मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

धन कमाउन अरब गएका गणेश रोग लिएर फर्किए

धन कमाउन अरब गएका गणेश रोग लिएर फर्किए


नवलपरासी । धन कमाउने सपना बोकेर साउदी अरब गएका कावासोती १२ का ३६ वर्षीय गणेश सापकोटा रोग बोकेर नेपाल फर्किएका छन् । नेपालमै केही गर्ने उत्साह बोकेर फर्किएका सापकोटाका दुवै मिर्गौला फेल भएका छन् ।
 
आफ्नो जीवनको लाऊँलाऊँ र खाऊँखाऊँ उमेर झन्डै १० वर्ष साउदीमा बिताएका सापकोटा अब नेपालमै केही गर्छु भनेर नेपाल फर्केपछि उनले आफू रोगी भएको थाहा पाएका हुन् ।
 
उनले भने, ‘बिस्तारै रोगले च्याप्न थाल्यो, के भएको रहेछ भनेर चेक गर्दा थाहा भयो, दुवै मृगौला फेल भएको रहेछ ।’ उनलाई अहिलेसम्म २/३ लाख आर्थिक सहयोग जुटेको छ भने सहयोग आउने तर्खरमा रहेसहित साढे ४ लाखको हाराहारीमा सहयोग जुटेको छ । सापकोटा भन्छन्, ‘उपचारका लागि अन्तिमसम्म गरेर १५/१६ लाख खर्च हुन्छ, तर कसरी जुटाउने ?’
 
सापकोटालाई उनका बुबा ६३ वर्षीय कृष्णप्रसाद सापकोटाले एउटा मिर्गौला दिने भएपछि उनले जीवनदान पाउने पक्का त भएको छ, तर खर्च जुटाउन अझै धौधौ परेको छ । सापकोटा भन्छन्, ‘साढे चार लाखको हाराहारीमा खर्च भइसकेको छ, ४÷५ दिनमा अप्रेसन हुने तयारी छ । अप्रेसन गर्ने दिन नै ३÷४ लाख खर्च लाग्छ, अझै जुट्न सकेको छैन ।’
 
३६ वर्षीय सापकोटाले १० वर्ष साउदीमा कमाएको पैसा घरको ऋण तिर्न, घरका बिरामी परिवारलाई उपचार गर्न र घरखर्च चलाउनमै सकिएको बताउँछन् । उनी भन्छन्, ‘परदेशको जीवनमा कति नै हुन्छ र कमाइ, घरखर्च चलाउनै प¥यो, घरमा अरु पनि बिरामी हुनुहुन्छ, कमाएको उपचार गर्दै खर्च भयो, अहिले म आफैँ बिरामी परेँ ।
 
सापकोटाले अहिले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गरिरहेका छन् । उनको स्वास्थ्य जाँच र खान–बस्नमै साढे चार लाख खर्च भएको छ ।
उनलाई अहिलेसम्म कतारमा रहेका नवलपरासीका युवाहरुले ३० हजार रूपैयाँ, चितवन घर भई हाल हङ्कङ बस्दै आएका कृष्ण गुरूङले एक लाख ६५ हजार रूपैयाँ सहयोग गरेका छन् ।
 
त्यस्तै, जापानमा रहेका नवलपरासीका युवाहरुले नवलपरासी समाज जापानद्वारा एक लाख ९ हजार रूपैयाँ पठाएको संयोजक यादव केसीले बताए । ३५ जना युवाहरुले उक्त रकम पठाएका हुन् । बुधबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा उक्त रकम हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
 
त्यस्तै, उनी आफैँले खोलेको फेसबुक एमओसी ग्रुपबाट एक लाख १० हजार रकम उठेको उनले बताए । सापकोटाको उपचारका लागि उनकै नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकको खाता नं ३२०००२८२१३१० मा रकम जम्मा गर्न सकिने छ ।