मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बैंकक उँड्नु अघि मुख्यमन्त्री राइको दुःखेसो

बैंकक उँड्नु अघि मुख्यमन्त्री राइको दुःखेसो


न्यूयोर्क (अमेरिका) । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राइले चिन्दै नचिनेको व्यक्ति र सहभागीनै नभएको कार्यक्रममा भएको घटनालाइ लिएर अाफ्नो नाम जोडिएकोमा दुःख व्यक्त गरेका छन् ।
 
पारिवारिक भ्रमणको सिलसिलामा अमेरिका अाएका मुख्यमन्त्री राइले शनिबार बिहान हिमालयखबरसँग कुराकानीका क्रममा पत्रकार लोकमणि राइमाथि भएको घटनाप्रति दुःख व्यक्त गर्दै अाफ्नो मात्र नभै सहयोगीको समेत कुनै संलग्नता नरहेको बताए । ‘हाम्रो नाम जवरजस्ती तानिएको छ, म अचम्ममा परेको छु’ बैंकक उँड्नु अघि उनले फोनमा भने ।
 
स्वास्थ परिक्षणका लागि बैंकक अाएको र परिक्षणपछि रिपोर्ट अाउन एक साता लाग्ने भएकाले पारिवारिक भेटघाटका लागि मात्र अमेरिका अएको उनले बताए । उनले प्रदेश नम्बर १ को मन्त्रीपरिषदको बैठकबाट अाफूले अमेरिकासम्मै अाउन स्वीकृति लिएर संघीय मन्त्रीपरिषदमा समेत जानकारी दिएको दावी उनले गरे । 
 
प्रदेश नंं. १ का कार्यवाहक मुख्यमन्त्री हिक्मत कार्कीले पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री राइको अमेरिका भ्रमण पूर्वनिधारित कार्यक्रम अनुसारनै भएको बताएका थिए । 
 
अमेरिका भ्रमण पूर्व योजना अनुसारनै भएको र स्विकृती लिनुपर्ने, जानकारी दिनुपर्ने ठाउँमा दिएरै अाएको समेत मुख्यमन्त्री राइको भनाइ थियो ।  
 
लोकमणि राइको नाम अाफूले सुनेको भएपनि अमेरिकामा पनि नभेटेको र उनले के समाचार लेखेका छन् भन्ने बारेमा पनि जानकारी नभएको उनले बताए । त्यो घटनामा संलग्न भनिएका उमेश राइलाइ अाफूले चिन्दा पनि नचिन्ने बताए ।
 
'म त्यो घटना भएको साँझ न्यूयोर्कमा समेत थिइन, बाल्टिमोरमा थिएँ, बडो अचम्ममा छु जुन व्यक्तिहरूलाइ चिन्दा पनि चिन्दिन, न्यूयोर्कमा समेत थिइन । मैले कसरी त्यो घटना गराउनु ?' उनले प्रश्न गरे । 
 
'उमेश नत नेकपाको कार्यकर्तानै हो, नत मसँग भेटघाट भएकै छ,' मुख्यमन्त्री राइले भने । तर घटनामा अाफूलाइ जवरजस्ती तानिएकोमा उनले गुनासाे गरे ।    
 
'समाचार सुन्दा पनि बडो अचम्म लाग्यो । मेरो सहयोगी पारूहाङ राइका सोल्टी उमेश राइले हातपात गरे रे । मेरा सहयोगीका गाउँले, अाफन्तले जे जे गरेपनि मलाइ जोड्न मिल्छ र ?' उनले गुनासाे गरे । 
 
उता घटनामा नाम जोडिएका मुख्य अारोपी उमेश राइले लोकमणि र अाफ्नो विवाद ठूलो हुँदै नभएकाे र अाफूहरू पहिलेदेिखिनै सँगै बस्ने साथी भएको बताए । 
 
'म नेपालबाट बाहिर बसेको १२ वर्ष भयो, म नेपालको कुनै दलको कार्यकर्ता पनि होइन र अहिलेसम्म नेपालमा भोट समेत हालेको छैन,' उनले भने । उनी अमेरिका अाएको ६ वर्ष भयो । त्यसअघि ६ वर्ष बेल्जियम बसेका थिए । उमेशका पिता ब्रिटिश अार्मी भएकाेले बा, अामा लगायत परिवारका धेरै सदस्यहरू हङकङमा बस्दै अाएका छन् । 
 
'मैले मुख्यमन्त्रीलाइ चिनेको छैन र भेट्नु त परैको कुरा भयो । हामीबीच  विवादको कुरा राजनीतिक हुँदै होइन,' उमेशले भने । उमेशको पुर्ख्याैली घर खोटाङ हो । 
 
'नेपालमा भोट समेत नहालेको मान्छे मलाइ मिडियाले जवरजस्ती नेकपाको कार्यकर्ता बनाएका छन् यहाँ,' उनले भने । 
 
'उहाँ पत्रकार भएर कार्यक्रममा अाउनुभएको पनि हाेइन र हामीले पत्रकारका  रूपमा बोलाएका पनि होइनाैँ,' अायोजक किरात राइ सोसाइटी अफ अमेरिकाका बोर्ड अफ डाइरेक्टर प्रताप राइले भने । प्रतापले अाफू सो घटनाको प्रत्यक्षदर्शी समेत रहेको बताए । 
 
खानपिनपछि बाहिर निस्किएर दुइजनाबीच  भएको विवादमा मुख्यमन्त्रीलाइ मुछ्नु ठीक नभएको समेत उनले बताए । लोकमणि र उमेश पहिले सँगै बस्ने साथीहरू रहेको र व्यक्तिगत विषयलाइ लिएर सामान्य भनाभन पछि विवाद भएको उनले बताए ।   
 
घटनाका पीडित लोकमणि राइले भने बिना स्विकृती मुख्यमन्त्री अमेरिका भ्रमणमा अाएको विषयको समाचार प्रकाशित भएपछि उमेश अाफूसँग रिसाएको बताए । 'मुख्यमन्त्रीलाइ म चिन्दा पनि चिन्दिन, उनले कुट्न लगाएको पनि होइन, तर त्यही समाचारअाएपछि उमेश मसँग रिसाएर कुटेको हो,' उनले भने । 
 
उमेश नेकपाको कार्यकर्ता हो कि होइन भन्ने बारेमा अाफूलाइ जानकारी नभएको उल्लेख गर्दै लोकमणिले भने-'उमेश खोटेहाङ गाउँपालिकाकी उपाध्यक्ष कविता राइको भाइ हो ।' अाफ्नो नियत मुख्यमन्त्रीलाइ विवादमा मुछ्ने हुँदै नभएको र पारूहाङलाइ समेत अाफूले नचिनेको उनले बताए । 
 
लोकमणि नेपालमा छँदा कान्तिपुर दैनिकमा अावद्ध थिए । उनीमाथि भएको कुटपिटलाइ  लिएर अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीहरूले दुःख व्यक्त गरिरहेका छन् । 
 
उता मुख्यमन्त्री राइ शनिबार बिहानै न्यूयोर्कको जोनएफ केनेडी विमानस्थलबाट बैंकक उँडेका छन् । 'त्यहाँ १२ तारिकमा मेरो स्वास्थ परिक्षणको  रिपोर्ट अाउँछ, त्यसपछि के गर्नेभन्ने चिकित्सकहरूको सल्लाह अनुसार अघि बढ्छु, उनले भने । उनी १३ तारिक नेपाल फर्किने कार्यक्रम छ ।