मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दण्डहीनता अन्त्यका लागि राजनीतिक दल अग्रसर हुनुपर्ने

दण्डहीनता अन्त्यका लागि राजनीतिक दल अग्रसर हुनुपर्ने


पोखरा । सञ्चारकर्मीलाई सुरक्षाको प्रत्याभूतिका साथै सहज ढङ्गले काम गर्ने वातावरण सृजना हुनुपर्ने आवश्यकतामाथि जोड दिइएको छ । 
 
फ्रिडम फोरमद्वारा बुधबार पोखरामा आयोजित ‘सुरक्षित पत्रकारिताका लागि दण्डहीनताको अन्त्य’ विषयक अन्तरक्रियामा दण्डहीनता अन्त्यका लागि राजनीतिक पार्टीलाई गम्भीर हुनुपर्ने, पत्रकारलाई सधैँ मानसिक त्रास, धम्की र भौतिक आक्रमणजस्ता घटनाबाट पीडित हुनुपर्ने भएकाले कुनै पनि बहानामा दोषीलाई उन्मुक्ति दिन नहुने, पत्रकारहरुमा पनि देखिएका कमीकमजोरीमा सुधार ल्याउनुपर्ने र पत्रकारहरुबीच ऐक्यबद्धता आवश्यक रहेको विषयमा सहभागीहरुले सुझाव दिएका छन् । 
 
सो अवसरमा प्रजिअ चक्रबहादुर बुढाले विकृति र विसङ्गतिलाई उजागर गर्ने काम सञ्चारकर्मीले गर्दै आइरहेको भन्दै मानवअधिकार हनन नहुन दिनका लागि सुरक्षाकर्मीलाई सधैँ सचेत गराउने कार्य भइरहेको बताए । 
 
राष्ट्रिय मानवअधिकार आयोग पोखराका प्रमुख दीपकध्वज कार्कीले पत्रकारहरु अझै असुरक्षित रहेको प्रसङ्ग उल्लेख गर्दै तुलनात्मक रुपमा सीमावर्ती क्षेत्रका पत्रकारहरु धम्कीलगायत कारणले बढी पीडित रहेको उल्लेख गरे । 
 
नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले दण्डहीनता गर्नेमाथि कडा कारवाही हुनुपर्ने आवश्यकतामाथि जोड दिँदै समाजलाई सचेत गराउने जिम्मेवारी बोकेकाले पत्रकारहरुलाई खतरा मोलेर भए पनि कार्य गर्नुपर्ने बताए । 
 
प्रहरी नायब उपरीक्षक नवीन कार्कीले लोकतन्त्रको सुन्दर पक्षका रुपमा प्रेसको स्वतन्त्रता र कानूनी राज्य रहेको भन्दै पत्रकारहरुप्रति कुनै प्रकारको प्रहरीबाट भएको ज्यादतिप्रति दुःख व्यक्त गर्दै कसैले पत्रकारलाई धम्की दिएमा तुरुन्त खबर गर्न आग्रह गरे । 
 
पत्रकार महासङ्घ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकारको दुव्र्यहारलगायत घटनामा महासङ्घले गम्भीर भएर आफ्नो जिम्मेवारी बहन गरेको जानकारी गराउँदै पत्रकारलाई दुव्र्यवहार गर्ने व्यक्तिलाई पक्राउ गरी कारवाही गर्नुपर्ने विषयमा जोड दिए । 
 
शान्तिका लागि नागरिक समाज सञ्जाल कास्कीका संयोजक विष्णुप्रसाद बरालले दण्डहीनता अन्त्यका लागि नागरिक समाज, राजनीतिक दल, प्रहरी, प्रशासनलगायत सबैलाई मिलेर कार्य गर्नुपर्ने आवश्यकता औँल्याए । 
 
पत्रकार बिना सिलवालले पत्रकारहरु पनि राजनीतिक दलहरुसँग जोडिएको कारण कुन संस्थाका पत्रकार पिटिएको भावना देखिएको कारणले पत्रकारहरुबीच ऐक्यबद्धता हुनुपर्ने विषयमा जोड दिए । 
 
पोखरामा पीडित बनेका पत्रकार उत्तम पौडेल र प्रकाश ढकालले पत्रकारमाथि दुव्र्यवहार गर्नेमाथि कारबाही नगरी मिलेमतोमा माफी मगाएर छोड्नुको सट्टामा मुद्दा दर्ता गरी कारबाही हुनुपर्ने माग राखे ।