मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनमा छठ पर्वको रौनक, पहाडसम्म फैलियो छठको उल्लास

चितवनमा छठ पर्वको रौनक, पहाडसम्म फैलियो छठको उल्लास


चितवन । तराई जिल्लामा उल्लासका साथ मनाइने छठ पर्व पछिल्लो समय चितवनको नारायणी नदी किनारमा पनि रौनकका साथ मनाउने गरिन्छ ।
 
चितवनमा छठपर्वमा व्रत बस्ने र सूर्यको आरधाना गर्ने भत्तजनहरु बढ्दै गएका छन् । अझै पहाडी समुदायका व्यक्तिहरु पनि छठमा व्रत बस्ने क्रम बढ्दै गएको हो । 
 
विसं २०४८ सालदेखि नारायणी नदी किनारमा छठ पर्व मनाइँदै आएको छ । सुरु सुरुका बर्षमा ४० जना व्रतालु पनि नहुने छठमा अहिले ५०० बढी व्रतालुहरु सहभागी हुनुले छठप्रतिको आर्कषण बढाएको देखिन्छ । 
 
छठपर्व मनाउन नारायणी नदी किनार सिंगारिएको छ । तराई सामुदायिक सेवा समिति नारायणगढले हरेक वर्ष छठपर्व यही नदी किनारमा मनाउँदै आएको छ ।
 
व्रतालुलाई टेन्टको व्यवस्था मिलाइएको छ । अर्घ दिने ठाउँमा नदी किनारमा कुनै पनि दुर्घटना नहोस् भनेर डोरीको बार बनाइएको छ । यहाँ २० देखि २५ हजार मानिसहरु छठपर्व हेर्नका लागि आउने गरेको तराई सामुदायिक सेवा समितिका अध्यक्ष गोपालजी गुप्ताले बताए । उनले छठ पर्वको महत्व तराई हुँदै पहाडसम्म फैंलिदै गएकोमा खुसी लागेको बताए ।  
 
समितिले निरन्तर व्यवस्थित रुपमा छठ मनाउन थालेपछि यहाँ व्रत बस्ने र हेर्न आउनेहरुको संख्या बढ्दै गएको छ । अध्यक्ष गुप्ता भन्छन् ‘तराईबासीमात्रै होइन, पहाडी समुदायका पनि नदीमा स्नान गर्न आउँछन् । ’
 
समितिका सचिव नारदप्रसाद परिहस्त आस्था र विश्वासको धरोहरका रुपमा छठपर्व मनाउँदै आएको बताए । समितिले चार लाख रकम खर्चिएर नारायणी नदी किनारमा व्यवस्थित व्रतका लागि व्यवस्था मिलाउँदै आएको छ । 
 
छठको सुरक्षा र व्यवस्थापनका लागि ट्राफिक प्रहरी एवम् जनपथ प्रहरीलाई खटाउन अनुरोध गरिएको अध्यक्ष गोपाल जी गुप्ताले बताए ।
 
स्वस्फूर्तरुपमा आर्थिक सहयोग संकलन गर्ने गरिएको छ । नपुगेको रकम समितिभित्रकै सदस्यले हाल्ने गरेका छन् । नदी किनारमा १५ वटा टेण्ट बनाइएको छ । टेण्टभित्र करिब चार हजार ब्रतालु बसेर भजनकीर्तन गर्न मिल्छ । केही वर्षयता नदी किनार ठूलै मेलाजस्तो देखिने गरेको बताए ।
 
छठका बेलामा पहिला पहिला तराईका आफ्नै जिल्लामा वा घरमा जानेहरुपनि पछिल्लो समयमा यही नदी किनारमा व्रत बस्न थालेका छन् । सोही कारण हरेक बर्ष संख्या बढ्दै समितिका अध्यक्ष गुप्ताले बताए । नारायणी नदी किनारमा मंगलबार दिउँसोदेखि ब्रतालुको भीड लागेको छ । मूल विधि चतुर्थीदेखि सुरु भए पनि छठमा षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजापाठ गरिन्छ । 
 
उज्यालो दिने, न्यानो तथा गर्मी दिने, रोगव्याधीबाट जोगाउने सूर्यनै भएकाले सूर्यको आराधना गर्दै छठ मनाउने गरिन्छ । चामल, पिठोको ठेकुवा, कसार, विभिन्न मिठाइ, उखु, अदुवालगायतका प्रसाद बाँसको टोकरी वा सुप्पोमा राखेर नजिकका जलाशयमा लगेर अस्ताउदो सूर्यलाई अघ्र्य दिने गरिन्छ । 
 
यस्तै बुधबार बर्तालुले उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व समापन हुन्छ ।
 
पूर्वी चितवनको रत्ननगर क्षेत्रमा पनि छठपर्व धुमधामका साथ मनाइएको छ । रत्ननगरको गौमती गंगा किनार गौरीघाट, खैरहनीको बूढीराप्ती, पम्पाखोला, शान्तिबजारको ढुंग्रेखोलालगायत ठाउँ छठका लागि सिंगारिएका छन् । छठीमातालाई केरा, मुला, अदुवा, नरिवल, पान, सुपारी, नाङ्लो, ढकी, माटोको हात्ती किनमेलका लागि बजारमा भीड देखिन्छ ।
 
छठीमाई सेवा समिति रत्ननगरले प्रत्येक वर्ष रत्ननगर–२ स्थित महारुद्र शिवालय मन्दिर परिसर लौरीघोलमा रहेको गौरीघाट सिंगारिएको छ । सेवा समितिका सल्लाहकार महेशप्रसाद रौनियारले रत्ननगरबाट मनाउन सुरु गरिएको यो पर्व जिल्लाको अन्य ठाउँमा फैलदै गएको बताए ।
 
उनका अनुसार रत्ननगरको भोकाहामा करिब १५ जनाबाट यो पर्व मनाउन सुरु गरिएको थियो । अहिले रत्ननगरमा करिब २ सय घरधुरीले यो पर्व मनाएका छन् ।