मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

नेपाली संस्थामा नपत्याइएका ह्यारी यसरी भए विजयी

नेपाली संस्थामा नपत्याइएका ह्यारी यसरी भए विजयी


ड्यालस (टेक्सस) – अमेरिकन नेप्लिज एसोसिएसन (एएनए) का तत्कालिन केही पदाधिकारीहरुले अवरोध नपुर्याएको भए शायद हिरबहादुर (ह्यारी) भण्डारीका समय आज पनि नेपाली संघसंस्थामै रुमल्लिइरहेको हुनसक्थ्यो । उही जनसम्पर्क समिति, त्यही एनआरएन, बाना अनि डिसी र न्यूयोर्कका नेपाली संघसंस्थामै उनी अल्झिरहेका हुनसक्थे । 
 
तर समयमै नेपाली संघसंस्थाहरुमा आफ्नो उर्वर समयको लगानीलाई नियन्त्रण गरेका कारण यतिखेर अमेरिकाको नेपाली समुदायले गर्व गर्न लायक व्यक्तित्व पैदा भएको छ । त्यो व्यक्तित्व उही ह्यारी हुन् । जो अघिल्लो सातामात्र सम्पन्न अमेरिकी चुनावमा मेरिल्याण्ड राज्यका विधायकमा विजयी भए । 
 
मेरिल्याण्डको हाउस अफ डेलिगेट्स (तल्लो सदन) मा उनी २० हजार ९ सय ७७ मत ल्याएर विजयी भए । उनले जितेको क्षेत्र ८० प्रतिशत अमेरिकन गोरा वर्गको बसोबास भएको क्षेत्र हो ।
 
मेरिल्याण्डको हाउस अफ डेलिगेट्समा एकसय ४१ सदस्य रहन्छन् । त्यस्तै माथिल्लो सदन ‘सिनेट अफ मेरिल्याण्ड’ मा ४७ सदस्य हुन्छन् । ह्यारीले जितेको तल्लो सदनमा हो । 
 
हाउस अफ डेलिगेट्सको सदस्यको हैसियतमा अब उनको चारवर्ष अन्नापोलिसमा सो राज्यको नीति, नियम, संबिधान बनाउनेमा बित्नेछ । राज्य सांसदका हैसियतमा उनका लागि कार्यालय, सहयोगी लगायतका सबै खर्च मेरिल्याण्ड सरकारले व्यहोर्नेछ । 
 
न्यूयोर्क र वासिङटन डिसीको बीचमा पर्ने मेरिल्याण्डको सबैभन्दा ठूलो शहर बाल्टिमोर हो । अन्नापोलिस भने राज्यको राजधानी शहर हो । उनी अमेरिका आएदेखिनै बाल्टिमोरमा सपरिवार बस्दै आएका थिए । 
 
४१ बर्षिय ह्यारीले सन् २०११ मा मात्र अमेरिकी नागरिकता लिएका हुन् । त्यस यताका सात वर्षमै नेपालीमुलका अमेरिकनले प्राप्त गरेकोमध्य सबैभन्दा ठूलो सफलता उनले प्राप्त गरे । 
 
अमेरिकी समुदायमा घुलमिल हुने, राजनीति प्रतिको चासो, निडरतापूर्बक बोल्नसक्ने खुबीले उनी अमेरिकी मुलधारको राजनीतिमा छोटै समयमा यसरी सफल भएका हुन् ।
 
‘अब म अन्नापोलिसतिरै तीन बेडरुमको घर भाडामा लिएर केही वर्ष उतै बस्नुपर्नेछ,’ उनले आइतबार साँझ नेपाली सञ्चारकर्मीहरुसँग भने । मेरिल्याण्ड संसदको सदस्यको हैसियतले आप्रवासीहरुको साझा भावनालाई बोकेर अघि बढ्ने बताए । 
 
अमेरिका आएको केही समयपछिनै उनी नेपाली जनसम्पर्क समितिमा आवद्ध भए । नेपालमा बिद्यार्थी राजनीति गरेकोले यहाँ पनि त्यसैको धङधङीले उनलाई छाडेन । सुरुसुरुमा आउने आम नेपालीलाई जसरी उनी पनि नेपाली संघसंस्थाको कार्यक्रममा सहभागी भए । 
 
नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले विगत स्मरण गर्दै भने–‘उहाँ सुरुदेखिनै असाध्यै इनर्जेटीक हुनुहुन्थ्यो । मैले अमेरिकी राजनीतिमा सफल हुने संकेत त्यतिखेरै देखेको थिएँ ।’
 
भण्डारीले जनसम्पर्क समिति मेरिल्याण्ड च्याप्टरको सचिव र सल्लाहकार भएर सकृयता साथ काम गरेका थिए । जनसम्पर्कबाट मात्र आफ्नो अर्जुनदृष्टि पुरा नहुने नबुझेपछि उनी अमेरिकी मुलधारमा होमिए । 
 
पर्वतमा जन्मिएका हुन् भण्डारी । नेपालमा पोखराको पृथ्बीनारायण क्याम्पसबाट अध्ययनसँगै राजीतिमा लागेका थिए । ‘म पनि सुरुसुरुमा नेपाली संघसंस्थाहरुमा लागेको थिएँ, अहिले पनि कतिपय संस्थाहरुमा छु । तर मेरो ती संस्थामा लाग्नुको उद्वेश्य अलि फरक थियो,’ पत्रकार सम्मेलनमा उनले आफ्नो सफलताका बारेमा भने । अमेरिकीभूमिमा बसेपछि नेपाली कम्युनिटीमा मात्र सिमित रहनु हुँदैन भन्ने सोचाईले अमेरिकी राजनीतिमा लागेका हुन् उनी । 
 
यद्यपी उनी एनआरएन जस्ता संस्थाहरुमा भने सकृय थिए । तर धेरै समय भने अमेरिकी मुलधारको राजनीतिमै लागे । चार वर्ष अघिको चुनावमा उनी प्रारम्भिक चरणबाटै बाहिरिए । तर निरन्तर लागिरहने बानीले उनले यसपटक लक्ष्यलाई जितेरै छाडे । 
 
उनलाई नजिकबाट जान्नेहरुका अनुसार उनले नेपाली संघसंस्थाका मुख्य पदहरुलाई चटक्कै छाडेर अमेरिकी मुलधारको राजनीतिमा लाग्नुमा भने एउटा घटनाले निकै ठूलो भूमिका खेलेको छ । केही वर्ष अघिको घटना हो । एएनएमा उनले महासचिव हुने इच्छा देखाए । सुरुमा उनलाई केही व्यक्तिले हुन्छ भनेर आश्वासन पनि दिए । तर पछि उनलाई विश्वासघात भयो । सोही घटनाले उनी अमेरिकी राजनीतिमा होमिए । 
 
अहिले पनि अमेरिकामा नेपाली समुदायले नेतृत्व गरेका अधिकांश संस्थाहरूमा योग्य र भिजनरी व्यक्तिले नेतृत्व गर्ने अवसर पाउँदैनन् । नेपालकै दलका टिकट लिनुपर्ने, वर्षाैदेखिको सिण्डिकेट तोड्नुपर्ने अवस्था देखिन्छ । नेपाली संस्थाको त्यही सिण्डिकेटलाइ भण्डारीले तोड्न नसकेकै कारण पत्याइएनन् । तर उनका लागि अमेरिकी राजनीतिमा पस्ने बाटो खुल्यो । 
 
नेपाली संस्थामा हालीमुहाली गरेर बसेकाले उनलाइ नपत्याए पनि अमेरिकी समुदायले भण्डारीको खुबी र क्षमतालाइ चिन्यो । जसले गर्दा उनी सफल भए । 
 
उनको अमेरिकी राजनीतिमा युटर्न गराउने घटना त्यही एएनएका तत्कालिन पदाधिकारीहरुले नपत्याउनु अर्थात विश्वास नगर्नु भयो । ‘अमेरिकामा रहेका नेपाली संघसंस्थाहरुलाई ट्रान्सफर्मेसन गर्नुपर्छ भन्ने मेरो सुरुबाटै धारणा थियो,’ उनले भने । 
 
शायद त्यतिखेर एएनएमा लागेको भए अहिलेसम्म पनि उनी अरु जस्तै नेपाली संघसंस्था, नेपालका नेतालाई स्वागत सत्कारमै उनी बढ्ता व्यस्त हुनेथिए । तर उनले अमेरिकी भूमिमा बसेपछि यो भूमिलाई पनि केही दिनुपर्छ भन्ने सोचाईले अमेरिकामा नेपालीले अहिलेसम्म प्राप्त गरेको पदमध्य सबैभन्दा माथिल्लो पदमा सफलता पाए । 
 
एएनएका वर्तमान महासचिव विजयराज भट्टराई पनि तत्कालिन एएनएको नेतृत्वले ह्यारीको क्षमताको नजरअन्दाज गर्दाको परिणामले गर्दा अमेरिकी राजनीतिमा उनको ढोका खुलेको बताउँछन् । यदी त्यतिखेर ह्यारीलाई एएनएका पदाधिकारीले पत्याएको भए अहिले पनि उनी नेपाली सेरोफेरोबाट पक्कै बाहिर निस्कन सक्ने थिएनन्। 
 
नेपाली संघसंस्थाले नपत्याए पनि मंगलबारको चुनावमा उनलाई अमेरिकीहरुले विश्वास गरेका छन् । मेरिल्याण्ड राज्यको संसदको तल्लो सदन ‘हाउस अफ डेलिगेट्स’ मा उनी डिस्ट्रिक्ट–८ बाट चुनिएका हुन् । 
पूर्ब राष्ट्रपति बाराक ओबामा, बिल क्लिन्टन लगायत गत राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार रहेकी हिलारी क्लिन्टनको पार्टी डेमोक्रेटिकबाट भण्डारीले चुनाव जितेका हुन् । भण्डारी मेरिल्याण्ड डेमोक्रेटिक पार्टीको केन्द्रिय सदस्य हुन् । 
 
अमेरिकामा दलको टिकट पाउन तल्लो तहदेखिनै छनौटमा पर्दै जानुपर्छ । भण्डारीले आफ्नै दलका प्रतिस्पर्धीहरुलाई समेत बिभिन्न चरणमा पराजित गर्दै उम्मेदवार भएर विजयी भएका हुन् । 
 
‘अमेरिकाका रहेका नेपालीहरुको सबैभन्दा पुरानो संस्था एएनएमा सकृयताका लागि ह्यारीजीलेले प्रयास गर्नुभएको थियो । तर उहाँ असफल हुनुभयो, मलाइ त्यतिखेर दुःख लागेपनि पछि ह्यारीजीको अमेरिकी राजनीतिमा बढेको सकृयताले खुशी लागेको थियो,' एएनएका पूर्ब अध्यक्ष तथा क्यालिफोर्नियास्थित डेमोक्रेटिक पार्टीको ट्रेसी कमिटीका पूर्ब अध्यक्ष रोजर अधिकारीले हिमालयखबरसँग भने । व्यक्ति सक्षम भएको खण्डमा कसैले बोकेर अघि बढाइरहनु नपर्ने पुष्टी ह्यारीको घटनाले पनि प्रमाणित भएको अधिकारीले बताए । 
 
भण्डारीको विजयले अमेरिकाका ५० वटै राज्यमा रहेका नेपालीहरु माझ आत्मविश्वास जागेको छ । उनको विजयले अमेरिकी मुलधारको राजनीतिमा लाग्न धेरै नेपालीलाई प्रेरणा पनि मिलेको छ । 
 
‘हामी यहाँ हुँदा सबै नेपालबाट आएका आप्रवासी समुदायका हौँ । नेपालमा जेसुकै र जुन पार्टी निकट भएपनि हामीले यहाँ उम्मेदवार हुँदा सहयोग गरेर विजयी बनाउन सहयोग गर्नु हामी सबैको दायित्व पनि हो,’ प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभु थापाले भने । थापा स्वयम पनि बाल्टिमोरबासी हुन् । चुनावको प्रचार प्रसारदेखि लिएर ह्यारी जिताउ अभियानका सबै काममा थापा समेत सकृय सहभागी थिए । 
 
ह्यारीले आफू विजयी भैसकेको अवस्थामा अध्यागमन लगायतका क्षेत्रमा नेपाली समुदायले भोगेका समस्याका बारेमा सिनेटरसँग समन्वय गरेर कसरी सहयोग गर्न सकिन्छ भनेर अघि बढ्ने बताए । ‘म राज्यको विधायक भएकोले मेरा पनि केही सीमाहरु छन्, तर म नेपाली साथीलाई टिममा समावेश गरेर आवश्यक काममा लाग्नेछु,’ उनले भने । 
 
नेपाली समुदायको अबको प्राथमिकता भनेको यो भूमिमा बसेपछि यहीको राजनीतिमा बढ्ता सकृयता हुनुपर्छ भन्ने धारणा उनले बोकेका छन् । ‘तर यो कुरा ओभरनाइट (रातारात) हुन त सक्दैन । बिस्तारै समय लाग्छ । हामीले हाम्रा बालबच्चाहरुका लागि अब यहीको राजनीति, यहीको समुदायमा सकृय हुनैपर्छ,’ उनले भने । 
 
चुनावको समयमा भएको आय र व्ययको विवरण केही दिनमै सार्वजनिक गर्ने समेत उनले बताए । अमेरिकामा चुनावको क्रममा भएको आम्दानी, खर्च सार्वजनिक गर्नुपर्छ । 
 
भण्डारीको सफलताले अब नेपालीहरुले आफ्नो ठाउँबाट अमेरिकी राजनीतिमा अग्रसरता देखाएमा सफलता टाढा नभएको प्रमाणित गरेको छ । हालैमात्र भर्जिनियाको हरण्डन काउन्टीको सिटी काउन्सिलमा समेत नेपालीमुलका प्रदीप ढकाल विजयी भएका छन् । ढकालले स्वतन्त्र रुपमा चुनावमा उम्मेदवार खडा भएर विजयी भएका हुन् । 
 
अब नेपाली संघसंस्थाको राजनीतिमा मात्र बढ्ता समय खर्च गर्नेभन्दा पनि अमेरिकी मुलधारको राजनीतिमा लाग्नुपर्ने प्रेरणा भण्डारी र ढकालका दुई घटनाले देखाएको छ । जनसम्पर्क समिति र प्रवासी मञ्च जस्ता संस्थाले पनि कम्तिमा ४० प्रतिशत आफनो समय र स्रोतको लगानी यताको राजनीतिमा लगाएमा अबको एक दशकमै ठूलो सकारात्मक प्रभाव पर्ने समुदायका अगुवाहरुको धारणा छ । 
 
‘ओभरनाइट ट्रान्सफर्मेसन कहिँ पनि हुँदैन, यो एउटा सुरुवात हो,’नेपाली संघसंस्थाप्रति संकेत गर्दै भण्डारीले भने–‘कडा चिज सेवन गरिरहेको मानिसलाइ एकैपटक चुरोट नखाउ भनेर जसरी हुँदैन नि । त्यस्तै हो, बिस्तारै गर्नुपर्छ ।'