मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्रीबाट मन्त्रालयको कार्यप्रगतिको अनुगमन

प्रधानमन्त्रीबाट मन्त्रालयको कार्यप्रगतिको अनुगमन


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न मन्त्रालयको कामको प्रगति विवरण अनलाइनमार्फत अनुगमन गरेका छन् । 
 
उनले आफ्नै कार्यालयमा बसेर मन्त्रालयका काम कारवाहीबारे नियमित अनुगमन गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए । 
 
प्रधानमन्त्री कार्यालयले विकास गरेको सफ्टवेयरमा सबै मन्त्रालयका सचिवले आफ्नो मन्त्रालयको कार्ययोजनाको कार्यप्रगति विवरण राख्ने गर्छन् । ती विवरण प्रधानमन्त्री ओलीले अनलाइनमार्फत अनुगमन गर्छन् । 
 
‘सबै मन्त्रालयका सचिवले प्रत्येक महिनाको ७ गतेभित्र अघिल्लो महिनाको कार्यप्रगति विवरण सफ्टवेयरमा राख्नुहुन्छ’, उनले भने, ‘सफ्टवेयरमा राखिएको विवरणलाई प्रधानमन्त्रीले अनुगमन गरिरहेका छन् ।’ 
 
मन्त्रालयका कामकारवाही ढिलासुस्ती भएको महसुस गरेपछि प्रधानमन्त्री आफैँले अनुगमन शुरु गरेका हुन् । गत असोजमा सोसम्बन्धी सफ्टवेयरको विकास गरिएको हो । 
 
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले प्रधानमन्त्री ओलीले नियमित रुपमा सबै मन्त्रालयको कार्यप्रगतिबारे निकट भएर अनुगमन गरिरहेको बताए । ‘प्रधानमन्त्री कुन मन्त्रालयको कार्यप्रगति कस्तो रहेको छ भनेर उहाँ नियमित अनुगमनबाट जानकार हुनुहुन्छ’ उनले भने, ‘अनुगमनका क्रममा देखिएका कतिपय समस्या प्रधानमन्त्री आफैँले मन्त्री र सचिवलाई निर्देशनसमेत दिनुहुन्छ ।’ 
 
प्रवक्ता कुँवरले कार्ययोजनामा आएका समस्यालाई नीतिगत रुपमा प्रधानमन्त्री कार्यालयले समाधान गरिरहेको बताए । ‘मन्त्रालयको नीतिगत र संरचनागत सहयोग हामीले गरिरहेका छौंँ’, उनले भने, ‘तर तोकिएको समयमा काम सक्नुपर्ने निर्देशन छ ।’ 
 
सरकारले विकास र पूर्वाधारका काम दु्रत गतिमा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ । सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई तोकिएका काम गर्न प्रधानमन्त्री ओलीले आफैँ निर्देशन दिएका छन् ।
 
‘यसअघि वर्षायाम र चाडपर्व परेकाले विकास र पूर्वाधारका काम हुन सकेका थिएनन्’, प्रवक्ता कुँवरले भने, ‘अब वर्षायाम र चाडपर्व सकिएकाले यस आर्थिक वर्षमा सम्पादन गर्नुपर्ने विकास निर्माणसम्बन्धी भौतिक पूर्वाधारका काम द्रुत गतिमा हुन्छ ।’ रासस