मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

न्यायको माग गर्दै धर्नामा बसेका निर्मलाका बाबुआमा बिरामी

न्यायको माग गर्दै धर्नामा बसेका निर्मलाका बाबुआमा बिरामी


कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तलाई न्यायको माग गर्दै गत आइतबारदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरअगाडि धर्नामा बसेका बाबु र आमा बिरामी परेका छन् ।  
 
 
चिसोका कारण निर्मलाका बाबु यज्ञराजलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको बताइएको छ । आमा दुर्गादेवीको पनि स्वास्थ्य अवस्था कमजोर भएको परिवारका सदस्यहरुले बताएका छन् । उनीहरु धर्नामा बसेको आज शुक्रबार छैठौं दिन हो । 
 
पीडित परिवारलाई चिसोको समस्या देखिएपछि बिहीबार नै स्वास्थ्यकर्मीको टोलीले धर्नास्थलमा पुगेर स्वास्थ्य परीक्षण गरेको थियो । आमा दुर्गादेवीले छोरीको न्यायको लागि आफूहरु धर्नामा बस्दा पनि राज्यले सुनुवाई नगरेको गुनासो गरेकी छन् । 
 
धर्नाको पाँचौं दिनसम्म पनि सरकारका कुनै पनि जिम्मेवार व्यक्ति आएर आफूहरुको माग बारेमा नसोधेको उनले बताइन् । निर्मलाका बुबा यज्ञराजको रक्तचाप घटेर ६७ पुगेको चिकित्सक डा। किशोर बोहराले जनाएको छ । 
 
कमजोरी र समयमै खाना नखाएका कारण निर्मलाका बाबुको स्वास्थ्य अवस्था एकदमै बिग्रिएको महाकाली अञ्चल अस्पतालका डा। बोहराले जानकारी दिए ।
 
“समयमै खानपिन नहुँदा र अनिंदोका कारण बाबुको अवस्था निकै कमजोर छ,” डा। बोहराले भने “उहाँमा ज्वरो पनि देखिएको छ । हामीले रगत र पिसाब जाँचका लागि प्रयोगशालामा पठाएका छौ ।” निर्मलाका बाबुले आफूहरुले न्याय माग्दा पनि सरकारले उपेक्षा गरेको आरोप लगाए ।
 
“हामीले अरु केहि मागेका होइनौं,” यज्ञराजले भने “न्याय माग्दा त यो अवस्था छ । मौन बसे कसरी न्याय मिल्छ होला रु,”उनले भने । 
 
निर्मलाको स्वास्थ्य अवस्था बिग्रेपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र जिल्ला प्रहरी प्रमुख कुबेर कडायतले विहीबार धर्ना स्थलमा पुगेर पीडित परिवारको स्वास्थ्य अवस्था बुझेका थिए ।
 
यसैबीच, प्रहरीले निर्मलाको हत्याको  घटनामा शंकाको घेरामा रहेका चार जना व्यक्तिको डीएनए रिपोर्ट आज शुक्रबार सार्वजनिक गर्ने जनाइएको  छ । 
 
# तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस