विचार / ब्लग

अब पालो दार्जिलिङ्गको

135 पटक पढिएको

- लिला श्रेष्ठ

10th Nov 2018, Saturday | २०७५ कार्तिक २४, शनिबार १४:०६
गान्तोकलाई बाईबाई गर्दै दार्जिलिङ्ग जाने बस–बिसौनीमा बस कुर्न थाल्यौँ । घण्टौँ पर्खिएपछि दिउँसोको साढे दुई बजेतिर धन्न पर्यटकले भरिएको बस आइपुग्यो । पर्यटकहरु देखेपछि नाम्ले (कामदार) हरु असाध्यै झम्टिदा रहेछन् । बस रोकिन नपाउँदै नाम्लेहरु बसको छतमा पुगिसक्दा रहेछन् । यसरी नाम्ले काम गर्न नेपालबाट जानेहरु पनि प्रशस्तै रहेछन् । तँछाड–मछाडको तमासामा पर्यटकहरुको भारी बोकेर अलिकति पैसा कमाएपछि फेरि नेपाल फर्किंदा रहेछन् । ओखलढुङ्गा घर बताउने एकजना कटुवाल बाजे त्यहीँ भेटिए । दुईचार महिना काम गर्ने, गोजी अलिअलि गरम गर्ने र घर पुगेर फेरि फर्किने उपक्रम चल्दोरहेछ नेपालबाट जाने कामदारहरुको ।
 
उत्तर–पूर्वको पहाडी श्रृङ्खलालाई कुहिरोले डम्म ढाकेको थियो । बादल छेंडेर सूर्यले बस बिसौनीमा अलिकति टेकेको थियो । फाटफुट पानीका थोपाहरु झर्न लागेका थिए । साथीहरुले दार्जिलिङ्ग जाने टिकट पनि काटिसक्नु भएछ । हाम्रो टिमको आआफ्नो डिपार्टमेण्टले सम्बन्धित काम सम्हालिने बानी परिसकेको थियो ।
 
ड्राईभरले प्वाँ...प्वाँ... हर्न बजाएर हामीलाई बसभित्र बस्न संकेत गर्यो । हामी सबै बसमा चढ्यौँ । गान्तोक नगरीलाई यत्ति चाँडै छोड्न पटक्कै मन लागेको थिएन । तैपनि हृदयभरि यसको आकृति राखेर पौने तीन बजेतिर हात हल्लाउन बाध्य भयौँ ।
 
“यो बसको ड्राईभर ज्यादै कमजोर छ रे । आज रातको नौ बजेतिर पनि दार्जिलिङ्ग पुगिन्न रे नि !” एकजना यात्रीले भन्दै थिए । बरु दस बजे नै पुगियोस् तर यात्रा सफल होस् – म सोच्थेँ । मेरो दार्जिलिङ्ग पुग्ने उत्सुकता छिरल्लिएर चौपट्ट थियो । पछाडिबाट सारङ्गीको सुरिलो स्वर आयो ।
 
“...फोक्ल्याण्डको टापुबाट ...
 
जङ्गलको बीचबाट ...
 
चिठी तिमीलाई लेखिरहेछु ...
 
लडाइँको मैदानबाट ...।”
 
यो आवाजले मेरो मुटु चिर्यो । नेपालमा यो गीत निकै प्रचलित छ । लाहुरेको पीडा–गाथा सम्हालिएको यो गीतले निकै मार्मिक भाव बोकेको छ । लडाइँको मैदानमा आफूजस्तै निर्मोही मानिसलाई संगीनले रोप्नुपर्दा, बूटले कुल्चिनुपर्दा र झुपडीहरुमा आगो लगाउनुपर्दा यो पीडादायक चिठी लाहूरेले आफ्नी श्रीमतीलाई लेखेको हो । यही चिठीलाई गायक-गायिकाहरुले आफ्नो पारख भरेर स्वरबद्ध गरेका हुन् ।
 
हाम्रो पछाडि बसेको त्यस युवक गाइनेले गाएको स्वरप्रति प्राय: सबै यात्रीहरु आकर्षित देखिन्थे– मुग्ध देखिन्थे । यसमा तरंगिदा–तरंगिदै बसले रानीपुल ल्याइपुर् याएछ । रानीपुललाई अलिकति पनि चियाउन नपाई बसले पार गरिहालेछ । जति जति अगाडि बढ्यो उति उति नयाँ-नयाँ दृश्यहरुको चुम्बनले मेरो कौतूहलता असीम बढेको थियो । सिङ्ताम बजारको नजिकै रहेको पुल पार गर्नु अगाडि ड्राइभरले बस रोकेर सिङ्ताममा “सिक्किम लिक्कर्स” किन्न लाग्यो । यही मौकामा धन्न यस बजारको दृश्य अलिकति भएपनि टहल्न पाइयो ।
 
सिङ्तामको पुल काट्नासाथ फेरि सडक टिष्टाको किनार हुँदै हुइँकिन थाल्यो । फेरि टिष्टाका छालहरुसँगै अगाडि लम्किएको सडकले मेरो मुटु झसङ्मसङ् पारिरह्यो । यो दृश्यले एकपटक ठ्याक्कै हाम्रै मुग्लिङ्न पुर्यायो । पृथ्वी राजमार्गको काठमाडौँबाट अलिकति पश्चिममा पर्ने नौबिसेदेखि मुग्लिङ्गसम्मको भौगोलिक स्थिति यहाँ प्रकट भएजस्तो लाग्यो । नौबिसेदेखि मुग्लिङ्गसम्मको भूगोलमा कैंयौ बसहरु दुर्घटनामा परिसके । त्रिशूलीजस्तो निर्मोही त छैन होला नि टिष्टा ! मनमनमै सोच्दैरहेँ ।
 
सोच्दासोच्दै अर्को रमाइलो बजार ‘रङ्पो-बजार’ घच्याक्क हुन्छ । केटाकेटीको द्यौसीले मेरो मन तरङ्गित हुन्छ । अनुभूति अभिलेख गर्ने प्रयासहरु झन् विस्तारित हुन्छन् । तिहारको तरेलीमा म भौँतारिन थाल्छु । साथीहरुले कोला (केरा), नरिवल र केही बिस्कुटहरु किन्नुभएछ । यी खानेकुराको टोकाइसँग फेरि हाम्रो यात्रा शुरु भयो ।
 
भाइटीकाको लागि उनेर राखेको फूलको मालाहरु मिलिक–मिलिक पार गर्दै सडकले मल्लिबजार लम्किन थाल्यो । मल्लिबजार छोडेपछि जङ्गलबीचबाट कुदेका सडकको भित्ताहरुमा
 
“जहाँ काटे हैं पग पग् पर वही मेरा रास्ता है ;
 
जो सब से दुर्गम हैं वही मेरा रास्ता हैं ।”
 
तथा
 
“स्लो ड्राईभ् ईज लङ् लाईफ् !”
 
जस्ता सचेतक प्लेटहरु देखिन थाले ।
 
सडकवरिपरि र भित्ताहरुमा लेखिएका जानकारीहरु पढ्दा–पढ्दै बसले टिष्टाको झोलुङ्गे पुलमा चक्का राख्यो । ड्राइभरले दार्जिलिङ्ग पुग्न अझै अढाई घण्टा लाग्ने कुरा बताउँदै थियो । टिष्टाको किनार अब त सकियो होला भनेर ढुक्क परेको त अझै ८ किलोमिटर बाँकी नै रहेछ । त्यसपछि झिसमिसे साँझमा बस मोडिएर उकालो लाग्यो । बस्तीहरुमा बत्ती बल्न लागे । ठाउँठाउँबाट गान्तोक र कालिम्पोङका बस्ती अलि अलि चियाउन सकिन्थ्यो । रात बढ्दै गयो सबै दृश्यहरु बिलाए । बसको हेड्लाइटले घरिघरि चियाको बगानबाहेक अन्य केही देखाउन सक्दैनथ्यो । गान्तोकबाट दार्जिलिङ्ग रमिता हेर्दै जाने धोको चकनाचुर भयो ।
 
निकै माथि चढेपछि टिष्टा भ्याली भन्ने ठाउँ आइपुग्यो । ड्राइभरले यात्रीहरुलाई चिया पियाउन एकछिन बस रोक्यो । हामी पनि बसबाट उत्रियौँ । आहा ! यहाँबाट बस्तीहरुमा बलेका बत्तीहरु कति आनन्दमय पारामा चम्चमाउँदा रहेछन् ।
 
चिया पसलबाट एउटी फरासिली, मोटी, हँसिली युवतीले चियाका ग्राहकहरुलाई हँसमुख मुद्रामा स्वागत गरिरहेकी थिइन् । हामी पनि चिया पिउन लाग्यौँ । देवेन्द्रजीले चिया पिइसकेर “थ्याङ्क यू” भन्दै उठ्नुभयो । प्रति-उत्तरमा ती युवतीले हामीलाई “वेलकम्” भन्दै “बाई” गरिन् ।
 
हामी बसमा चढ्यौँ । दुईजना स्थानीय केटाहरु गिटार बोकेर चढे । एउटा केटोचाहिँ निकै भलाद्मी पाराको थियो । अर्कोचाहिँ ज्यादै झल्लु टाइपको रहेछ । मादकपदार्थ सेवन गरेको रहेछ, अत्यन्तै उच्छृङ्खल स्वभावले चम्किन थाल्यो । बस उक्लिरहेको थियो । कणेल दाइ र म एउटै सिटमा थियौँ । हामी दुवैले ती केटाहरुलाई गिटार बजाउन अनुरोध गर्यौँ । एउटा केटाले गिटार बजाउन थाल्यो । अर्कोले द्यौसिरे भाकामा गीत गाउन थाल्यो । हामी दुवैले स्वरमा स्वर थपेर ताली बजाउँदै रमाइलो गर्न थाल्यौँ । देवेन्द्रजी पनि घरिघरि हामीतिर फर्केर आनन्दोल्लासमा थप्पडी मार्नुहुन्थ्यो । गोपालजी र सोम दाइहरु आआफ्नै तालमा मस्त हुनुहुन्थ्यो । घरि गफ, घरि सुतेजस्तो । यात्राको रमाइलो यस्तै त हो ।
 
एकजना वृद्ध मानिसलाई यो कोलाहलयुक्त वातावरण ठ्याम्मै मन परेनछ क्यार ! झर्किंदै ती केटाहरुलाई हकारे । त्यसपछि त ती केटाहरुले अर्को वातावरणको श्रृजना गर्न थाले । प्रत्येक यात्रुसँग धम्की देखाउँदै देउसी खेलेबापत पैसा माग्न थाले । यात्रुहरुले पैसा नदिँदा ठाउँ–ठाउँ बस रोकाएर चमत्कार नै देखाउन थाले । अघि भर्खर्रै हकार्ने वृद्धसँग पनि उनीहरुले पैसा माग्न थाले । त्यो वृद्ध मानिसले पैसा दिन्न मात्र भनेको के थियो झण्डै पिटाइ खाइहालेका ! पछि एउटी वृद्धा महिलाले उनीहरुलाई अलिकति पैसा दिएर थाम्थुम् पारिन् । शायद ! ती वृद्धा महिला उही वृद्धा मानिसकीे धर्मपत्नी थिइन् क्यारे । पैसा माग्ने क्रम क्रमशः हामीतिर बढ्दै आएको थियो तर ती केटाहरुले हामी दुईजनासँग भने पैसा मागेनन् । हामीभन्दा पछिल्लो सिटमा गएर माग्न थाले । एकजना बम्बई निवासी यात्री नेपालीभाषी थिए । त्यो बम्बई निवासी यात्री अङ्ग्रेजीमा बोल्न थाल्यो “आई कुड नट् अण्डरस्ट्याण्ड योर ल्याङ्वेज !”
 
“ह्वाई नट् अण्डरस्ट्यान्डिङ यू माई ल्याङ्वेज ?” ती केटाहरुले पुङ्न पुच्छरको अंग्रेजी बोलेर निहूँ खोज्न थाले । अब बसको वातावरण अर्कै हुने अवस्था आइसक्यो । हामै सबै यात्रीहरुले त्यस यात्रुलाई अलिकति पैसा दिन अनुरोध गर्यौँ । यात्रीले पनि वातावरण भयङ्कर हुन लागेको बुझेछ वा हाम्रो अनुरोधलाई स्वीकारेर हो चार रुपियाँ दिएर ती केटाहरुलाई शान्त गरायो । दार्जिलिङ्ग आइपुग्न लाग्दा ती केटाहरु ओर्लिहाले । ती दुई भुस्याहा केटाहरुले यतिविघ्न यात्रीहरुलाई सताउनु सताए । हामीले केही भन्न वा गर्न सकेनौँ । ‘बिरानो देशमा झिँगाको लात्ती पनि सहनु पर्छ’ भनेको यही होला । ती केटाहरु उत्रिसकेपछि हामीले आपसमा कुरा गर् यौँ । देवेन्द्रजीले हामी पाँचैजनाको प्रतिनिधित्व गरेर पैसा दिइसक्नुभएको रहेछ र पो हामीसँग नमागेका रहेछन् ।
 
दार्जिलिङ, दीपावलीका पटका र हाम्रा भोका पेटहरु
 
“स्लो ड्राईभ ईज लङ् लाईफ !” शायद, डाइभरले राम्ररी बुझेको रहेछ क्यारे ! बसले राति नौ बजेतिर दार्जिलिङ्ग बस बिसौनीमा पुर् यायो । लजिङ्ग फुडिङ्गको लागि हामीले केही निर्णय गर्न सकेनौँ । अन्तमा ड्राइभरले हामीलाई डि.सि.एम. नामको लज देखाइदियो । धन्यवाद दिएर अँध्यारो गल्ली छाम्छुम् गर्दै लजतिर लाग्यौँ । निकैबेरपछि एकजना वृद्ध मानिसको स्वर भित्रबाट आयो । “को हो ? यति राति ...।”
 
“हामी चार पाँचजना नेपालबाट आएका छौँ हजूर ...।” कणेल दाइले नम्रस्वरमा तर चिच्याएर भन्नुभयो । यसपछि त्यस बूढो मान्छेले उसको कामदारलाई ढोका खोल्न अह्रायो । त्यो कामदार त्यहीँ ढोकाको छेउमा सुतिरहेको रहेछ । हामीले बोलाउँदा उ बोलेन । शायद ! उसको मालिकले उसलाई नबोल्ने आदेश दिएको हुँदो हो । ढोका खोलेर ती दुई प्राणीले हामीलाई राम्ररी हेरेर भित्र बोलाए ।
 
उसको कामदारले हामीलाई लजिङ्ग रुममा पुर्याएर – “यी हेर्नोस् ! बाथरुम यहाँ छ ! ट्वाइलेट यहाँ छ ... सबै एट्याच !” भन्दै देखायो । ढोकाबाट भित्र पस्नासाथ नाक पट्ट फुट्ने गरी ढुसी गन्हायो । एकातिर भोकले लखतरान भएर शिथिल हुँदै गएका थियौँ, अर्कोतिर लजहरु सबै बन्द भैसकेको आभास मिल्यो । जसोतसो त्यहीँ बस्ने निश्चय गर्यौँ । कोठामा तीनवटा मात्रै बेड थिए । कालो कात्तीजस्तै सिरक, ह्वास्ह्वास्ती गन्हाउने बेड हुनसम्म कष्ट भयो । मैले एकचोटि यस्तै कष्ट भोगेको थिएँ । धनकुटाको पाख्रीबासबाट हिले—वसन्तपुर हुँदै ताप्जेजुङ्ग जाने बाटोमा पर्ने चौकीबजारको याद भयो । यस्तै कोठामा सुतेर म एकपटक बिरामी परेको थिएँ । यो कोठा ठ्याक्कै उस्तै थियो ।
 
भोक असाध्य लागेर खुट्टा लरबरिन लागेका थिए । खानाको खोजीमा बाहिर निस्कियौँ । डि.सि.एम. लजको कामदारले खाना यसबेला कतै नपाइने कुरा गर्दै थियो । तैपनि पाइहालिन्छ कि भनेर हामी यताउता दगुर्न थाल्यौँ । सबै रेष्टुराँ, होटलहरु बन्द भैसकेको रहेछन् । दिक्दार हुँदै लजतिर फर्कियौँ । लजको बाहिर प्राङ्गणमा आएर उभिएका मात्र के थियौँ – एकजना लामो-लामो केश पालेको युवक हामीनजिकै आयो ।
 
“के तपाईँहरुलाई लज चाहियो – आउनुहोस् मेरो लज एकदम आरामदायक छ ।”
 
“हैन हामीले लज लिईसक्यौँ बरु खाना खाने ठाउँ बताईदिनु हुन्छ कि ?”
 
“मेरो लजमा जाने भए खाना पनि पाइन्छ नत्र ...।”
 
“हैन लजको लागि हामीलाई नभन्नोस् ... खानाको लागि ...।”
 
“त्यसो भए खाना मात्र मिल्दैन ...।”
 
त्यो युवक जर्खरिएको स्वरले चिच्याउँदै हिंड्यो । हामी पाँचै प्राणी निरास भएर उभिरह्यौँ । यस लजनजिकैको एउटा घरको प्राङ्गणमा पटका पड्काउनेहरुको धुइरो थियो ।
 
“नहीं नहीं डैडी मैं पहाडिया नहीं बनुंगा ...!” मेरो कानमा एक युवतीको सुरिलो आवाज ठोकियो । आवाज आएतिर फर्कें । देवेन्द्रजी र कणेल दाइ उहीँ नजिकै गएर उभिनुभएको रहेछ । म पनि त्यतै लागेँ । युवती एकदम सहासिलो पारामा पटका पड्काउने धूनमा मस्त थिई । उ सहरिया न परी! पहाडियाले यस्ता पटका पड्काउन जान्दैनन् वा डराउँछन् भन्ने आशय उसको थियो । म आश्चर्यचकित भएर उभिरहेँ । एउटा प्रश्न खडा भयो ‘के सहरियामात्र पटका पड्काउन निपूर्ण हुन्छन् वा साहसिला ?’ आफ्नो डैडीसँग बलजफ्ती गरेर युवतीले पटका पड्काई छाडी । रकेटजस्तै पटका सोझै उठ्यो अनि धूवाँ र आगोको झिल्का छोड्दै अलिक माथि पुगेर तेर्सियो र ड्याम्म पड्कियो ।
 
खाना नपाएर निरास हुँदै हामी लजतिर लाग्यौँ । “भाइ जे कुरा खान पाइन्छ ल्याइदिनुस्न !” गौतमजीले भा.रु. २० को नोट निकालेर त्यस कामदारलाई दिँदै भन्नुभयो । एकछिनपछि उसले पाँचवटा मिठाई ल्याईदिएछ । प्रति गोटा रु. चारको दरले । मिठाई पनि त्यत्ति नै रहेछ रे ! एक–एक वटा मिठाई पानीसँग खाएर सुत्ने जमर्को गर् यौँ । यस्तो भोको जीवनको यात्रा म माथि प्रथमपटक घटेको हो ।
 
(क्रमश: ....) 
ड्यालस, अमेरिका
(सन् १९९२, संस्मरण डायरीबाट)