहरु किन ट्याक्सीमा नआउनु भा’त ? ट्याक्सीमा आउनु भा’भा त सेन्टजोसेफ कलेज पुग्न अप्ठ्यारो पर्ने थिएन नि !”
 
“हैन हामीलाई पैदलै घुमेर ठाउँ हेर्दै हिँड्न मन लाग्यो नि त ...।” कणेल दाइले भन्नुभयो ।
 
“लौ त त्यसो भए म तपाईँहरुलाई गभर्मेन्ट कलेज पनि घुमाइदिन्छु हिँड्नोस् ।” ती युवती अगाडि लागिन् हामी पछि पछि ।
 
तिहारको समय कलेज बन्द थियो । “मैले यही कलेजमा पढेकी ! अहिले म काठमाडौँमा छु । बोर्डिङ्गमा टिचिङ्ग गर्छु ।” युवतीले कलेजको बाहिरी आवरण देखाउँदै हामीलाई बताइन् ।
 
“तपाईँको परिचय पाउन सकिन्छ कि ? देवेन्द्रजीले भन्नुभयो ।
 
“आबुई ... !” किन नपाउनु ... मेरो नाम ज्योत्स्ना क्षेत्री हो ।”
 
बटारिएर मुसुक्क हाँस्दै बताइन् ।
 
त्यसपछि हामी उनलाई ज्योत्सनाजी भन्न थाल्यौँ । कलेजको घुमाइसँग हामीले स्मरणको लागि फोटो पनि खिच्यौँ । प्रसङ्गवश आफू अङ्ग्रेजीको धुरन्धर भएको कुरा बताउँदै उनले भनिन्-“नेपालमा त अङ्ग्रेजी सिक्न खोज्यो भने बिर्सिने डर हुन्छ ।”
 
“कसरी ...?”
 
“नेपालमा अङ्ग्रेजी सिकाउने प्रविधिभन्दा गफ गर्ने प्रवृति बढी छ ।”
 
“ती कुराहरु त धेरै पहिलेका हुन्, अहिले यस्तो छैन...।” मैले ढाकछोप गर्ने प्रयास गरेँ ।
 
'अनि ज्योत्सनाजी ! यहाँ नेपाली भाषाको पनि पढाइ हुन्छ ?”
 
“हुन्छ ! तर त्यसलाई हामी गोर्खाली भाषा भन्छौँ ।”
 
“किन ?”
 
“हामीले नेपालीभाषी भएर धेरै धोका खाएका छौँ !”
 
“कसबाट ?”
 
“हाम्रै इण्डियनबाटै ।”
 
“कसरी ?”
 
“अब हेर्नोस हामी असम जाँदा वा कुनै ठाउँ जाँदा पनि नेपालीभाषी भन्यो भने हामी तिरस्कृत हुन्छौँ, अपमानित हुन्छौँ र ज्यादै कष्ट भोग्नुपर्छ । त्यसैले त हामीले नेपाली भाषालाई गोर्खाली भाषा भनेका हौँ – आफ्नो जीवन सुरक्षाको लागि ...।”
 
गफ गर्दै हामी कलेजबाट ओह्रालो झर्छौँ ।
 
“अनि यहाँ के कति परिवार हुनुहुन्छ नि ...?”
 
“डल्लै पाँच जना !”
 
“बुवा–आमा...”
 
“हजूर ! वुवा–आमा, भाइ, बैनी र म मात्र ।”
 
“ए ! सुखी परिवार हुनुहुँदोरहेछ ।”
 
यहाँ दार्जिलिङ्गमा ‘पूरै’ वा ‘सम्पूर्ण’ वा ‘सबै’ भन्नुपर्दा ‘डल्लै’ भन्ने शब्द सुनेर खित्का छोड्नु भयो । हामी सबै हाँस्यौँ ।
 
“अब तपाईँहरु यही बाटो नछोडी जानोस् । सेन्ट–जोसेफ कलेज पुगिन्छ । अनि भरे फर्किंदा मेरो क्वार्टरमा निस्कनुहोस् है ।” ज्योत्सनाजीले बाटो देखाउँदै भनिन् । ज्योत्सनाजीको बुवा रोड विभागमा काम गर्नुहुँदोरहेछ । स–परिवार त्यही क्वार्टरमै बस्नुहुँदोरहेछ । थुक्क ! उहाँहरुको घर कहाँ पर्थ्यो सोध्नै बिर्सिएछौँ ।
 
सेन्टजोसेफ कलेज, म्यूजियम र स्वीट्जरल्याण्डबाट ल्याइएका चितुवाहरुः
 
दार्जिलिङ्गको नर्थ प्वाइन्टमा रहेको सेन्टजोसेफ कलेजलाई बाहिरी आवरणबाट हेरेर धित् मार्नुपर्यो । कलेज बन्द थियो । यस कलेजको पूर्व–उत्तर दिशामा पर्यटकहरुको लागि ‘रोप–वे’ रहेछ । यो पनि बिदाको दिन भएकोले बन्द नै थियो । चिया बगानको माथिबाट तानिएको यो ‘रोप–वे’ जोरथाङ्ग बजारसम्म पुग्छ रे ! यहाँबाट जोरथाङ्ग बजारको दृश्य अति रमणीय देखिन्छ । यदि ‘रोप–वे’ चलेको भए हामी जोरथाङ्ग बजार अवश्य जाने थियौँ ।
 
यसपछि हामी दार्जिलिङ्गको म्यूजियम हेर्ने उत्सुकतामा अगाडि बढ्यौँ र बाटोमा एकजना भलाद्मी भेटियो । त्यो भलाद्मीको पछि–पछि हिमचितुवाको खोरतिर लाग्यौँ । त्यस मान्छेले म्यूजियम जाने बाटो पनि देखाइदियो ।
 
त्यसपछि हामी यो अनुसन्धानको लागि स्वीट्जरल्याण्डबाट ल्याइएका दुईजोडी चितुवाहरु हेर्न हुर्रियौँ । हिमचितुवा नेपालको जङ्गलमा पनि पाइने कुरा त्यहीँ चितुवाको रेखदेख गर्ने मान्छेले बताए । तर यसको विस्तृत अनुसन्धान हुन बाँकी नै छ रे ...!
 
त्यसपछि हामी म्यूजियमतिर लाग्यौँ । म्यूजियममा पस्नुअगाडि १ रुपैयाँको टिकट काट्नु पर्दोरहेछ । टिकट काटेर ‘माउन्टनेयरिङ्ग म्यूजियम’ को विशाल भवनभित्र पस्यौँ । यस भवनको तल्लो तलाबाट विभिन्न जीवजन्तु, पंक्षी तथा विभिन्न वस्तुहरुको अवलोकन गरेर माथिल्लो तलामा उक्लियौँ । हामी सबै आ–आफ्नै सुरमा हेर्दै जाँदै थियौँ । मेरो सामुन्ने एउटी शेर्पिनी मुसुक्क हाँसेर अगाडि ठिङ्ग्रिङ्ग उभिरही । म उसको मुस्कानसँग मुस्कान गाँसेर उसको स्वाभाविक वक्षस्थल, चिटिक्क मिलेको कद, आङ्गिक अनुपात मिलेको शरीर तथा सुहाएको पोशाकसँग लुब्ध भएर एकोहोरिएँ ।
 
“क्या हो ? बोलूँ–बोलूँ लाग्यो कि कसो ?” देवेन्द्रजीले पछाडिबाट धाप मार्दै भन्नुभयो । म तेर्सेर पछाडि फर्कें । शेर्पा पोशाकमा बनाइएको त्यो प्रतिमा साँच्चै जिउँदोजस्तो लाग्थ्यो ।
 
त्यसपछि हामी “एभरेष्ट म्यूजियम” जान भनेर बाहिर निस्कियौँ । सोम दाइ त कहाँ कता हराउनु भएछ ! धुई–धुई खोज्यौँ । कतै नपाएर थकित हुँदै उभिरहेका थियौँ । अरे ! सोम दाइ त छिटोछिटो एभरेष्ट म्यूजियम पनि चहारिसकेर खुत्रुक्खुत्रुक पो झर्दै हुनुहुँदोरहेछ ।
 
‘एभरेष्ट म्यूजियम’ को प्रवेशद्वारभन्दा केही माथि तेन्जिङ्ग नोर्गेको विशाल प्रतिमा सगरमाथा चढेर विजय प्राप्त गरेको मुद्रामा राखिएको रहेछ । यस प्रतिमासँग गर्वको फूल गाँसेर हिँड्यौँ । यस म्यूजियमको बाटोमै फोटो खिच्नेहरुको लागि विभिन्न लुगा कपडाहरु राखिएको थियो । यहाँ घुम्ने पर्यटकहरुले भाडामा राखिएका ती विभिन्न प्रकारका लुगाकपडाहरु फेरि–फेरि फोटो खिच्दा रहेछन् । यस म्यूजियममा भएका बडा–बडा बाघ, स्याल, फ्याउरो तथा भालूले अरु शोभा बढाएको छ ।
 
कलाकार ज्योत्स्नासँगको छोटो—मिठो क्षणः
 
दिउँसोको बाह्र बज्नै लागेको थियो । हाम्रो कुम्लो—कुटुरो सबै डि.सि.एम. लजभित्रै थियो । बाह्र बजेभित्रमा सामानहरु ननिकाले फेरि अर्को रातको चार्ज पनि तिर्नुपर्ने नियम रहेछ । हामी हतारिएर म्यूजियमलाई छोडेर दगुर्यौ । “फर्किंदा निस्किएर जानोस है !” भन्ने ज्योत्सनाजीको आवाजले हामीलाई झस्कायो । मानको अपमान नगर्ने विचारले हामी उनको क्वार्टरमा निस्कियौँ ।
 
मैले ढोका ट्वाक्ट्वाक पारेँ । एकजना युवक ढोकामा आएर सोधे “...कसलाई खोज्नुभएको ...?”
 
“यहाँ ज्योत्सनाजी हुनुहुन्छ ?”
 
“हुनुहुन्छ ।” युवक भित्र पसे ।
 
चट्ट मिलेको पोशाकमा सुन्दर मुस्कान छर्दै ज्योत्सनाजी ढोकामा निस्केर हामीलाई श्रद्धापूर्वक भित्र बोलाइन् । ती युवक त ज्योत्सनाजीकै आफ्नै भाइ रहेछन् । क्रमशः उनको भाइ, आमा र बहिनीसँग हाम्रो परिचय आदान–प्रदान भयो । उनको बुवा ड्यूटीमा गइसक्नु भएकोले भेट हुन सकेन ।
 
“ओ हो ! यो फोटो तपाईँकै हो ?” गौतमजीले बैठक कोठाको भित्तामा टाँसिएको फोटो औँल्याउँदै भन्नुभयो ।
 
“हजूर ! ... त्यत्ति राम्रो छैन ।” ज्योत्सनाजीले मीठो मुस्कान छर्दै भनिन् ।
 
“किन नहुने ...मलाई त करिश्मा मानन्धरकै जस्तै लाग्यो ...!”
 
“आबुई ! किन हुन्थ्यो ?”
 
“साँच्ची हो त ... ।” देवेन्द्रजी र गौतमजीले फेरि एकैसाथ भन्नुभयो ।
 
“तपाईँ कुनै चलचित्र, नाटकहरुमा अभिनय पनि गर्नुहुन्छ ?”
 
“हजूर ... म अहिले एउटा टेलिफिल्ममा खेल्दैछु !”
 
“ओ हो ! धन्यवाद र बधाइ पनि !! आ–आफ्नो रुचिअनुसार कुनै न कुनै कुरा अँगाल्नुपर्छ ।” देवेन्द्रजीले भन्नुभयो ।
 
“अनि तपाईँहरु पनि ...?”
 
“हजूर ! म पनि साहित्यको ‘ग्रासरुट्’मा छु ।
 
“ए ! हो ? तपाईँलाई पनि धन्यवाद छ । म पनि साहित्यको शुभेच्छुक र अनुरागी हूँ नि ...!”
 
“...उहाँ साहित्यकार कवि हुनुहुन्छ !” मैले कणेल दाइलाई औँल्याउँदै भनेँ ।
 
उनले चेहरामा मुस्कान छर्दै श्रद्धा गरिन् ।
 
“पानी पिउँन ...!” गौतमजीले भन्नुभयो ।
 
सबैले पालैपालो पानी पियौँ ।
 
“तपाईँ कुनै नेपाली साहित्यिक पत्रिका पढ्न चाहनुहुन्छ ?” देवेन्द्रजीले भन्नुभयो ।
 
“पढ्छु ...! मनपर्छ ।”
 
“त्यसोभए हामीसँग हामी आँफैले प्रकाशन गरेको “अरुण” साहित्यिक पत्रिका छ । तर अहिले हामीले साथमा बोकेका छैनौँ । लजमै छोड्यौँ । भरे कुनै कसैलाई पठाइदिन्छौँ है त ...।”
 
“हुन्छ...।”
 
“तपाईँको नाम ठेगाना दिन सक्नुहुन्छ !”
 
“अरे ! किन नसक्नु फोटो पनि त होला ...।”
 
“फोटो त हामी आफैँ खिचौँला ... !” मैले उनीतिर डायरी दिंदै भनें ।
 
हामी सबैजना बसेर उनीसँग एउटा ग्रुप फोटो खिच्यौँ ।
 
समयले हामीलाई भत्भत् पोल्न लागेको थियो । यो छोटो समयको परिचयमा डायरी गाँसेर हामी डि.सि.एम. लजतिर पुनः दगुर्यौँ । हतार–हतार कुम्लो–कुटुरो बोकेर बाहिरिई हाल्यौँ ।
 
(क्रमश: ....)
 
ड्यालस, अमेरिका
 
(सन् १९९२, संस्मरण डायरीबाट)