मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भोक र गरिबीको पीडामा रहेका आप्रवासीहरु सीमाको पर्खाल नाघेर अमेरिका प्रवेश

भोक र गरिबीको पीडामा रहेका आप्रवासीहरु सीमाको पर्खाल नाघेर अमेरिका प्रवेश


मेक्सिको । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्य–अमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा बुधबार आइपुगेका छन् । अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहे पनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ ।
 
मेक्सिको र अमेरिकाको क्यालिफोर्नियालाई छुट्याउने सीमावर्ती सहर तिजुआनामा आप्रवासीको ठूलै समूह जम्मा भएको छ । उनीहरुमध्ये केही सीमाको पर्खालमा चढेका थिए भने केही पर्खाल नाघेर अमेरिकी भूमिमा पुगेका थिए । 
अमेरिकी सीमासुरक्षा बललाई देख्नासाथ उनीहरु पुनः मेक्सिकोतर्फ फर्किएका थिए ।
‘हामी अपराधी होइनौं’, उनीहरुमध्ये केहीले ठूलो स्वरमा चिच्याएका थिए । उनीहरुको आवाज राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित थियो । 
 
अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीको समूह अमेरिकी सीमामा आइपुग्नै लाग्दा सीमामा करिब छ हजार थप सैनिक परिचालन गर्न आदेश दिएका छन् ।
 
अर्को मुख्य समूहमा करिब चार हजार सहभागी छन् । उनीहरु पनि केही दिनभित्रै सीमामा आइपुग्ने बताइएको छ । आफ्नो देशमा व्याप्त गरिबी र हिंसाका कारण देश छाडेको बताउने यी मानिसहरु अमेरिकामा आप्रवासी हुन चाहन्छन् । कम्तीमा पनि नौ जना आप्रवासी अमेरिकी भूमिमा प्रवेश गरिसकेका छन् र उनीहरुलाई सीमासुरक्षा बलले पक्राउ गरेको छ । यीमध्ये चार बालबच्चा सहित एक आमा र १९ वर्षकी गर्भवती रहेका छन् । उनीहरु होन्डुरसका नागरिक हुन् ।
 
‘उनी अमेरिका गइहालिन् । मलाई थाहै थिएन, उनी त अमेरिकाभित्र गइसकिछन्’, उनका १७ वर्षे पति मोजेज हर्नान्डेजले बताए । ‘मैले बुझेको छु । उनी नयाँ जीवनको खोजीमा छिन् । हामी हाम्रो देशमा व्याप्त गरिबीबाट आजित भइसकेका थियौं ।’
 
गत साता राष्ट्रपति ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा कानुनी विधि अनुसरण नगरी अमेरिका प्रवेश गर्नेलाई शरणार्थीको मान्यता नदिने उल्लेख छ । त्यस्ता व्यक्तिलाई स्वदेश फर्काइने छ । तिजुआनमा भेला भएका धेरैजसो आप्रवासीहरुले सीमा पार गर्नुअघि समूहका अरु सदस्यलाई पनि पर्खिने बताएका छन् ।
 
सीमाको अर्कोतर्फ अमेरिकाको टेक्सास भ्रमणमा रहेका रक्षामन्त्री म्याटिसले अमेरिकी सीमासुरक्षा बललाई सहयोग गर्न सैनिक परिचालन आवश्यक रहेकामा जोड दिए । तर रिपब्लीकन पार्टीकै कतिपयले राष्ट्रपति ट्रम्पको यो योजनाको आलोचना गरेका छन् । 
 
तिजुआनाका लागि मेक्सिकोका विभिन्न स्थानबाट आप्रवासीहरु हिँडिसकेका छन् । कतिपयलाई बस, ट्रकको व्यवस्था पनि गरिएको छ ।
 
होन्डुरसका यी आप्रवासीहरुले अक्टोबर १३ मा आफ्नो यात्रा सुरु गरेका थिए । उनीहरु करिब तीन हजार किलोमिटरको यात्रा गरी मेक्सिको–अमेरिका सीमामा पुग्ने अभियानमा छन् । शुक्रबारसम्म अमेरिकी सीमामा करिब पाँच हजार आप्रवासी पुगिसक्ने अनुमान गरिएको छ । रासस / एएफपी