मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मेला महोत्सवमा छाडापन निरुत्साहित गर्न आग्रह

मेला महोत्सवमा छाडापन निरुत्साहित गर्न आग्रह


परासी । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मेला महोत्सवको नाममा अश्लिल र छाडा संस्कृतिलाई प्रोत्साहन नगर्न आग्रह गरेका छन् । 
 
महोत्सवमा छाडापन बढ्दै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन् । पश्चिम नवलपरासीको बर्दघाटमा आजदेखि शुरु भएको तेस्रो बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले स्वस्थ मनोरञ्जनलाई प्राथमिकता दिन आग्रह गरे । 
 
मुख्यमन्त्री पोखरेलले बर्दघाट नगरपालिका प्रदेश नं ५ कै पूर्वी मुख्य प्रवेशद्वार भएकाले नगरलाई प्रदेशको पहिचान झल्किने गरी सुन्दर, हराभरा र समृद्धिको दिशामा अघि बढाउन आग्रह गरे । 
 
उनले प्रदेश सरकारले नवलपरासीको परासीस्थित बाइपास क्षेत्रलगायत तीन वटा औद्योगिक क्षेत्र र करिडोर स्थापनाका लागि अध्ययन शुरु गर्न लागेको जानकारी गराए । 
 
प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेल, बर्दघाट नगरपालिकाका प्रमुख धीरज बस्याललगायतले कार्यक्रममा बोलेका थिए । 
 
बर्दघाट उद्योग वाणिज्य सङ्घको आयोजना तथा बर्दघाट नगरपालिकाको सहआयोजनामा आजदेखि शुरु भएको मङ्सिर ११ गतेसम्म चल्ने मेलामा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको सङ्घका अध्यक्ष मीनराज शर्माले बताए ।